एजेन्सी । युरो कप फुटबल अन्तर्गत गएराति जर्मनी र पोर्चुगलबीचको खेलमा जर्मनी विजयी भएको छ । म्युनिखमा भएको खेलमा जर्मनीले साविकको च्याम्पियन पोर्चुगललाई ४–२ गोल अन्तरले हराएको हो । जर्मनीलाई जिताउन दुई गोल पोर्चुगलका खेलाडीले आत्मघाती उपहार दिएका थिए ।

खेलको १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । रोनाल्डोको युरो कपमा १२ र कुल अन्तर्राष्ट्रिय गोल सङ्ख्या एक सय १२ पुगेको छ । तर खेलको ३५औं मिनेटमा पोर्चुगलकै रुविन डायसले र ३९औं मिनेटमा राफेल गुएर्रेइओले आत्मघाती गोल गर्दा जर्मनीले पहिलो हाफमा २–१ गोलको अग्रता बनाएको थियो ।

दोस्रो हाफको ५१औं मिनेटमा जर्मनीका काइ हाभर्जले र ६०औं मिनेटमा रोविन गोसेन्सले गोल गरे । खेलको ६७औं मिनेटमा पोर्चुगलका डिएगो जोताले गोल गरे पनि जितका लागि पर्याप्त भएन र खेल ४–२ गोल अन्तरको नतिजामा सकियो ।

जर्मनी र पोर्चुगलको समान तीन अङ्क भए पनि गोल अन्तरका आधारमा जर्मनी दोस्रो र पोर्चुगल तेस्रो स्थानमा रहेको छ । अन्तिम १६ मा प्रवेशका लागि यो समूहका सबै टोलीको सम्भावना कायमै रहेको स्पोर्टस् स्टारले जनाएको छ । from… makalu khabar

प्रतिक्रिया दिनुहोस !