गुल्मी ।  लगातार वर्षाका कारण पहिरो खसेपछि गुल्मीको तम्घास–रिडी र रिडी–रुद्रबेणी सडक अवरुद्ध भएको छ । तम्घास–रिडी सडक खण्डअन्तर्गत रेसुङ्गा नगरपालिका—१३ को भगाँरी खोलामा गएराति पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । त्यसैगरी गुल्मीकै रिडी–रुद्रबेणी सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका—२ साँघुरेमा आज बिहान सडक माथिबाट चट्टानसहितको ठूलो पहिरो खसेपछि सडक पनि अवरुद्ध भएको छ ।
अवरुद्ध सडक खुलाउनका लागि स्थानीय नगरपालिका र गाउँपालिकाले पहल गरे पनि पानी परिरहेका कारण पहिरो पन्छाउन समस्या परेको रेसुङ्गा नगरपालिका—१३ का वडाध्यक्ष खुमबहादुर खत्रीले जानकारी दिनुभयो । बिहानैदेखि सडक अवरुद्ध बनेपछि एम्बुलेन्स, निर्माण सामग्री, दूध र खाद्यान्न ओसारपसार गर्ने यातायातका साधनहरु बीच बाटोमै रोकिएका छन् ।
लगातार वर्षाका कारण जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनारा र पहिरोग्रस्त क्षेत्रका बासिन्दालाई सर्तक रहन र सुरक्षित स्थानमा वसोवास गर्न आग्रह गरेको छ । वर्षाका कारण ठाउँठाउँमा ससाना पहिरो खसेको र सडक भत्किएका कारण जिल्लाको इन्द्रेगौंडा–वामीटम्सार, रुद्रबेणी–पुर्तिघाटलगायत एक दर्जनभन्दा बढी सडकहरु समेत अवरुद्ध छन ।

प्रतिक्रिया दिनुहोस !