पोखरा ।  गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले विश्वशान्ति र मानवकल्याणका लागि गौतम बुद्धका उपदेश अनुकरणीय रहेको बताउनुभएको छ । दुई हजार ५६५ औंँ बुद्धजयन्तीका अवसरमा दिनुभएको शुभकामना सन्देशमा प्रमुख पौडेलले सम्पूर्णको सुख, शान्ति र समृद्धिको कामना गर्दै शाक्यमुनि बुद्धले अंगीकार गरेको शान्ति, अहिंसा र मानवकल्याणको मार्ग अनुसरण गर्न सके मानिस दुःखी हुन नपर्ने विचार व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशमा नेपाली भूूूमिमा जन्म लिनुभएका राष्ट्रिय विभूति गौतमबुद्ध नेपालका मात्रै नभई महामानवका रुपमा विश्वकै प्रेरणाको स्रोत भएको उल्लेख गर्दै उहाँले देखाउनुभएको शान्ति, अहिंसा र मानव कल्याणका मार्गमा लाग्न तथा सकारात्मक सोचको विकास गर्न आग्रह गरिएको छ । आज कोरोना भाइरसको विश्व महामारीसँग जुधिरहेका हामी सबैलाई धैर्य गरेर आत्मबल उच्च बनाउने प्रेरणा बुद्धको दुःखसम्बन्धी चतुर्आर्य सिद्धान्तले दिने सन्देशमा जनाइएको छ ।
प्रदेश प्रमुखले आजकै दिन परेको किराँत राई, याक्खा, सुनवार र लिम्बू समुदायको प्रमुख पर्व उभौली पर्व तथा चण्डीपूर्णिमाका अवसरमा पनि सम्पूर्णमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । कोभिड –१९ को संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गरेर धर्म, संस्कार संस्कृति र चाडपर्व मनाउन पनि प्रदेश प्रमुख पौडेलले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !