कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका दुई महिनादेखि स्थगन गरिएका कार्यालयका कामकाज आजदेखि सञ्चालन भएका छन् । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञापछि कार्यालयबाट प्रवाह हुने सेवाहरु स्थगन भएका थिए ।

बारअनुसार स्थानीय तहका सेवाग्राहीलाई कार्यालयबाट सेवा प्रवाह गर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गरी मङ्गलबारदेखि सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको कार्यालयका प्रशासकीय अधिकृत पदमराज भट्टले बताउनुभयो । उहाँका अनुसार नागरिकतासम्बन्धी सेवाका लागि आइतबार र सोमबार भीमदत्त, वेदकोट र पुनर्वास नगरपालिकाका सेवाग्राहीलाई प्रदान गरिने छ ।

यसैगरी मङ्गलबार र बुधबार कृष्णापुर, शुक्लाफाँटा र बेलौरी नगरपालिकाका र बिहीबार र शुक्रबार दोधरा चाँदनी नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकाका सेवाग्राहीका लागि निर्धारण गरिएको छ । नयाँ नागरिकता बनाउने सेवाग्रही ३० र प्रतिलिपि लिने सेवाग्राही २० गरी निर्धारित बारमा जम्मा ५० जनालाई सेवा दिइने छ ।

नागरिकतासम्बन्धी सेवा लिनका लागि बिहान १० देखि १०ः३० बजेभित्र टोकन लिनुपर्ने छ । “राहदानीका लागि प्रतिदिन १० जनालाई मात्रै नयाँ सिफारिस दिइने छ”, अधिकृत भट्टले भन्नुभयो, “राहदानी वितरणको कार्य र कार्यालयबाट प्रदान गरिने अन्य सेवा साविकबमोजिम दिइनेछ ।” कोरोनाको जोखिम अझै रहेकाले भीडभाड हुन नदिनका लागि कार्यालयको सेवालाई प्रभावाकरी बनाई प्रवाह गरिने व्यवस्था गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !