कञ्चनपुर । भीमदत्त नगरपालिका—७ खन्ने खोलामा निर्माण गरिएको झण्डै दुई सय मिटर तटबन्धसंगै बाँध बगेपछि चुरे फेदीका बस्ती जोखिममा परेका छन् ।

चुरे क्षेत्रमा आएको वर्षाका कारण खन्ने खोलाले तीन दिन अघि करिब दुई सय मिटर तटबन्धसंगै बाँध बगाएको हो । खोलामा ढुङ्गा, बालुवा र ग्रेगरले भरिएर तटबन्ध भन्दा अग्लो भएपछि खोला सहजै बस्तीमा छिर्ने अवस्थमा रहेको छ । एक घण्टाको वर्षामै चुरेको खहरे खन्ने खोलामा आएको बाढीले तटबन्धसंगै बाँध भत्काएर लगेको छ । बाढी बस्तीमा छिरे उब्जाउ जग्गा बालुवाले पुरिने चिन्ता स्थानीयवासीको छ ।

विगतमा समेत खोलमा तटबन्ध र बाँध निर्माण नगरिदा उब्जाउ खेत पूरै बालुवाले पुरिँदै जान थालेपछि स्थानीयवासीले बस्तीनै छाडेर पलायन हुन थालेका थिए । त्यसपछि चुरे क्षेत्रको बस्ती जोगाउन विगतमा तीन किलोमिटर तटबन्धसंगै बाँध निर्माण भएपछि बस्तीका बासिन्दा ढुक्कसंग बस्दै आएका हुन् । “बाँध भत्किएपछि खोला पुरानै रुपमा फर्किने चिन्ता छ”, स्थानीयवासी धर्मा भण्डारीले भन्नुभयो, “यस्तै अवस्था रहे तराईको उब्जाउ जग्गा केही वर्षमै बालुवाले पुरिन्छ ।”

घरपालुवा जनावरको चरन क्षेत्रका रुपमा प्रयोग हुनु, काठपातको तस्करी बढ्नु र नदीजन्य पदार्थको उत्खनन् जथाभावी रुपमा हुन थालेपछि केही वर्ष यतादेखि चुरे क्षेत्रमा बाढीको प्रकोप बढन थालेको स्थानीयवासीको भनाइ छ । चुरे क्षेत्रमा अनावश्यक रुपमा भैरहेको मानवीय क्रियाकलपाका कारण तराई क्षेत्रमा बाढीले जग्गा कटान, पटान र डुवानको समस्या निम्त्याउँदै आएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयका प्रध्यापक भुपेन्द्र बिष्टले भन्नुभयो, “चुरे पहाड संवेदनशील क्षेत्र भएकाले त्यहाँको भौगोलिक अवस्थाको अध्ययन अबलोकन नगरिकनै प्राकृतिक बस्तुहरुको उत्खनन् र सङ्कलन गर्ने कार्य रोक्नु पर्छ । वैज्ञानिक विधिबाट मात्रै नदीजन्य पदार्थको निकासी गर्नुपर्छ ।” नदी खोलाको मुहान थुन्ने हिसावले बन्ने भौतिक संरचना निर्माणले समेत विपद्को समस्या निम्त्याउदै आएको उहाँको भनाइ छ ।

“खोलाको दीर्घकालीन व्यवस्थापन नगरे हल्दुखाल, तिलकपुरदेखि महेन्द्रनगर सम्मको बस्तीमा बाढीले प्रभाव पार्छ”, भीमदत्त नगरपालिका—७ का वडाध्यक्ष शङ्कर बहादुर कुवँरले भन्नुभयो, “खोला नियन्त्रणका लागि पहल गर्नु आवश्यक छ । यसका लागि वडाको बजेटले धान्दैन ।”
नगरपालिका, प्रदेश र सङ्घीय सरकारको ध्यान यसतर्फ जानु आवश्यक रहेको उहाँको भनाइ छ । उहाँका अनुसार भत्किएको बाँधको मर्मत कार्य शुरु गरिएको छ । नगरपालिकाले स्काभेटर र प्राविधिकको टोली पठाइ खोलाका बोल्डर हटाउने कार्य भैरहेको छ । “रोकथामको प्रयास भैरहेको छ”, उहाँले भन्नुभयो, “स्थायी तटबन्ध निर्माणका लागि महाकाली सिचाई तेश्रो चरणका कार्यालय प्रमुखले खोलाको अनुगमन पश्चात रु ५० लाखको बजेट छुटयाई यसै महिनाबाट ठेक्का प्रक्रियाको काम अगाडि बढाउने अश्वासन दिएको छ ।”

खन्ने खोला नियन्त्रणको प्रयास नगरिए महाकाली तेश्रोचरणको नहरका संरचनामा समेत प्रभाव पार्ने देखिएको छ । महाकाली सिँचाई तेस्रो चरणका कार्यालय प्रमुख रणबहादुर बमले चुरे पहाडका खोला नदीमा आउने बाढीका कारण नहर संरचनामा समेत जोखिममा परेको बताउनुभयो । तत्कालै तटबन्ध निर्माणका लागि कार्य अगाडी बढाइने उहाँको भनाइ छ । चुरे क्षेत्र भएर बग्ने नदीहरु तराईको जलाधारको प्रमुख आधारका रुपमा रहेका छन् ।

चुरे भएर बग्ने खन्याखोला, कामीकाँटे खोला, रौटेला खोला, मुसेपानी खोला, सुनवरा नदी, झरना खोला, दोदा नदी, स्याली नदी, पथरैया नदी र बल्मालगायत नदीले वर्सेनि तराईमा भू—क्षय, डुवान र चुरे नजिकका बस्तीमा बालुवा ढुङ्गाले जग्गा पुरेर बगरमा परिणत गर्दै आएको छ । चुरे क्षेत्रको विनास नरोकिए अन्नको भण्डार भनिने तराई क्षेत्र बगरमा परिणत भै भोकमरीको समस्या निम्तीने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस !