झापा । पन्ध्र दिन अघिमात्र शम्भु थापा र दुर्गा थापाको भागी बिहे भएको थियो । रातको मस्त निन्द्रामा थिए नव दम्पती । भारतबाट छिरेको जङ्गली हात्तीको बथानले ओछ्यानमै आक्रमण गर्दा दुवैको एक चिहान भयो । यो घटना विसं २०५९ असारमा झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा भएको हो । त्यही रात सोही गाउँका रणबहादुर दियालीको पनि हात्तीको आक्रमणमा मृत्यु भएको थियो ।

सधैँझैँ त्यसरात पनि नजीकको भारतीय जङ्गलबाट सयौँको बथानमा मेची नदी तरेर हात्ती गाउँ पसेका थिए । हात्तीले गरेको मानवीय क्षतिमध्येको एउटा भयानक घटना थियो त्यो । चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ । हात्तीको आक्रमणबाट हुने गरेको मानवीय क्षति रोकिएको छैन र न त उताबाट आउने गरेका हूलका हूल हात्ती रोक्ने भरपर्दाे प्रयास नै भएको छ ।

मेचीपारि भारतमा महानन्द वन्यजन्तु निकुञ्ज छ । पश्चिम बङ्गालको वन्यजन्तु संरक्षण गरिने उक्त जङ्गलमा आसामदेखि आउने हात्तीले बासस्थान बनाउने गरेका छन् । भारतको पश्चिम बङ्गाल र आसामसम्म फैलिएको करिडरमा हात्तीको कयौँ पुस्ताले नेपालको कोशीटप्पुसम्म विचरण गर्दै आएको विश्वास गरिन्छ । त्यहाँ दिनभर आराम गर्ने हात्तीको बथान साँझ परेपछि आहारको खोजीमा सीमा तरेर बाहुनडाँगी आइपुग्थे । खेतबारीमा लगाएका अन्न र फलफूल खाएर विनाश गर्ने हात्तीले मानिसलाई आक्रमणको निशाना बनाउँथे । आक्रमणमा अकालमा धेरैले ज्यान गुमाउनु प¥यो ।

चार दशकदेखि गुज्रिरहेको जङ्गली हात्ती र मानवबीच द्वन्द्वको कहिल्यै नसकिने यो सिलसिलाबाट अहिले पनि झापा आक्रान्त छ । मृत्युको ताण्डव रोकिएको छैन । यो अवधिमा कति मानिसको ज्यान गयो भन्ने पूर्ण तथ्याङ्क उपलब्ध छैन । तथापि सरकारी निकायहरुले पचासभन्दा बढीको मृत्यु भएको र ३० भन्दा बढी हात्ती मारिएको जनाएका छन् । द्वन्द्वमा मारिएका सर्वसाधारण र हात्तीको वास्तविक आँकडा सरकारले बताएभन्दा दोब्बर हुनसक्ने मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च बाहुनडाँगीका संस्थापक अध्यक्ष ढुण्डीराज पौडेलको दाबी छ ।

डिभिजन वन कार्यालय झापाको तथ्याङ्कअनुसार विसं २०६८ देखि २०७८ जेठ मसान्तसम्ममा झापामा ४७ जनाको मृत्यु भइसकेको छ । जसमा पाँचजना गैरनेपाली पनि छन् । हात्ती छेक्न घरवरिपरि आफैँले लगाएको करेन्टमा परेर चारजनाले मृत्युवरण गरेका छन् । एक दशकमा ५९ जना हात्तीको आक्रमणमा घाइते भएको वन कार्यालयले जनाएको छ । “विसं २०४९ उता कति मान्छे मरे, कति हात्ती मारिए भन्ने यकिन रेकर्ड कहीँकतै भेटिँदैन,” विगत पचास वर्षदेखि हात्तीको उपद्रो देख्दै आउनुभएका ८४ वर्षीय पौडेल भन्नुहुन्छ, “प्रजातन्त्र आएपछि मात्र मृतकको तथ्याङ्क राख्न थालिएको हो ।” उहाँका अनुसार जननिर्वाचित जनप्रतिनिधिले नै मृतकका परिवारलाई काजकिरिया खर्च दिने व्यवस्थाको शुरुआत गरेका थिए ।

उन्नाइस हजार जनसङ्ख्या भएको तत्कालीन बाहुनडाँगी गाविसमा त्यस्तो कुनै टोल छैन, जहाँ हात्तीले बाली नचरेको र मानिसको ज्यान लिएको वा अङ्गभङ्ग नबनाएको होस् । विसं २०५२ देखि एक दशकसम्म चलेको माओवादी सशस्त्र द्वन्द्व कालमा बाहुनडाँगीका बासिन्दा जङ्गली हात्ती र माओवादी जनयुद्धको दोहोरो चपेटामा परे । यही अवधिमा सयौँ परिवार बाहुनडाँगीबाट विस्थापित भएर अन्यत्रै बसाइँ सरे ।

माओबादी द्वन्द्वकालमा कहालिलाग्दो अवस्था भोगे बाहुनडाँगीका बासिन्दाले । माओवादीको त्रासले तिरिङ, बाहुनडाँगी र नकलबन्दाको प्रहरी चौकी विस्थापित भएका थिए । दिनभरि बन्दुक बोकेका माओवादी पाल्नु पथ्र्यो भने रातभरि भारतबाट आउने हात्तीको उपद्रो सहनुपथ्र्यो । सीमामै हात्ती छेक्न गरिएको अन्तिम उपाय विद्युतीय तारबारले सफलता पाएपछि मात्र बाहुनडाँगीमा भारतबाट हात्ती हम्मेसी आउन सकेका छैनन् । रैथाने हात्तीको छिटपुट उपद्रो जारी रहे पनि दिनहुँ सयको सङ्ख्यामा बालबच्चा लिएर हात्ती आउने क्रम अहिले रोकिएको थियो । विसं २०६६ देखि बाहुनडाँगीको उत्तरी पहाडी क्षेत्र तिरिङदेखि दक्षिणी नकलबन्दासम्म १८ किलोमिटर लामो विद्युतीय तारबार सीमामा लगाइयो ।

लामो समयसम्म रोकिएका हात्तीको बथान तारबार भत्काएर विसं २०७८ को मध्य जेठदेखि फेरि आउन थालेको डिभिजन बन कार्यालय झापाका प्रमुख युवराज मास्केले बताउनुभयो । दैनिक ७० देखि डेढ सयसम्मको सङ्ख्यामा आउने हात्तीलाई सशस्त्र गस्ती टोलीले मेचीको बगरबाटै भारततिर फर्काउने गरेको उहाँले जानकारी दिनुभयो ।

रोकिएन रैथानेको उपद्रो

विसं २०७७ जेठ १२ गते राति दक्षिण झापाको गौरीगञ्ज गाउँपालिकाको वडा नं २ लालमाटीमा हात्ती लखेट्दै भारतबाट नेपाल छिरेका २५ वर्षीय साइलो मुर्मुको हात्तीको आक्रमणबाट ज्यान गयो । उनको लाश दशगजाको मकैबारीमा भेटिएको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय झापाले जनाएअनुसार बच्चासहित जलथल जङ्गलबाट गाउँ पसेको ढोइ हात्तीले मुर्मुलाई उल्टै लखेट्यो र कुल्चेर मार्यो । नेपालको जङ्गलमा बस्ने केही हात्ती स्थलसीमा पार गरेर भारतको बिहारका गाउँमा समेत आहाराको खोजीमा जाने गर्छन् । त्यही क्रममा भारतीय सीमावर्ती गाउँबाट ‘नेपालको हात्ती’ भन्दै धपाउन आउने क्रममा दशगजा क्षेत्रमा मुर्मु हात्तीको आक्रमण परेका थिए ।

भारतबाट रातारात नेपाल भित्रिने हात्तीको बथानले पहिले पहिले धेरै जनधनको क्षति पुर्याएको भए पनि एक दशकयता नेपालकै जङ्गलमा बस्दै आएका रैथाने हात्तीले मानिसको ज्यान लिने गरेको बुद्धशान्ति गाउँपालिका वडा नं ३ का मोहन वाँस्तोलाले बताउनुभयो । एक्लै र हुलमा हिँड्ने रैथाने हात्ती मानव बस्तीको भित्री भागसम्म पुग्ने गरेका छन् । मानिसले धपाउने क्रममा कहिलेकाहिँ धारिलो भाला, बाँसको पुल्ठो र पटाका आदिले प्रहार गर्ने भएकाले यिनीहरु मानिससँग बढी आक्रामक हुन्छन् ।

जङ्गलमा निगुरो र च्याउ खोज्न जाँदा हात्तीसँग सर्वसाधारणको जम्काभेट हुने गरेको छ । त्यसबेला भाग्न नसक्दा हात्तीले झम्टेर मानिसलाई मार्ने गरेको छ । जङ्गलमा दिउँसो दाउरा र घाँस खोज्न गएका महिला र बालवालिका समेत चपेटामा पर्ने गरेका छन् ।

झापाको भारतसँग सीमा जोडिएको बाहुनडाँगीदेखि दक्षिणी क्षेत्र कचनकबल र गौरीगञ्जसम्म प्राकृतिक जङ्गल र सामुदायिक बन छ । उत्तरी चुरे पहाडसँग जोडिएको भेगमा पनि जङ्गल नै भएको हुँदा हात्ती विचरणका लागि सहज छ । झापाका अधिकांश पालिकामा अहिले हात्तीको त्रास व्याप्त छ ।

बाहुनडाँगीबाट ५० किलोमिटर पश्चिम कमल गाउँपालिकाको वडा नं ३ स्थित रतुवामाई वृक्षारोपण आयोजनाको बनमा एकाविहानै ५ बजेतिर च्याउ खोज्न गएका ४४ वर्षीय जितबहादुर लिम्बु जङ्गली हात्तीको आक्रमणमा परे । भाग्न नपाउँदै हात्तीले कुल्चेर उनको घटनास्थलमै मृत्यु भयो ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार रैथाने हात्ती रहेछ भने जुनसुकै कामले जङ्गल जाने सर्वसाधारणको ज्यान जोखिममा पर्ने गरेको छ । हात्तीले आक्रमण गरेको अधिकांश घटनामा प्रहरी र स्थानीयवासीले तत्कालै उद्धार गर्न सक्ने अवस्था हुँदैन । जो पर्यो उसले ज्यान गुमायो भन्ने अवस्था छ । हात्ती जङ्गलको कता बसेको छ भन्ने थाहा हुने प्रविधि उपलब्ध नभएका कारण आक्रमणबाट जोगिन सजगता अपनाउन सकिएको छैन ।

बेलैमा पाउँदैनन् पीडितले राहत

सरकारले बन्यजन्तुबाट मानवीय तथा भौतिक क्षति भएमा राहत तथा क्षतिपूर्ति रकम दिने कानूनी व्यवस्था गरेको छ । तर अधिकांश पीडितले बेलैमा सो रकम पाउँदैनन् ।

मेचीनगर नगरपालिका वडा नं ९ का ६५ वर्षीय श्याम राईको यही जेठ ४ गते घरछेउमा हात्तीको आक्रमणमा मृत्यु भयो । ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको राईको आश्रित परिवारले एक महिना बितिसक्दा समेत नगरपालिकाबाट काजकिरिया खर्च पाएनन् । जबकि नगरपालिकाले बन्यजन्तुबाट मृत्यु भएका परिवारलाई १३ दिनभित्रै किरिया खर्च भनेर रु २५ हजार दिने नियम बनाएको थियो ।

मृतककी पत्नी जुनबिरा राईले परिवारको भरणपोषणका लागि मजदुरी गर्दै आउनु भएको पतिको मृत्युपछि सङ्कट बढेको बताउनुभयो । उहाँले नगरपालिका र बन कार्यालय धाउँदा धाउँदा हैरान भइसकेको जनाउँदै राहतमा ढिलासुस्ती नगरिदिन आग्रह गर्नुभयो ।

बन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका– २०७५ मा हात्तीको आक्रमणमा मृत्यु भएको परिवारले रु १० लाख राहत दिने व्यवस्था छ । सख्त घाइतेको उपचार सम्पूर्ण व्यहोर्ने र सामान्य घाइतेलाई उपचार खर्च वापत रु २० हजारसम्म दिने कानूनी व्यवस्था छ । घरगोठ भत्काएको, भण्डारण गरेको अन्नबाली खाएमा र खाद्यबालीमा क्षति पुर्याएको अवस्थामा रु १० हजारसम्म क्षतिपूर्ति दिने सरकारी व्यवस्था रहेको डिभिजन बन कार्यालय झापाका प्रमुख मास्केले बताउनुभयो ।

विसं २०७७ फागुन २५ गते राति घरछेउमा हात्तीसँगको मुठभेडमा ज्यान जोगाउन सफल भद्रपुर नगरपालिका २ का आशबहादुर राईले घाइते भए पनि कुनै राहत तथा उपचार सहयोग नपाएको गुनासो गर्नुभयो । हात्ती धपाउन सहयोग पुग्ने एउटा फगी लाइट माग्दा समत नपाएको उहाँले बताउनुभयो ।

डिभिजन बन कार्यालय झापाले २०६२ सालदेखि हालसम्ममा हात्तीपीडित दुई हजार ७९५ जनालाई विभिन्न शीर्षकमा रु ४ करोड ४७ लाख १४ हजार ४४० राहत वितरण गरिएको जानकारी दिएको छ ।

कति छन् हात्ती ?

चारकोशे झाडीको रुपमा परिचित जलथल जङ्गल झापाका रैथाने हात्तीको मूल वासस्थान हो । दक्षिण झापाको हल्दिबारी, कचनकबल, बाह्रदशी र झापा गाउँपालिकाले छोएको यो जङ्गल बनस्पति, चरा र बन्यजन्तुको बाक्लो उपस्थिति रहेको जैविक विविधतायुक्त बन क्षेत्र भएको हल्दिबारीस्थित पाथिभरा कालिका सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष चिरञ्जीवी पौडेलले बताउनुभयो । यस बाहेक मेचीनगर, विर्तामोड, भद्रपुर र अर्जुनधारा नगरपालिकाले छोएको निचाझोडा बन क्षेत्र पनि हात्तीको बासस्थान मानिएको छ । यहाँभित्र पिउने पानी र नुहाउने जलाशयको पर्याप्त स्रोत भएको हुँदा जङ्गली हात्ती बस्ने गर्छन् ।

झापाको जङ्गलमा बस्दै आएका रैथाने हात्तीको औपचारिक गणना भएको छैन । बन संरक्षणमा लागेका निकाय र अभियन्ताहरु रैथाने हात्तीको सङ्ख्या बढिरहेको बताउँछन् । जिल्ला बन कार्यालय झापाका प्रमुख युवराज मास्के जिल्लामा ९ देखि १३ वटासम्म रैथाने हात्ती रहने गरेको बताउनुहुन्छ ।

“भारतबाट ओहोरदोहोर भइरहेको अवस्थामा कति हात्ती कता बस्थे भन्ने पत्तो हुँदैनथ्यो,” मानव हात्ती द्वन्द्व न्यूनीकरणका लागि अभियान सञ्चालन गरिरहेका प्रकृति संरक्षण समाज झापाका अध्यक्ष अर्जुन कार्की भन्नुहुन्छ–“सीमापारिबाट अहिले आउन छाडेका छन्, अब रैथाने हात्तीको वैज्ञानिक गणना गर्ने हो भने वास्तविकता पत्ता लाग्नसक्छ ।”

मानव हात्ती द्वन्द्व न्यूनीकरण गर्नका लागि मेची नदीको दुबै किनारमा नेपाल र भारतले हात्तीलाई मनपर्ने आहारको व्यवस्थासहित ग्रीनबेल्ट निर्माण गर्नुपर्ने बताउनुभयो । यसो गरियो भने हात्ती आहारको खोजीमा वस्तीमा नपस्ने र पर्यटकीय आकर्षण समेत बढाउन सकिने उहाँको धारणा छ ।

झापाका बन्यजन्तुको संरक्षणको जिम्मेवारी कोशी टप्पु बन्यजन्तु आरक्षणले लिएको छ । आरक्षणले हात्तीबाट जनधनको क्षति हुँदा त्यसको क्षतिपूर्ति दिँदै आएको छ । तर हात्तीको गणना भने गरेको छैन । अभियन्ता कार्की झापामा एक दर्जनको सङ्ख्यामा रैथाने हात्ती हुनसक्ने बताउनुहुन्छ ।

दक्षिणी झापामा रैथाने हात्तीको सानो बथानमा बच्चाहरु पनि देखिएको जिल्ला सामुदायिक बन महासङ्घ झापाका अध्यक्ष बेदप्रकाश भण्डारीले बताउनुभयो । जलथल जङ्गल र बाहुनडाँगीतिरको सामुदायिक बनमा बस्ने रैथाने हात्तीको बेग्लाबेग्लै बथान रहेको उहाँको भनाई छ । बाहुनडाँगीको बथान मेचीनगर, अर्जुनधारा, शिवसताक्षी, कनकाई र दमकसम्म डुल्ने गरेको छ भने जलथलका हात्ती मोरङतिर पनि पुग्ने गरेका छन् ।

फरेस्ट एक्सन नेपाल नामक गैरसरकारी संस्थाका संरक्षणविद् डा. लीलानाथ शर्मा जङ्गलमा आहार मासिदै गएपछि जङ्गली हात्ती भोकले छटपटिएर आहार खोज्न गाउँवस्ती पस्ने गरेको बताउनुहुन्छ । मानिससँगको द्वन्द्वमा हात्ती मासिदै गएको र हात्ती पनि धेरै आक्रामक बन्दै गएको उहाँको ठम्याई छ । बच्चा साथमा भएको बेला पोथी हात्ती र मधुमासका बेला भाले हात्ती बढी आक्रामक हुने उहाँ बताउनुहुन्छ ।

हात्ती पनि मारिएका छन्

विसं २०७६ माघ ११ गते दक्षिण झापाको सीमान्त क्षेत्र कचनकबल गाउँपालिका वडा नं ३ को हरियाली सामुदायिक बनमा वयस्क हात्ती मृत भेटिएको थियो । यसअघि उत्तरी झापातिर मात्रै मरेका हात्ती भेटिने गरेका थिए । दक्षिणतिर पनि अब हात्ती मरेको अवस्थामा हात्ती भेटिन थालेका छन् ।

हात्ती संरक्षित बन्यजन्तु भएको हुँदा यसलाई मार्न पाइँदैन तर मान्छे नै मारिने अवस्था आएको भन्दै हात्तीलाई गोली हान्ने र लुकेर शिकार गर्ने क्रम चलिरहेकै छ । बाहुनडाँगी, मागुरमाडी, पाँचपोखरी, जुकेखाडी, जलथल र निचाझोडाको जङ्गलभित्र पटकपटक मृत हात्ती भेटिने गरेको छ । शरीर कुहिन थालिसकेको अवस्थामा भेटिएका ती हात्तीको दाँत र पुच्छरको रौं भने भेटिएको छैन । यसबाट हात्तीको शिकार हुने गरेको अनुमानमा बल पुगेको छ ।

जिल्ला बन कार्यालय झापाका अधिकृत ओम भट्टराई जङ्गली हात्ती घाइते भएर र रोगाएर मर्ने गरेको बताउनुहुन्छ । पछिल्लो समय करेन्ट लागेर समेत हात्तीले ज्यान गुमाउन थालेका छन् । हात्तीलाई छेक्न घर वरिपरि रातमा प्रवाह गरिएका करेन्ट लागेर हात्ती घटनास्थलमै मर्ने गरेका छन् भने कतिपय अवस्थामा गाउँमा होचो स्थानबाट लगिएका उच्च भोल्टेज भएका विजुलीका नाङ्गो तारमा छुँदा हात्ती मरेका छन् ।

उहाँका अनुसार झापामा २०६२ देखि २०७७ सालसम्म विभिन्न कारणले १३ वटा जङ्गली हात्ती मृत फेला परेका छन् । मरेको हात्तीलाई घटनास्थलमै पोस्टमार्टम जाँच गरेर खाल्डोमा पुर्ने गरिएको छ । दाह्रा, खुर र पुच्छरको रौं रहेछ भने बनका पदाधिकारीले कार्यालयमै लैजाने गरेका छन् । हात्तीको पोस्टमार्टम जाँचबाट हात्तीको मृत्युको कारण पत्ता लगाउने गरिएको छ ।

जङ्गलभित्र सिमसार र सेपिलो क्षेत्रमा मृत हात्ती भेटिने गरेका छन् । अन्यत्रै गोली लागेर वा अन्य कारणले घाइते भएर हात्ती चिसो र सेपिलो ठाउँमा पुग्ने गर्छन् । त्यहीँ तिनको मृत्यु हुने गरेको पाइएको छ । मृत हात्तीको शरीरमा धारिलो हतियार वा गोलीले छेडेका घाउ पनि देखिने गरेको छ । कतिपय हात्ती पर्याप्त आहार नपाएर क्षयरोगी हुने गरेको र उपचार अभावमा मर्ने गरेको बनका अधिकारीहरु बताउँछन् ।

गत वर्ष बाहुनडाँगीको तेलपानी जङ्गल क्षेत्रमा घाइते हात्ती भेटिएपछि बन कार्यालयको पहलमा चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीको उपचार गर्ने डाक्टर ल्याएर उपचार गरिएको थियो तर उक्त हात्ती लामो समय बाँचेन । केही महिनापश्चात् सो हात्ती जङ्गलभित्रै मरेको थियो । बहुमूल्य दाह्राका लागि हात्तीको शिकार हुने गरेको शङ्का पनि उत्तिकै छ । मृत हात्तीको शरीरमा गोलीका दाग भेटिनु र दाह्रा नभेटिनुले शङ्कालाई बल पुर्याउँछ ।

तत्कालीन बाहुनडाँगी गाविसका अध्यक्ष निलकण्ठ तिवारीले मानवसँगको द्वन्द्वमा हात्ती समेत मारिने गरेको बताउनुभयो । विसं २०४५ तिर बाहुनडाँगी र बुधवारे गाविसको सीमानामा पर्ने पाँचपोखरी सामुदायिक बन क्षेत्रमा लुकेर बसेका हात्तीको बथानमाथि सुरक्षाकर्मीले गोली चलाउँदा एकैठाउँमा कम्तीमा चार वटा हात्ती मारिएका थिए । हात्तीले मान्छे मारेपछि उक्त प्रतिशोधात्मक घटना भएको थियो ।

‘हात्तीको देश हुँदैन’

बाहुनडाँगीकी सावित्रा विक हात्तीको आक्रमणमा मृत्युवरण गर्ने पहिलो व्यक्ति हुन् । त्यसभन्दा अघि हात्ती सीमापारिबाट आउने र जाने गरेको थाहा हुँदैनथ्यो । किनकि उबेला मानव बस्ती कम र जङ्गली क्षेत्र धेरै हुन्थ्यो । विसं २०३६ मा बन विनाश तीव्र भएपछि बन क्षेत्रमा मानव बस्ती बसाउन थालियो । बासस्थान र विचरण क्षेत्र संकुचित हुँदै जाँदा हात्तीसँग मान्छेको द्वन्द्व बढ्न थालेको हात्ती विषयमा विद्यावारिधि गर्नुभएका डा. दिनेश न्यौपाने बताउनुहुन्छ ।

“भारतको आसामदेखि नेपालको कोशी टप्पुसम्म हात्तीको पूख्र्यौली विचरण क्षेत्र हो,” न्यौपाने भन्नुहुन्छ–“हात्तीको कुनै देश हुँदैन, बाहुनडाँगीमा आउने हात्तीलाई लामो समयसम्म भारतका हात्ती भन्ने गरियो । यी कैयौँ पुस्तादेखि सीमापार ओहोरदोहोर गरिरहेका बन्यजन्तु हुन् ।”

उहाँले जमिनमा पाइने धरतीकै सबैभन्दा ठूलो स्तनधारी जनावर हात्ती अहिले सङ्कटापन्न अवस्थाबाट गुज्रिरहेको र मानवसँगको द्वन्द्व न्यूनीकरण गर्न हात्तीको बासस्थानको संरक्षण, लहरे तथा झाडी प्रजातिका बनस्पतिको जगेर्ना र घाँसे मैदान बढाउनुपर्ने सुझाव दिनुभयो । नेपालमा सबैभन्दा धेरै हात्ती आउने र बढी मानवीय क्षति हुने जिल्ला झापा नै भएको उहाँले बताउनुभयो ।

बाहुनडाँगीदेखि कोशीटप्पुसम्मको चुरे क्षेत्रमा हात्ती करिडर विकास गरिनुपर्ने उहाँको धारणा छ । कोशीटप्पुका र रैथाने हात्तीसँग भारतबाट आउने हात्तीको सम्बन्ध भएको उहाँको भनाई छ ।

सयको सङ्ख्यामा भारतबाट रातारात आउने र विहान उतैतिर फर्किने गर्नाले यी हात्ती भारतका हुन् भन्ने सर्वसाधारणलाई लाग्नु स्वाभाविकै थियो । हात्तीले मानिस मार्न थालेपछिको तीन दशकसम्म भारतलाई हात्ती नियन्त्रणका लागि नेपाल सरकारले दवाव दिनुपर्ने जनआवाज उठ्यो । नेपाल र भारतका सीमावर्ती जिल्लाका प्रशासनिक अधिकारीहरुका बीच हुने बैठकमा हात्ती नियन्त्रणको विषयले प्रवेश पाउने गरेको थियो ।

मानव र हात्तीबीचको द्वन्द्व न्यूनीकरण गर्नुपर्छ भनेर आवाज उठाउने प्रकृति संरक्षण समाज झापाका अध्यक्ष कार्कीले भारतीय हात्तीको संरक्षण गरेको आरोप खेप्नु परेको थियो । गाउँमा हात्तीलाई लखेट्ने र घाइते बानाउने क्रम बढेसँगै आक्रामक बनेका हात्तीले धमाधम मानिसको ज्यान लिन थालेको हुँदा भारतीय हात्तीलाई गोली हानेर मार्नुपर्ने आवाज स्थानीयबासीले उठाइरहेका थिए । “हात्ती मार्नु हुँदैन, बरु द्वन्द्व समाधान र क्षति न्यूनीकरणका अनेक उपायहरु छन्, प्रयोग गरौँ भनेर मैले भन्दा गाउँलेहरु नै मतिर खनिए,”कार्कीले भन्नुभयो ।

हात्तीलाई भारतबाट नेपाल पस्नै नदिन मेची नदीको छेउमा मचान बनाउने, सुरुङ खन्ने, अफ्रिकी मौरी पाल्ने, हात्तीबार बनस्पति रोप्नेलगायतका अनेक उपाय अवलम्बन गरिए । पटाका पड्काउने, ढ्याङ्ग्रो ठोक्ने, खुर्सानीको धुँवा लगाउने र बन्दुक पड्किएको आवाजलाई लाउड स्पीकरबाट सुनाउने प्रयास पनि गरिए । केही नलागेपछि विश्व बैंक र डब्ल्युडब्ल्युएफको सहयोगमा १८ किलोमिटर लामो विद्युतीय तारबार गरियो । जसले अहिलेसम्म हात्तीलाई सीमामै छेकिरहेको छ ।

जङ्गली हात्तीले जनधनमा पुर्याउने क्षति भारतीय क्षेत्रमा कम छैन । पश्चिम बङ्गालको नक्सालबाडी, पानीघट्टा, लोहागढ, सुकुना लगायतका क्षेत्रमा नेपालको तुलनामा धेरै मानिसको मृत्यु हात्तीको आक्रमणमा भइसकेको छ ।

विद्युतीय तारबार विस्तार

बाहुनडाँगीको विद्युतीय तारबार सफल भएपछि दक्षिण झापाको जलथल र निचाझोडा जङ्गल वरिपरि तारबार लगाइएको छ । जलथल र निचाझोडा जङ्गलको बाहिरपट्टि हल्दिबारी, कचनकबल र भद्रपुर क्षेत्रमा ४२ किलोमिटर विद्युतीय तारबारका लागि नेपाल सरकारले रु ७ करोडभन्दा बढी लगानी गरिसकेको छ ।

तारबारको नियमित मर्मत सम्भार नहुँदा र मानिसले नै बन पैदावारको अबैध तस्करी गर्न तारबार भत्काउँदा हात्ती गाउँ पस्न सजिलो हुने गरेको छ । नत्र तारबारले हात्तीलाई जङ्गलभित्रै बस्न बाध्य तुल्याउने गरेको छ ।

भद्रपुर नगरपालिका वडा नं ९ मा रहेको चन्द्रगढी सामुदायिक बनका अध्यक्ष हीरा पोखरेलले विद्युतीय तारबारका कारण हात्तीको क्षति न्यूनीकरण भएको बताउनुभयो । “कहिलेकाहिँ बार नाघेर र भत्काएर हात्ती गाउँ नपस्ने होइन तर पहिले जस्तो जङ्गलबाट सरासर हात्ती गाउँ पस्न अहिले सक्दैन,” उहाँले तारबारको प्रभावकारिता बारे भन्नुभयो–“हाम्रो बन वरिपरि तारबार गरेका छौँ, बस्तीमा मानिसहरु अचेल ढुक्कले निदाउन सकेका छन् ।”

बाहुनडाँगीदेखि कचनकबलसम्मको जङ्गल क्षेत्रमा हात्तीलाई विचरणका लागि सुरक्षित करिडरको सुनिश्चित गरिनु पर्ने योजना कतिपय जनप्रतिनिधिले अघि सारेका छन् । जङ्गल र हात्ती दुबैको संरक्षण गरेर पर्यटन प्रबद्र्धन गर्न सकिने र त्यसका लागि स्थानीय पालिकाहरुबीच साझा परियोजना आवश्यक रहेको हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरी बताउनुहुन्छ ।

उहाँले जननिर्वाचित भएर आएदेखि नै जलथल जङ्गलको वरिपरि चक्रपथ बनाउने र पर्यटक आकर्षित गरेर जङ्गल सफारी गराउने योजना अघि सार्नु भएको छ । त्यसका लागि आन्तरिक स्रोत जुटाएर चक्रपथ निर्माण थालिसकेको र ठूलो परियोजना भएकाले सङ्घीय र प्रदेशको सहयोगको अपेक्षा गरिएको उहाँले बतउनुभयो ।

भारतबाट सयको हुल बाँधिएर नेपाल आउने हात्ती पर्यटक लोभ्याउने आधार बन्ने धारणा राख्दै प्रकृति संरक्षणका अभियन्ता अर्जुन कार्कीले मेची नदीको फराकिलो बगर क्षेत्रमा केरा, बाँस, कटहर, बडर, सिमल तरुल लगायतका हात्तीले मन पराउने बोटविरुवा लगाएर पर्यटक आकर्षित गर्न सकिनेतर्फ बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आउनुभएको छ ।

मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च बाहुनडाँगीका अध्यक्ष हरिप्रसाद उप्रेतीले यस वर्षदेखि भारतबाट हात्ती आउने क्रम फेरि शुरु भएको हुँदा त्रास बढेको बताउनुभयो । “विसं २०७२ मा विद्युतीय तारबार पूरा भएपछि बाहुनडाँगीमा भारतबाट हात्ती पस्न सकेका थिएनन्,” उहाँले चिन्तित हुँदै भन्नुभयो–“जेठको अन्तिम साता दिनहुँ सयको सङ्ख्यामा मेची नदी तरेर हात्ती यता आएका छन् । ती हात्ती तारबार भत्काएर गाउँ पस्न थालिसकेका छन् ।” भारतबाट हुलका हुल पस्ने हात्तीका कारण बाहुनडाँगीमा मानवीय क्षतिको विगतको इतिहास दोहोरिने हो कि भनेर स्थानीयबासीमा डर उत्पन्न हुन थालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस !