काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती नदीको बाढीले मेलम्ची बजारको एउटा घर बगाएको छ । असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले क्षति पुगेको तीन तले घर इन्द्रवती नदीको कटानको कारण ढलेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुुभयो । उहाँका अनुसार मेलम्ची ११ का गोपाल भनिने महेन्द्र दुलालको तीन तले घर नदी कटानको कारण ढलेको हो । यद्यपी दुलालको परिवार भने सुरक्षित हुनुहुन्छ ।

असार १ गतेको बाढीले घरमा क्षति पुर्याएपछि उहाँहरु अन्तै कोठा लिएर बस्नुभएकोले सबै सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो । शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहेका कारण इन्द्रवती नदिमा भने पानीको बहाव बढेका कारण नदी आसपास र तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको उहाँले बताउनुभयो । असार १ गतेदेखि मेलम्चीमा आएको बाढीले हेलम्बु र मेलम्चीमा ५ जनाको मृत्यु भएको थियो भने दर्जनौ वेपत्ता भएका छन् । त्यस्तै चार सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।
गोरखापत्र अनलाइन

प्रतिक्रिया दिनुहोस !