कावासोती । नवलपरासीको (बर्दघाट सुस्तापूर्व ) नवलपुरस्थित त्रिवेणी धाम र चितवनको वाल्मीकि आश्रम जोड्ने गरि नारायणी नदीमा निर्माणाधीन झोलुङ्गे पुल चाडै सम्पन्न हुने भएको छ ।

हिन्दु धर्मालम्वीहरुको आस्थाको केन्द्रको रुपमा रहेको त्रिवेणी धाम र वाल्मीकि आश्रम जोड्ने गरी ६ वर्ष अघिदेखि नारायणी नदीमा झोलुङ्गे पुल निर्माणको पहल भएको भएपनि विभिन्न अवरोधका कारण सो कार्यले गति लिन सकेको थिएन । निकुञ्ज क्षेत्रमा पर्ने भएकाले पुल निर्माणको प्रक्रिया शुरु गर्न नै लामो समय लागेको थियो । अब भने चाडै नै नेपालका दुई महत्वपूर्ण धार्मिक क्षेत्र त्रिवेणी धाम र वाल्मिकी आश्रम झोलुङ्गे पुलमार्फत जोडिने भएका छन् ।

पुलको अभावमा वाल्मीकि आश्रम पुग्नका लागि हिउँदमा डुङ्गा र वर्षामा भारतले बनाएको बाँधबाट भारतीय बाटो हुँदै पुग्नुपर्ने बाध्यता रहँदै आएको छ । चितवनबाट सडक सञ्जालले जोड्न नसकिएको हुँदा सो आश्रम पुग्नका लागि पूर्वी नवलपरासीको त्रिवेणी हुँदै भारतीय बाटो प्रयोग गरेर पुग्नुपर्ने बाध्यता छ । तर अब झोलुङ्गे पुल निर्माण भएपछि सहज रुपमा नेपाली भूमिहँुदै नै वाल्मीकि आश्रम पुग्न सकिने छ । त्रिवेणी र वाल्मीकि आश्रम जोड्ने गरि निर्माणको क्रममा रहेको झोलुङ्गे पुलका लागि नारायणी नदी वारीपारी लठ्ठा तान्ने टावर निर्माण (वेस) को काम सम्पन्न भएको छ । अब लठठ तान्ने काम मात्रै बाँकी रहेको पुलका निर्माणमा लाग्नुभएका सब कन्टर्याक्टर ताराप्रसाद पौडेले जानकारी दिनुभयो ।

उहाँका लठठ उपलब्ध गराउने जिम्मेवारी सरकारको भएकाले केही ढिलाई भएको छ । १५ दिन अघि मात्रै लठ्ठा उपलब्ध भएको उहाँले बताउनुभयो । चैत महिनामै लठठ उपलब्ध भएको भए यतिबेला सम्म काम सम्पन्न भइसक्नुपर्ने थियो । पुल निर्माण सम्पन्न गर्ने पछिल्लो सम्झौता जेठ मसान्तसम्म रहेको थियो । वर्षा रोकिएर काम नियमित हुन पाएमा साउन महिनाभित्र पुलको काम सकेर हस्तान्तरण गर्ने योजना रहेको पौडेलको भनाइ छ । झोलुङ्गे पुलको लम्बाई करिब ५३५ मिटर रहेको बताइएको छ । रुबिना–मना जेबि कन्ट्रक्सनले करिब रु ६ करोडको लागतमा सो झोलुङ्गे पुलको निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको र सोही अनुसार काम भइरहेको छ ।

नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रकाश मल्लसहितको टोलीले पुलको कामको निरीक्षणसमेत गर्नुभएको छ । नेपाल सरकार र राष्ट्रपति कार्यालयले समेत निकै महत्वका साथ हेरेको यस पुलको कामलाई जतिसक्दो छिटो पूरा गर्न ताकेताका लागि स्थानीय प्रशासनको टोली केही दिन अघि मात्र त्रिवेणी धाम पुगेको थियो । प्रमुख जिल्ला अधिकारी पंगेनीले भन्नुभयो, “राष्ट्रपति ज्यूले समेत निकै चासो दिनुभएको छ, वाल्मीकी आश्रम भारतको बाटो होइन, झोलुङ्गे पुल तरेर नेपालकै बाटो भएर जाने हो भन्नुभएको छ । त्यसैले हामीले यो पुल निर्माणको काम छिटोभन्दा छिटो गर्न सम्पन्न गर्न तोकता गरेका हौँ ।”

नदी तारेर लठठ पारी लैजान काठको डुङ्गाबाट नसकिने हुँदा मोटरबोटको प्रयोग गरेर लैजानुपर्ने भएको प्रजिअ पंगेनीले बताउनुभयो । काममा ढिलाई नहोस् भन्नका लागि समन्वय गरिएको उहाँको भनाइ छ । भारतीय गण्डक नहर हेर्ने निकायसंग समन्वय गरेर मोटरबोटमार्फत् लठठ पारी लैजाने कुरा भएको उहाँले बताउनुभयो । भारतीय निकायले पनि मोटरबोट सहयोग गर्ने प्रतिबद्धता जनाएको उहाँको भनाइ छ ।
प्रचार प्रसारको अभाव
नारायणी, तमसा र सोनभद्र गरि तीनवटा नदीको सङ्गमलाई त्रिवेणी धाम भनिन्छ । यसको महिमा अतुलनीय छ । तर, यहाँको महिमाको बारेमा तीर्थयात्रुले सहजै बुझ्ने र थाहा पाउनका लागि कुनै प्रचार सामग्री टाँसिएको छैन् । त्यस्तै रामायणसँग जोडिएको ठूलो कथाको अंश वाल्मीकी आश्रमसँग छ । सीता माता यहाँ रहँदा लवकुशको जन्मस्थलको रुपमा परिचित वाल्मीकी आश्रम प्रचार प्रसार र त्यहाँ सम्म पुग्ने भरपर्दो सडक नहुँदा श्रद्धालु भक्तजनलाई पुग्न कठिन छ । आश्रममा प्राचीन समयका आकृतीहरु ढुंगामा कुदिएको पाइन्छ ।
त्रिवेणी धामको इतिहास
कालिदासले रघुवंश नाटकमा चर्चा गरेको हिमालय नजिकको त्रिवेणी धाम यही थियो । यसको महिमागान वराह पुराण र स्कन्द पुराणको हिमवत्खण्डले पनि गरेका छन् । त्रिवेणी धाममा गजेन्द्रमोक्ष, भक्तेश्वर शिव मन्दिर, लक्ष्मी वेंकटेश्वर मन्दिर, नागाबाबा कुटी, राधाकृष्ण मन्दिर, कोटिहोम यज्ञशाला, संस्कृत विद्यालय र सुन्दर बगैंचा छन् । यो स्थान प्राकृतिक रूपमा सुन्दर र धार्मिक रूपमा महत्वपूर्ण छ । स्नान, पितृतर्पण, श्राद्ध, उपनयन, कर्णभेदन, अन्नप्राशन, चूडाकर्म तथा अन्य संस्कारहरू सम्पन्न गर्ने उपयुक्त स्थानका रूपमा त्रिवेणी धामलाई लिने गरिएको पाइन्छ ।

यहाँ कात्तिक मेला, कुम्भ मेला, रामनवमी, व्यास पूर्णीमा, होली, छठ र बुद्ध जयन्तीका अवसरमा यहाँ ठूलठूला मेला लाग्दछन् । त्यति बेला तीर्थयात्रीहरूको ठूलो भीड लाग्ने गर्दछ । त्रिवेणी धामका मेलामा नेपालभन्दा पनि भारतबाट श्रद्धालुहरूको ठूलो घुइँचो हुने गर्दछ । त्रिवेणीको स्नान अति उत्तम मानिन्छ । स्वर्गबाट देवता र अप्सराहरूसमेत यहाँ स्नानका लागि आउने गर्दथे भन्ने जनविश्वास छ । नारायणी नदीको किनारमा रहेको हुनाले पनि यसको धार्मिक महत्व ठूलो रहेको छ । नजिकै वाल्मीकि आश्रम, हरिहरक्षेत्र र देवघाटलगायत अन्य प्रसिद्ध तीर्थहरू रहेकाले पनि त्रिवेणी धामको महत्व ठूलो छ ।

प्रतिक्रिया दिनुहोस !