कोरोना भाइरस सङ्क्रमणको जोखिम झेलिरहेका नागरिकलाई केही दिनदेखिको मनसुनी वर्षासँगै भइरहेका प्राकृतिक विपद्का घटनाले थप समस्या खेप्नु परेको छ । मनसुनी वर्षा सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्याले धनजनको क्षति पुगेको छ ।
प्राकृतिक विपद् र कोरोना सङ्क्रमणको जोखिमका बीच कैलाली, कञ्चनपुरलगायतका जिल्लामा भने यतिबेला बर्खे धान बालीको रोपाइँ गर्ने चटारो छ । रोपाइँ गर्न पुग्ने गरी वर्षा भएपछि किसालाई रोपाइँ गर्ने चटारो भएको हो । कैलाली र कञ्चनपुरमा अहिलेसम्म वर्षाका कारण कुनै त्यस्तो प्राकृतिक विपद् नदेखिए पनि नदीतटीय क्षेत्रका वासिन्दा कतिबेला आफूहरु बाढी र डुबानको चपेटामा परिने हो भनेर त्रासमा देखिन्छन् ।
स्थानीय किसान रामदिन चौधरीले भन्नुभयो, ‘‘कोरोनाको जोखिम यथावत छ, नदीमा पानीको सतह बढ्दा हुन सक्ने डुबानको समस्याबाट तटीय क्षेत्रका किसान त्रासमा देखिन्छन् ।’’ आम्दानी गर्ने र जीविका चलाउने मुख्य स्रोतको रुपमा बर्खे धान खेती रहेकाले रोग सङ्क्रमण र विपद्को जोखिमका बीच पनि धान रोपाइँ गर्नै पर्ने वाध्यता रहेको अर्का किसान नवराज पाण्डेय बताउनुहुन्छ ।
‘‘धेरै जिल्लामा बाढी, डुबान, पहिरो आएको खबर सुनिन्छ, कोरोनाको त्रास पनि रोकिएको छैन,तर अहिले खेती नगरे जीविका चलाउनै मुश्किल हुने भएकाले खेतीको काम गर्नै पर्ने अवस्था छ’’, धनगढी उपमहानगरपालिका—१३ का कृषक पाण्डेयले भन्नुभयो । कृषकले आफूलाई आवश्यक पर्ने धान घरमा भण्डारण गरी बढी भएको धान बिक्री गरेर घर खर्चको जोहो गर्ने गरेका छन् ।
धान रोपाइँ गर्ने, काट्ने र झार्ने काममा आधुनिक कृषि औजारको प्रयोग पनि पछिल्ला वर्षमा बढ्दै गएको छ । यी औजारको प्रयोगसँगै समयको बचत हुनुका साथै परिश्रम समेत कम लाग्ने हुँदा रोपाइँ गर्न सहज भइरहेको किसान रामदिन बताउनुहुन्छ । ‘‘खेती गर्न र कृषि उपज ढुवानी गर्दा पहिलेको जस्तो राँगा र गोरु गाडाको प्रयोग घटेर आधुनिक मेसिनको प्रयोग बढ्दा निकै सहज भएको छ,’’ चौधरीले भन्नुभयो, ‘‘समयमै मलखाद, बीऊबिजन, सिँचाइजस्ता समस्या भने यथावत रहेको छ ।’’
वर्षाको पानीले रोपाइँ गरौँला भन्ने आशमा बस्नु पर्ने अवस्थामा रहेका तराईका कृषकहरु पाँच दिनयता भइरहेको मनसुननी वर्षापछि हौसिएका छन् । तराईका अधिकांश कृषक सिँचाइको भरपर्दो सुविधा नहुँदा आकासे पानीको भरमा रोपाइँ गर्दै आएका छन् ।
प्रदेशका पहाडी क्षेत्रका जिल्लामा भने गएको जेठ महिनादेखि नै रोपाइँ शुरु भएको थियो । पहाडी जिल्लाका गाउँवस्तीमा छरछिमेकीले आपसमा मिलेर पालैपालो रोपाइँ गर्नु पर्ने पर्मको प्रचलन छ । पर्मको प्रचलनले रोपाइँ गर्दा सम्बन्धित कृषकलाई नगद खर्च गर्नु पर्ने बाध्यता त्यति नहुने बताइन्छ ।
तराईका जिल्लामा यस्तो प्रचलन भने त्यति ठूलो रुपमा देखिंदैन । अधिकांशले मजदूर लगाएर रोपाइँ गर्नु पर्ने अवस्था छ । पहाडी क्षेत्रमा रोपाइँ हुने दिनलाई उत्सवका रुपमा लिने गरिन्छ । रोपाइँ गर्ने गोरुको लागि भने जौ पिँधेर बनाइएको पिठोको ‘बाडी’र ‘ढुल्ला’ बनाएर खुवाउने चलन छ ।
कृषि विकास निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार आजसम्म प्रदेशमा बर्खे धान खेती गरिने जम्मा एक लाख ८५ हजार ८४७ हेक्टरमध्ये झण्डै २२ प्रतिशत आर्थात् ४१ हजार ७९७ हेक्टरमा रोपाइँ पूरा भएको छ । निर्देशनालयका निर्देशक यज्ञराज जोशीले धेरै क्षेत्रफलको जग्गामा अझँै रोपाइँ गर्न बाँकी रहेको बताउनु भयो ।
प्रदेशमा सबैभन्दा बढी क्षेत्रफलमा धान उत्पादन हुने जिल्लाको रुपमा रहेको कैलालीमा आजसम्म २० प्रतिशत जग्गामा रोपाइँ पूरा भएको छ । यो जिल्लामा ७० हजार ५२० हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको छ ।
यसैगरी धान खेती गरिने कञ्चनपुरको ४८ हजार ४७५ हेक्टरमध्ये २५ प्रतिशत, अछाममा ३०, बाजुरामा ३५, बझाङमा २० प्रतिशत जग्गामा रोपाइँ पूरा भएको छ । बैतडीमा २५ प्रतिशत, दार्चुला र डडेलधुरामा १५÷१५ प्रतिशत र डोटीमा २० प्रतिशत जग्गामा रोपाइँ सकिएको छ ।
डोटीमा १० हजार ७१५, डडेलधुरामा छ हजार १८८, अछाममा १६ हजार ५९०, बाजुरामा सात हजार १७५, दार्चुलामा चार हजार ४८० बैतडीमा नौ हजार र बझाङमा १२ हजार ७०४ हेक्टरमा बर्खे धान खेती हुने गरेको छ । धान उत्पादन बढी हुने कैलाली र कञ्चनपुरबाट पहाडी जिल्लामा आपूर्ति हुने गरेको छ । यो प्रदेशमा धान खेती गरिने जग्गामध्ये ५१ प्रतिशत खेतमा सिँचाइ सुविधा पुगे पनि बाँकी जग्गामा अझै आकासे पानीमा निर्भर रहनु पर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस !