शिशिर सिंखडा, चितवन । देवीटारबाट अजिङ्गरे गाउँ जाँदा उनको घर झट्ट देखिँदैन । बाटो छेउमै घर भएपनि मकैका केही बोटले छेकिएको सानो घरमा आँखा परेर मेरो मोटरसाइकल अचानक रोकिए । अनि मैले चेपाङ अभियान्ता केपी किरण शर्मालाई बाइकबाट ओर्लन भने । मैले सोचेँ, यो कोही चेपाङकै घर हुनुपर्दछ । घरभित्र को हुनुहुन्छ भनी बोलाउँदा एक वृद्धा महिला देखा परिन् । करिव ६६–६७ वर्षीय महिलाको नाम न्याउरी लाटी चेपाङ भन्दा रहेछन् गाउँलेहरूले । उनलाई आफ्नै नाम पनि थाहा छैन । न आफ्नो जग्गा जमिन छ, न पानी ओत्ने घर नै ।


माथि थाकलले छाएको छानाबाट पानी छेक्नु त कता हो कता पानी बग्ने कुलेसो काटिएको घरभित्र प्रष्टै देखिन्थ्यो । अमृसोले बारेको घरमा ढोका भने रूखका लामा लामा बोक्राहरू थिए । भित्र सानो खोपी जस्तो घर छ भने सोही भित्र एउटा माउ बाख्रा र ३ वटा पाठापाठीको छेउमै उनको सुत्ने काठको टाँड रहेको थियो ।


राम्रोसँग बोली पनि पु¥याउन नसक्ने र कान पनि राम्रोसँग नसुन्ने न्याउरी लाटी चेपाङले हिजो बेलुका केही खाने कुरा नभएर भोकै सुतेको बताइन् । बिहान भने गाउँमा एक मुठी फुको चिउरा पाएर खाएको बताइन् । बेलुकाको लागि भर्खरै टाँकी घाँस टिपेर ल्याएको थाल देखाउँदै उनले भनिन् ।  आज दिउँसोको करिव ३ः३० बजे पुग्दाको दृष्य हो यो । ८-९ वर्ष अगाडि श्रीमानको पनि मृत्यु भएको र साहारा कोही नभएपछि उनी आफैले सो फुसको झुपडी बनाएर बसेको स्थानीयहरू बताउँछन् । बहिनी ज्वाइँको जग्गामा उनी बस्दै आएको स्थानीय नरजङ्ग चेपाङले बताए ।


उनको त्यो अवस्था देखे पछी  चेपाङ अभियान्ता केपी किरण शर्माले आफ्नो गोजीमा रहेको १ सय १० रूपैया दिएर भरे केही किनेर खान अनुरोध गरे, अनि हामी अगाडि बढ्यौ । उनको मात्र होइन, उनलाई त्यहाँ बाँस बस्न दिने बहिनी ज्वाइँ दिल बहादुर चेपाङको घरमा पनि खानेकुरा केही थिएन । हामी उनको घरभित्रै पसेर हे¥यौँ । बिरामी छोरी र परिवार पाल्न समस्यामा परेका दिल बहादुर घरमा भेटिएनन् । बिरामी छोरी राधिका चेपाङले बा आमा च्याउ टिप्न जङ्गल गएको बताइन् ।

उनीहरू मात्र होइन कालिका नगरपालिका वडा नं. ८ अजिङ्गरे गाउँका अधिकाँश मानिसहरू दिउँसो घरमा भेटिएनन् । उनीहरू सधैँजसो च्याउ र गिठ्ठा खोज्न गएको स्थानीय नरजङ्ग चेपाङले बताए । सो गाउँमा ७१ घरधुरी रहेको र करिव सबैजसो घरको अवस्था बिहान बेलुका छाँक टार्ने समस्या भएकोले जङ्गलमा गिठ्ठा, च्याउ खोज्न जाने गरेको अजिङ्गरे टोल विकास संस्थाका अध्यक्ष राजकुमार चेपाङले कालिका दैनिक अनलाइनलाई टेलिफोनमा बताए ।

उनी पनि दिउँसो घरमा नभेटिए पछि गाउँलेसँग टेलिफोन नम्बर मागेर फोन गर्दा उनले भने, आफूपनि च्याउ टिप्न गएको बताउँदै उनले गाउँमा अनिकाल छ, खानेकुरा छैन, लकडाउनले काम गर्न जाने ठाउँ छैन के गर्नु सर ! उनले टेलिफोनमा भने ।


सो गाउँमा सबैजसो घर चेपाङकै रहेको र लकडाउनले गर्दा ज्याला मजदुरी गर्न नपाउँदा उनीहरूको विचल्ली भएको चेपाङ अभियान्ता तथा पत्रकार केपी किरण शर्माले बताए । वर्षभरीमा २–३ महिना मात्र खोरिया बारीको उब्जनीले खान पुग्ने सो गाउँका चेपाङहरू कोरोना कहरका कारण समस्यामा परेकाले देश विदेशमा रहनु हुने सहयोगीदाताहरूले सहयोग गर्न समेत अभियान्ता शर्माले सबैसँग अनुरोध गरे ।

 

प्रतिक्रिया दिनुहोस !