बागलुङ ।  प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले जिल्लामा क्रियाशील पत्रकार/सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना महामारीका बेला अग्रपङ्क्तिमा खटिएर समाचार सङ्कलन तथा सम्प्रेषण गर्ने पत्रकारको स्वास्थ्य सुरक्षाका लागि मास्क, सेनिटाइजर र सिटामोल वितरण गरिएको हो ।

शाखा संयोजक थम्मन थापा, सदस्य विमल खड्का र नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका उपाध्यक्ष एवं सङ्गठनका सदस्य सरीता खत्रीले गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाबाट सञ्चालित सञ्चार संस्थामै पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

पाँच रेडियो, एक साप्ताहिक पत्रिका र तीन वटा अनलाइन माध्यममा कार्यरत पत्रकार÷सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको संयोजक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार स्वतन्त्र ढङ्गले कलम चलाइरहेका पत्रकारलाई समेत स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

रेडियोलाई पाँच÷पाँच प्याकेट मास्क, पाँच वटाका दरले सेनिटाइजर र सिटामोल, अनलाइनलाई दुई प्याकेटका दरले मास्क, सेनिटाइजरलगायत प्रदान गरिएको हो । “सङ्कटका बेला पत्रकारप्रति सङ्गठनले दर्शाएको सानो सद्भाव हो यो, चरणबद्ध रूपमा जिल्लाका सबै पत्रकारलाई स्वास्थ्य सामग्री बाँड्छौँ”, संयाजक थापाले भन्नुभयो ।

सदरमुकामसहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा क्रियशील पत्रकारलाई एक÷दुई दिन भित्रैमा स्वास्थ्य सामग्री वितरण गरिने सङ्गठनले जनाएको छ । जिल्लाभरमा गरी रु ५० हजार बराबरको स्वास्थ्य सामग्री प्रदान गर्न लागिएको सङ्गठनका सचिव अनिष खातीले बताउनुभयो । सङ्गठनमा आबद्ध पदाधिकारी÷सदस्य तथा शुभेच्छुकहरुबाट सङ्कलित सहयोग रकमबाट स्वास्थ्य सामग्रीको जोहो गरिएको उहाँको भनाइ छ ।

यसअघि सङ्गठनले पत्रकारको सुरक्षा र कोरोना सङ्क्रमित पत्रकारलाई सहयोग गर्ने उद्देश्यसहित ‘सहायता कक्ष’ पनि निर्माण गरेको थियो । उक्त कक्षमार्फत् सङ्क्रमित पत्रकारको उपचार र अन्य सहायताका लागि आवश्यक समन्वय गर्ने काम भइरहेको जनाइएको छ । सङ्गठनले संस्थागत विकास कोष, पुरस्कार कोष स्थापनासहित पत्रकारका लागि क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि कार्ययोजना बनाएर काम थालिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !