धादिङ ।  खोरभरी बोयर बाख्राको चहलपहल । भर्खर जन्मेका पाठापाठीको म्याँ म्याँले एउटा गाउँ हरदिन तरंगित बनिरहन्छ । धादिङका ५२ वर्षीय ध्रुवराज विश्वकर्मालाई स्याउलाले खोर सफा गर्दै अनि पाठापाठी स्याहार्दै फुर्सद छैन् ।

उहाँको मेहनतले सिञ्चेका भर्भराउँदा बोयर बाख्रा देख्दा जो कोहीको मन लोभिन्छ । यतिखेर उहाँको खोरमा ८० बाख्रा छन् । जसमा दुई व्याडेसहित १२ बोका, १० पाठापाठी र अरु सबै ६० माऊ छन् । बोयर पाल्न थालेपछि उहाँको नसोचेको प्रगति हुँदैछ । बाख्रालाई घाँस पानी दिदैँ उहाँ भन्नुहुन्छ, “एक वर्षमा ५० बाट ८० बनाएँ, आगामी साउन भदौसम्ममा १०० नाघ्छ, अनि त्यसपछि मात्र बिक्री शुरु गर्छु ।”

विश्वकर्माले किशोरवयदेखि नै आफ्नै देशमा सुन फलाउने सपना देख्नुहुन्थ्यो । त्यसैले गाउँका धेरै युवा विदेश हानिँदा पनि उहाँको पाइला गाउँबाट छुटेन । कृषि प्रधान देश भए पनि कृषिबाटै उकासिनु भनेको ढुङ्गा फोरेर बाहिर निस्कनु जस्तै थियो । आफ्नै गाउँ धादिङको वेनिघाट रोराङ गाउँपालिका–३ खानीगाउँमा वर्षौँ उहाँले पसिना बगाउनुभयो । उकालीओराली, देउराली, भिरालोका पाखापखेरामा के गर्दा होला भनेर आत्मपरीक्षणमा बारम्बार होमिनुभयो ।

उहाँ भन्नुहुन्छ, “२०५४ सालमा हातमा हँसिया र कोदालो बोकेर पाखा पखेरा उक्लेको आजै जस्तो लाग्छ, तर २४ वर्ष वितिसक्यो ।” काँचो माटो र हरिया घाँसबीच उहाँले कहिले सफलता त कहिले विफलतासँग पौँठेजोरी खेल्नुपर्यो । जति नै ठक्कर खाए पनि हँसिया र कोदालोको साथ भने उहाँले छाड्नु भएन ।

काठमाडौँ मोडेल कृषि फर्म तथा रिसर्च सेन्टर दर्ता गरेर कृषि कर्म गर्दै आउनुभएका उहाँ शुरुमा कफी, त्यसपछि बाख्रा, बङ्गुर, माछा खेती हुँदै एक वर्षदेखि बोयर जातको बाख्रापालनमा सक्रिय हुनुहुन्छ । उहाँले फेरि नयाँ सोचका साथ २०७७ जेठ २७ गते मकवानपुरको हाँडिगाउँबाट ५० बाख्रा ल्याएर व्यवसाय शुरु गर्नुभएको हो । राम्रो र सस्तो पाइने सुनेर उहाँ बाख्रा किन्न त्यहाँ पुग्नु भएको थियो । नभन्दै सोचेजस्तो भयो । किसान समुहकै बाख्रा प्राप्त भएको उहाँले सुनाउनुभयो ।

शुरुमा खरिद गर्दा जिउँदोमा प्रतिकिलो रु एक हजार २०० परेको थियो । अन्य कृषि औजार, खोर निर्माण, दानापानी र अन्य तयारी गर्दा झण्डै रु ५२ लाख लागत लागेको छ । त्यसभित्र १८ रोपनीको घाँससमेत पर्छ । त्यसभित्र प्रतिरोपनी वार्षिक रु तीन हजार भाडा तिरेर १० रोपनी भाडाको जग्गा छ । उक्त जग्गामा बकाइनो, किम्बु, इपिलिपी, बडहर, मरिङ्गा, खनायो, टाँकीलगायतका घाँस रोपिएको छ । घाँसमा मात्रै झण्डै रु तीन लाख लगानी भएको उहाँले सुनाउनुभयो ।

विगतमा जमुनापारी र लोकल जातका बाख्रा पालेको अनुभवका कारण उहाँलाई अहिले बोयर पाल्न त्यही कठिनाइ नपरेको बताउनुभयो । उहाँले अहिलेसम्म व्यावसायिक बिक्रीभन्दा पनि खोर विस्तारमा जोड दिँदै आउनुभएको छ । “एक वर्षमै अहिले मूल्याङ्कनमा झण्डै रु ७० लाखको हाराहारी भएको छ”, विश्वकर्मा भन्नुुहन्छ, “लगानी रु एक करोड पुर्‍यएर व्यावसायिक बिक्री शुरु गर्ने लक्ष्य छ, पाँच वर्षमा लगानी उठाउँछु ।”

खोरमा अहिले व्याडे बोका र माउ तयार भएका छन् । अब विस्तारै बिक्री थाल्ने सोच बनाउनुभएका उहाँले बिक्री नभएका बोकालाई खसी बनाएर व्यवसायिक बिक्री गर्ने योजना बनाएको सुनाउनुभयो । मासु प्रतिकिलोमा जिउँदो रु ६०० सम्म जाने र व्याडका लागि रु १५ देखि १८०० सम्म बिक्री हुन्छ । पाठी प्रतिकिलो रु एक हजारसम्म जान्छ ।

बाख्रापालनमा केही सरकारी अनुदान भए पनि धेरै ऋण लगानी भएको उहाँको भनाइ छ । वाग्मती प्रदेश सरकारबाट रु १८ लाख अनुदान सहयोग प्राप्त भएको छ । बैंक र सहकारीबाट रु १५र१५ लाखको हाराहारीमा ऋण लिइएको छ । आगामी पाँच वर्षमा लगानी उठाउने योजनाका साथ बोयर विकासमा सक्रिय हुनुहुन्छ विश्वकर्मा ।

विविध समस्याका बीच विश्वकर्मा कृषिमा भविष्य देख्नुहुन्छ । “तत्कालै प्रतिफल नआउला, तर कालान्तरमा आम्दानी आएरै छाड्छ, कृषिमा भविष्य छ”, उहाँ दृढताका साथ भन्नुहुन्छ, “आफूले कृषि पेशा नछाड्नुको मूल कारण पनि त्यही हो ।”

यसरी भयो शुरुआत

हुन त विश्वकर्मा पुराना किसान हुनुहुन्छ । उहाँ विसं २०५४ देखि नै कृषिको व्यावसायिक खेतीमा संलग्न हुनुहुन्थ्यो । कतै सफलता मिल्यो त कतै पीडा पनि । धेरै युवा विदेश पलायन भइरहेको अवस्थामा उहाँले आफ्नै देशमा सङ्घर्ष गरेर अरुलाई प्रेरणा दिइरहनु भयो ।

शुरु ९२०५५–२०६८० मा कफी खेती थियो । कफीमा राष्ट्रिय पुरस्कार नै प्राप्त गर्नुभएका उहाँको आम्दानी राम्रो भएको थियो । एक पटक डढेलोले कफी सखाप भएपछि उहाँले त्यो पेशामा त्यसै विश्राम लिनुभयो । त्यसमाथि अन्य व्यवसायीको आँखा लागेपछि पेशा परिवर्तन गरेको उहाँले सुनाउनुभयो ।

त्यो बेला किसानका कफी नबिक्ने र बिके पनि उधारो जान थालेपछि उहाँले काठमाडौँमा कफी उद्योग चलाएर जापान, अष्ट्रेलिया, जर्मनीलगायत देशमा निर्यात गर्नुभयो । किसानको कफी कहिल्यै उधारो राख्नुभएन । त्यसैले किसान आकर्षित भए । त्यो देखेर अन्य व्यवसायीले रिस गर्ने गरेको उहाँ स्मरण गर्नुहुन्छ । किसानलाई पैसा नदिएर हैरान बनाएको अवस्थामा आफूले नगद दिँदा किसान औषधि खुशी हुनेगरेका उहाँ सम्झिनुहुन्छ ।

“अहिलेको उखु किसानको भन्दा फरक थिएन त्यो बेला कफी किसानको पीडा, तर मैले नगदमा खरिद गर्न थालेपछि अन्य व्यवसायीले पनि बाध्य भएर किसानका कफी नगदमा लिन थाले, अहिले पनि त्यो प्रचलन कायमै छ”, उहाँले विगत सम्झनुभयो । उहाँ त्यो बेला आफूले कफी किसानको उद्धार गरेको जिकिर गर्नुहुन्छ ।

त्यसपछि उहाँले माछा, बङ्गुर र बाख्रापालन ९लोकल र जमुनापारी० शुरु गर्नुभएको थियो । बङ्गुर मात्रै डेढ सय थिए । धादिङको थोपल खोला र त्रिशूलीको दोभानमा उहाँले झण्डै २५ रोपनीमा माछापालन पनि गर्नुभयो । त्यही कफीको कमाइमा केही ऋण लिएर उहाँले झण्डै रु चार करोडको लगानीमा तीनवटा व्यवसाय थालेको सुनाउनुभयो । आम्दानी राम्रो हुँदै थियो । मध्यमाञ्चलस्तरीय राष्ट्रपति पुरस्कारसमेत लिन सफल उहाँको फष्टाउँदै गरेको व्यवसायमा नाकाबन्दी र भूकम्प अभिशाप बनेर आइपुग्यो ।

“त्यो बेला खोर भत्किएर १०० बङ्गुर मरे, बाख्रा पनि मरे, पोखरी फाटेर ठूलो क्षति पुग्यो”, उहाँ भन्नुहुन्छ, “झण्डै आधा लागत डुबेर बेहाल नै बनायो ।” त्यसपछि फेरि विस्थापित हुनुभयो । उहाँले हरेस खानुभएन । उहाँले फेरि केही त गर्ने पर्‍यो भनेर बोयर पालन थाल्नुभएको छ ।

बाख्रापालन र कोरोना सँगसँगै

विश्वकर्माले जब गत साल फागुन चैत आसपास बाख्रापालनको तयारी गर्दै हुनुहुन्थ्यो नेपालमा कोरोना शुरु भयो । विसं २०७६ चैत ११ गतेबाट मुलुकमा बन्दाबन्दी शुरु भयो । उहाँले त्यसको दुई महिनापछि जेठ २७ गते धादिङको वेनिघाट रोराङ गाउँपालिका–३ खानीगाउँमा बाख्रापालन थाल्नुभयो ।

उहाँले व्यवसाय शुरु गर्दा कोरोनाको सङ्क्रमणको गति बढ्दो थियो । एक मनमा उहाँलाई भूकम्पले झैँ महामारीले फेरि लगानी डुबाउने त होइन भन्ने चिन्ता लागेको थियो । स्थानीयस्तरमा घाँसपात लगायो भने दाना नभए पनि पाल्न सकिन्छ भन्ने हिम्मत उहाँले राख्नुभयो । जस्तोसुकै महामारी आए पनि बाख्रापालन सफल गर्छु भन्ने आँट बोकेर उहाँले व्यवसाय थाल्नुभएको छ । दाना नपाए पनि घाँसपातले बाख्रा जोगाउने अठोट उहाँको छ । उहाँ भन्नुहुन्छ, “अब लगानी रु एक करोड पुर्‍याउँछु, अर्को वर्षदेखि खर्च थप्नुपर्दैन, बिक्री शुरु हुन्छ, अनि कमाइ हुन थाल्छ ।”

खसी, बाख्रा तथा पाठापाठीको व्यावसायिक बिक्री शुरु नभए पनि मलमुत्र बिक्री भने शुरु भएको छ । मासिक रु १२ देखि १५ हजारको बिक्री हुने गरेको विश्वकर्माले सुनाउनुभयो । मलमुत्र गाउँका तरकारी किसानले खोरमै आएर लैजाने गरेका छन् । मल बोराको रु ३०० छ । पिसाब रु १० प्रतिलिटरमा बिक्री हुँदै आएको छ । बाख्रा पनि बिक्री हुन थालेपछि आम्दानी बढ्ने उहाँले सुनाउनुभयो ।

कृषकका गुनासा धेरै

समग्र किसानका तर्फबाट उहाँले कृषि क्षेत्रमा धेरै गुनासा र समस्या रहेको सुनाउनुभयो । किसानले मल बीउ समयमा पाउँदैनन्, अनुदानका कार्यक्रम पहुँचवालाको हातमा जाने क्रम रोकिएको छैन । वास्तविक किसानले सरकारी सुविधा पाउनै गाह्रो छ । पछिल्लो समयमा सरकारले उत्पादनमा आधारित अनुदान दिने योजना अघि सार्नु राम्रो शुरुआतको संज्ञा दिँदै विश्वकर्मा त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न अनुरोध गर्नुहुन्छ ।

उहाँको एउटै भनाइ छ, “अनुदान नगदमा होइन उत्पादन हेरेर दिनुपर्छ, कुनै किसानले १०० लिटर दुध उत्पादन गर्छ भने लिटरको आधामा अनुदान दिइयोस्, मैले बाख्रापालन गर्छु भने त्यसैको आधारमा अनुदान दिनुपर्छ, दाना प्रयोग गर्ने किसान छ भने उसलाई सोही आधारमा अनुदान दिनुपर्छ, तब नेपालको कृषि क्षेत्र फष्टाउँछ ।”

सबै कुरा मुलुकको मूल नीति ‘राजनीति’ मा गएर अड्किने उहाँको दुखेसो छ । “उखु किसानको पीडा देखाउँदै उहाँले रासायनिक मलको वर्षेनी समस्या देखिएपछि त अर्को वर्ष हल गर्नुपर्छ नि खै गरेको रु”, प्रतिप्रश्न गर्नुभयो । कृषिको बजारीकरण, औद्योगिकीकरणमा पनि समस्या रहेको उहाँले सुनाउनुभयो । सस्तो भएकाले नेपालीभन्दा भारतीय उत्पादनले बजार लिइरहेको छ ।

उक्त विषयमा उहाँले विगतको एउटा तितो अनुभव पनि सुनाउनुभयो । एक पटक उहाँले गाईपालन शुरु गर्ने योजना बनाउनु भएको थियो । त्यो बेला दुध उत्पादन प्रतिलिटर लागत रु २४ थियो । भारतबाट आएको दुधको लागत मात्रै रु ११ देखि १२ थियो । प्रतिष्पर्धा गर्न नसक्ने ठानेर गाई पालन योजना त्यसै तुहाएको उहाँले सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस !