धनुषा ।  “छोराछोरी पाल्नुपर्ने बाध्यता छ, अहिलेसम्म घरमा केही बचत थियो, खायौँ अब आउने दिनमा जीवन कसरी चलाउनु रु”, भावुक भएर दैनिक ज्याला मजदूरी गरी गुजारा गर्दै आएकी क्षीरेश्वरनाथ नगरपालिका–३ की मानकीदेवी सदाले दुःख सुनाउनुभयो ।

गाडीमा मालसामान सामग्री ओसारपोसार गर्ने काम गर्ने गरेकाले परिवार पाल्न सजिलो हुँदै आए पनि अहिले समस्या भएको महेन्द्रनगरका वीरेन्द्र सिंहले सुनाउनुभयो । “काम नपाएको १५ दिन बितिसक्यो, अब खानकै पीरले चिन्ता थपिएको छ”, उहाँले दुःख पोख्नुभयो । सिंहले मालसमान बोक्ने सानो पिकअप गाडी चलाउने काम गर्नुहुन्छ ।

“निषेधाज्ञाले काम गर्न पाइएको छैन, दाउरा बेचेर गुजरा चलाएका छौँ”, महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका इखबहादुर दर्नालले भन्नुभयोे, “खेती गरौँ भने जग्गा छैन, जङ्गलबाट दाउरा काटेर बेच्दैछु, राहत बाँड्न पनि कोही आएनन्, अब त रोगले भन्दा पनि भोकले मर्ने अवस्था आयो ।” उहाँले बाहिर काम गर्ने छोराहरु लकडाउनले घरमै बसेर दिन बिताउनुपर्ने भएको हुँदा छाक टार्न समस्या भएको बताउनुभयो ।

निषेधाज्ञाका कारण सरकारी तथा गैरसकारी कार्यालयदेखि होटेल, पसल सबै पूर्णरुपमा बन्द छन् । आर्थिक कारोबार ठप्प मात्र छैन, देशको अर्थतन्त्रमा समेत असर परेको छ । समग्रमा कोरोना सङ्क्रमणले थलिएको विश्वमा नै आर्थिक गतिविधिमा व्यापक ह्रास आएको छ । धनुषा र महोत्तरीको हकमा बिहान ६ः०० देखि ९ः०० बजे सम्म तीन घण्टा दैनिक उपभोग्य सामानका पसल सञ्चालन गर्न दिइएको छ । त्यो पनि व्यापारीले फाटफुटरुपमा मात्र खुला गर्ने गरेका छन् । धनुषामा गत वैशाख २१ र महोत्तरीमा २२ गतेदेखि सम्पूर्ण कामकाज तथा व्यापार–व्यवसाय निषेधाज्ञाका कारण ठप्प छ । त्यसको प्रत्यक्ष मारमा दैनिक ज्याला मजदूरी गर्ने परेका छन् ।

दैनिक रुपमा ज्याला मजदूरी गरी खानेका लागि निषेधाज्ञाले सङ्कट नै सिर्जना गरेको छ । कोरोनाको त्रास एकातिर छ भने अर्कातिर उनीहरु खानबस्नको समस्याले तनावमा छन् । कोरोनाको दोस्रो लहरले दिनदिनै सङ्क्रमणमा वृद्धि भएर सबैतिर त्रास छ । दैनिकजसो सयाँैले ज्यान गुमाइरहेका छन् । त्यसकै जोखिम घटाउन सरकारले निषेधाज्ञा लम्ब्याइरहेको छ ।

खेती किसानी गर्ने, व्यापार व्यवसायमा संलग्नका लागि थप आम्दानी र कारोबारमा मात्र समस्या छ तर ज्याला मजदूरी गर्नेका हकमा भने साँझबिहान के खाने भन्नेमै चिन्ता छ । भारी बोकेमात्र पेट भर्ने मजदूरका लागि रोगको सङ्क्रमणभन्दा भोककै अभावबारे चिन्ता लाग्ने गरेको मजदूरहरुको दुःखेसो छ ।

यस्तो छाक टार्ने समस्या जनकपुरधाम, महेन्द्रनगर, ढल्केवर, बर्दिबाससहितका बजारमा ज्याला मजदूरी गर्नेको साझा समस्या हो । उनीहरुका लागि आफूमात्र पालिनुपर्ने अवस्था छैन । आफूसँगै सन्तान र परिवारको पनि जिम्मा छ । “श्रीमान् प्रदेशमा छन्, साथमा भएका बालबच्चा पाल्नुपर्ने जिम्मेवारी छ, दुःख कसलाई सुनाउनु”, मिथिला नगरपालिका–२ नक्टाझिजकी लक्ष्मीमाया परियारले भन्नुभयो ।

बजारमा डेरा गरी बस्दाको समस्या मजदूरलाई झन् बढी छ । बस्नदेखि खान समस्या सबै ज्याला मजदूरी गर्नेका साझा छन् । गाडी बन्द छन्, पसल खोल्दैनन्, भारी बोक्न पाइँदैन, निर्माणका काम रोकिएका छन् । आफूका बारे सरकारले केही नसोचेको गुनासो क्षीरेश्वरनाथ नपा–४ चन्द्रपुरकी जरिना खातुनको छ । क्षीरेश्वरनाथ–५ को मुख्य बजार महेन्द्रनगरमै भारी भोकेरै परिवार पाल्ने जरिनाले कोरोनाभन्दा काम नपाएकामा चिन्ता बढी रहेको बताउनुभयो ।

मिथिला नगरपालिका–६ ढल्केवरका रामसरोज महराले महामारी छल्न जारी निषेधाज्ञाले बजार बन्द हुँदा कतै निस्कने अवस्था नभएको र घरमा अन्नपात रित्तिँदै गएपछि पीरलो बढेकोे चिन्ता गर्नुभयो । शारीरिक श्रम गरेर छाक टार्दै आएका ज्यालादार मजदूर घरमै थन्किएका छन् । कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेपछि यहाँका गरीब बस्तीमा गुजाराको सङ्कट बढेको छ ।

सामुदायिक विकास पैरवी मञ्चका फिल्ड कोर्डिनेटर तथा समाजशास्त्री नीलबहादुर लुम्रेले भन्नुभयो, “प्रचण्ड गर्मी छ, त्यसमाथि भोकले सताउँछ, त्यसैले ज्याला मजदूरी गर्नेका हकमा भने राहत अति जरुरी हो ।” उहाँले स्थानीय तहले आफ्ना नागरिक कुन अवस्थामा छन्, तथ्याङ्क सङ्कलन गरेर अवस्था पहिचान गरी राहत दिन सके केही हदसम्म समस्या हल हुन सक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !