दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज निरीक्षण गर्नुभएको छ । उहाँले कोभिडको महामारीमा उच्च मनोबलका साथ काम गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो ।

उहाँले आइसियुसहितको सेवा सञ्चालनमा आएमा प्रतिष्ठान सबै हिसाबले बलियो हुने र उपचारका लागि दाङसहित राप्तीवासी बुटवल जानुपर्ने बाध्यताको अन्त्य हुने भएकाले अस्पतालको सबै हिसाबले विकास गर्नुपर्ने बताउनुभयो । उहाँले अब आउने बजेट कोभिड नियन्त्रण केन्द्रित हुने र प्रदेश सरकारले प्रतिष्ठानको बजेटका लागि सहयोग गर्ने जनाउनुभयो ।

मन्त्री श्रेष्ठले कोभिडको महामारीमा प्रतिष्ठानले कोभिड र अन्य बिरामीको उपचार गरेकामा प्रतिष्ठानका उपकुलपति प्राडा सङ्गीता भण्डारीलाई धन्यवादसमेत दिनुभयो । उहाँले आइसियु, इमरजेन्सी, कोभिड आइसोलेशन कक्षलगायतको निरीक्षण गर्दै १० श्ययाको भेन्टिलेटरसहितको आइसियु तत्काल सञ्चालन गर्न आग्रह गर्नुभयो ।

त्यस अवसरमा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा भण्डारीले कोभिडको महामारीमा गरिरहेको काम र प्रगतिबारे जानकारी गराउनुभयो । उहाँले अक्सिजन प्लान्ट जोड्ने काम तीव्र गतिका साथ भइरहेको र अक्सिजन प्लान्ट जडान भई सञ्चालनमा आएपछि आइसियुका बिरामीले पाइपलाइनबाट अक्सिजन पाउने बताउनुभयो । प्रदेश स्वास्थ्य सचिव डा विकास देवकोटाले बजेटको कुनै चिन्ता नलिन आग्रह गर्दै जतिसक्दो चाँडो अस्पतालमा आइसियु सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो ।

सो अवसरमा प्रतिष्ठानका कामु रेक्टर डा सागर पन्थी, डिन डा वसन्त लामिछाने, घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी लगायतको सहभागिता रहेको थियो । यसअघि हिजो स्वास्थ्यमन्त्री श्रेष्ठले तुलसीपुर उमहानगरपालिका–८ मा रहेको मेट्रो आइसोलेशन अस्पतालको पनि निरीक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !