काठमाडौं। वीर अस्पतालको नयाँ सर्जिकल भवनमा कोरोना संक्रमितको उपचार सुरु गरिएको छ । सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल घोषणा गरेसँगै नयाँ भवनमा आजदेखि बिरामी भर्ना गरेर उपचार दिन थालिएको कोरोना युनिफाइड अस्पतालका प्रमुख प्रशासकिय अधिकारी प्रा। डा। जागेश्वर गौतमले जानकारी दिनुभयो ।

आजबाट सञ्चालनमा आएको नयाँ भवनमा ५० शैय्या संचालनमा ल्याइएको उहाँले सुनाउनुभयो । त्यस्तै उहाँले नयाँ भवनमा अक्सिजन व्यवस्थापनका लागि अक्सिजन सिलिण्डर र लिक्विड अक्सिजनको व्यवस्था गरिएको बताउनुभयो । तर अक्सिजन प्लान्ट नयाँ भवनमा नभएकाले हाललाई कम अक्सिजन आवश्यक पर्ने बिरामीलाई मात्र राखिएको डा। गौतमले जानकारी दिनुभयो ।

‘वीर अस्पतालको पुरानो भवनमा त पहिला पनि बिरामीहरु थिए, म आएपछि आजदेखि नयाँ भवनमा ५० बेड सञ्चालन गरेर बिरामीको उपचार सुरु गरिएको छ,’ डा। गौतमले भन्नुभयो, ‘बिरामीहरु नयाँ भवनमा भर्ना भइसके, अहिलेलाई कम अक्सिजन आवश्यक पर्ने बिरामीलाई राखेका छौं।’ केहीदिनभित्रै सो भवनमा १०० बेड सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँको भनाइ छ।

बिरामीको चाप र आवश्यकता अनुसार ५०० बेड नै सञ्चालन गर्न पनि तयारी अवस्था रहेको भन्दै डा। गौतमले अक्सिजन प्लान्टको व्यवस्थापन गर्ने तयारी गरेको जानकारी दिनुभयो । नयाँ भवनमा बिरामीको उपचार तथा केयरमा खटाउन वीर अस्पतालले आवदेन माग गरेको मध्येबाट १५ जना नयाँ नर्सिङ स्टाफलाई बोलाइएको र थप जनशक्ति अस्पतालमै भएका जनशक्तिबाट व्यवस्थापन गरिएको डा। गौतमको भनाइ छ। कोरोना संक्रमितको चाप बढ्दै गएपछि सरकारले वैशाखमा वीर अस्पतालको नयाँ सर्जिकल भवनलाई कोरोना युनिफाइड अस्पतालको रुपमा घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस !