रबि रेग्मी, गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम आज बिहिवार सार्वजनिक गरेको छ ।
गाउँपालिकाको आठौं गाउँ सभा बैठकमा गाउँपालिकाका अध्यक्ष होम बहादुर राना मगरले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन ।

गाउँपालिकाले नीति तथा कार्यक्रममा कोरोना भाइरस नियन्त्रण तथा रोगथामलाई प्रमुख प्राथमिकता दिएको छ । कोरोनाको रोकथामका लागि संचालनमा रहेको आइसोलेसन केन्द्र र अस्थायी अस्पताललाई व्यवस्थित बनाइने योजना समेटिएको छ ।
त्यस्तै कोरोनाको जोखिममा परेका जनताहरुको टोलटोलमै गई RDT तथा PCR परिक्षणलाई निरन्तरता दिईने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पुर्वाधार विकास अन्तर्गत गाउँपालिकाको प्रशासनिक भवन र वडा कार्यलय भवन निर्माण गर्ने नीति लिएको छ ।
गाउँपालीकाले एक वडा एक मुख्य सडक निर्माण र स्तरोन्नति गर्ने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

संघीय सरकारको साझेदारीमा आग्रीडाडा दलभञ्याङ रानिश्वारा कौदी पौवा कुवापानी वतासेभञ्याङ सडकको कालोपत्रेलाई निरन्तरता दिइने अध्यक्ष होम बहादुर रानाले बताए ।

त्यस्तै ५ लाख सम्मका आयोजनाका हकमा हेवि उपकरणहरु प्रयोगमा रोक लगाउने र बेरोजगार श्रमिकलाई काम लगाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सम्वाभित बिपदको प्रकोपलाई मध्यनजर गरि ठुला ठुला प्रकृतिक खानेपानी वा अन्य योजनाहरुको प्रमुख संरचनाहरुको विमा गर्ने कार्यको थालनी गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

कृषि तथा पशुपक्षी विकास अन्तर्गत गाउँपालिका भित्र रहेका रैथाने बाली तथा पशुपक्षीहरु जस्तै घैया धान, मकै, कोदो, खरी बाख्रा आदिको उत्पादन संरक्षण तथा प्रवर्द्धनमा जोड दिएको छ ।

दूध, अन्डा, मासुमा आत्मनिर्भर हुने नीति लिइएको छ ।

त्यस्तै दूध तथा दुधजन्य पदार्थ उत्पादन गर्न कृषक, कृषि फर्म सहकारी, समुहलाई
सहयोगमा दुध चिस्यान स्थापनाको लागि सहयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पर्यटन विकास अन्तर्गत साहसिक खेल मानिने प्याराग्लाइडिंगको सफल परिक्षण उडान भएका स्थानहरु भैरवी र थामडाडामा व्यवसायीक उडानका लागि आवश्यक व्यवस्था गरिने अध्यक्ष रानाले जानकारी दिए ।

श्रम तथा रोजगार प्रवर्द्धन अन्तर्गत गाउँपालिका भित्र रहेका बेरोजगार व्यक्तीहरुको तथ्यांक संकलन तथा विश्लेषण र बेरोजगार व्यक्तीहरुको सुची अध्यावधिक गर्दै रोजगार बैकंको स्थापना गरिने नीति समेत रहेको छ ।

गरिबी निवारणका लागि लघु उद्यमी विकास कार्यक्रम संचालन गरि नयाँ लघु उद्यमीहरु थप्ने नीति लिएको छ ।
स्थानिय स्तरको ज्ञान, सीप, मूल्य, मान्यता, संस्कृति र प्रविधिका संरक्षण, प्रवद्धन र स्तरीकरण गर्ने स्थानिय पाठ्यक्रम निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

स्वास्थ्य अन्तर्गत बालमृत्युदर तथा मातृमृत्युदर घटाउने र घरमा हुने प्रसुती शून्य बनाउने अभियानलाई निरन्तरता दिइने नीति लिएको छ ।

सामाजिक सुरक्षा तथा पंजिकरण अन्तर्गत ६० बर्ष माथिका, जिवनमा एक पटक पनि विवाह नगरेका, गाउँपालिका भित्रका लैगिक यौनिक अल्पसंख्यक र राज्यको सामाजिक सुरक्षा मापदण्ड भित्र नपरेका एकल पुरुषहरुलाई मासिक १५ सय का दरले सामाजिक सुरक्षा भत्ता प्रदान गरिने अध्यक्ष रानाले बताए ।

सुशासन तथा संस्थागत विकास अन्तर्गत स्वीकृत दरबन्दी संरचना र नगर प्रहरी ऎन बमोजिम नगर प्रहरी व्यवस्थापन गरिने नीति लिएको छ ।

त्यस्तै गाउँपालिका भित्र नै एक सय वाट सम्मको एफ एम रेडियो संचालनको लागि निजि क्षेत्रलाई आवश्यक सहजीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

गाउँपालिकाले बजेट भने नीति तथा कार्यक्रममा छ्लफल गरेपछिमात्रै ल्याउने अध्यक्ष होम बहादुर रानाले बताए ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दा गाउँपालिका उपाध्यक्ष ललिता अधिकारी, ८ वटै वडाको वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !