काठमाडौं । लगातारको वर्षा, बाढी र पहिरोमा परेर विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको पुष्टि भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्राकृतिक विपद्को घटनामा परेर २५ जना हराइरहेका छन् ।

मन्त्रालयको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार बिहीबार साँझ पाँच बजेसम्म देशभर मनसुनजन्य घटनामा परेर १२९ भौतिक संरचनाहरु पूर्ण रुपमा क्षतीग्रस्त भएका छन् । केन्द्रका अनुसार वर्षा सँगै सिन्धुपाल्चोकमा हिजो आएको बाढीमा परेर सबैभन्दा धेरै तीन जनाको मृत्यु भएको छ भने १५ जना अझै हराइरहेका छन् । यसैगरी बाढी र पहिरो को घटना परेर बाजुरा, गोरखा, पाल्पा, डोटी, जुम्ला, अर्घाखाँची, कास्की र काभ्रेमा पनि एक–एक जनाको मृत्यु भएको केन्द्रले जनाएको छ । बाढी र पहिरोले मनाङमा सबैभन्दा धेरै भौतिक क्षति पु¥याएको छ । त्यहाँ सडक, बेलिब्रिज, झोलुङ्गे पुल, सामुदायिक भवन तथा सरकारी भवनमा समेत क्षती पुगेको केन्द्रले जानकारी दिएको छ ।

यसैबीच आगामी तिन दिन देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षा जारी रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । सुदूर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ ।

प्रदेश १, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशको केहि भू(भागमा भारि वर्षा हुने सम्भावना रहेकोले सो प्रदेशहरुको पहाडी भू–भागमा पहिरोको जोखिम कायमै रहेको छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । file pic

प्रतिक्रिया दिनुहोस !