फुङ्लिङ। दुई छिमेकी राष्ट्र जोड्ने राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ इलाडाँडा पुगेर निर्माण कार्य स्थगित भएको छ । कोभिडका कारणले आवश्यक सामग्री ढुवानी गर्न समस्या भएकाले गत हप्तादेखि स्थगित गरिएको हो ।

कोभिड—१९को सङ्क्रमणका कारण निषेधाज्ञा लागु भएपछि कोरिडोरको काम गर्न आवश्यक सामग्री ल्याउन नसकिएकाले निर्माण कार्य स्थगित गरिएको एलाइट निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले बताउनुभयो । सात वटा स्काभेटरले ट्र्याक खोल्ने कार्य गर्दै आएकामा बिर्तामोडदेखि निषेधाज्ञाका समयमा डिजेल ढुवानी गर्न समस्या भएपछि स्थगित गर्नुपरेको निर्माण कम्पनीले जनाएको छ ।

चीनसँग सडक सञ्जाल जोड्न चार किमी बाँकी

तमोर करिडोरले छिमेकी दुई देश चीन र भारतलाई जोड्ने छ । यस करिडोरमा चार किलोमिटर ट्र्याक खुल्न बाँकी रहेको उत्तर–दक्षिण लोक मार्गका सूचना अधिकारी तथा इन्जिनियर माधव पौडेलले बताउनुभयो । विस्फोटक पदार्थको प्रयोगले कडा चट्टान फोरेर ट्र्याक खोलिएको छ । अब कडा पहाड खोल्नु पर्ने धेरै कार्य नभएको कम्पनीका प्रतिनिधि लामिछानेले बताउनुभयो ।

सबै प्रक्रिया पूरा गरेर आगामी असार मसान्तअगाडि नै चीनसँग सडक सञ्जालले जोड्न लक्ष्य रहेको तर कोभिडले असर गरेको इन्जिनियर पौडेलले बताउनुभयो । चीनदेखि ओलाङचुङ्गोला हुँदै गैरीपाटीसम्म ३५ किलोमिटर लम्बाइ ट्र्याक खुलिसकेको छ । गैरीपाटीदेखि इला डाँडासम्म ४ किलोमिटर दूरी ट्र्याक खुल्न बाँकी रहेको हो ।

सुनसरीको चतारादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर र ताप्लेजुङ जिल्लाको फक्ताङ्लुङ–७ ओलाङचुङ्गोला हुँदै प्रत्यक्ष चीनसँग सडक सञ्जालले जोड्ने आयोजना अहिले इला डाँडामा क्षेत्रमा पुगेर रोकिएको हो । तीन सय १४ किलोमिटर सडकले छिमेकी मुलुक भारत र चीन प्रत्यक्ष सडक सञ्जालले जोडिने पौडेलले बताउनुभयो ।

चीन र नेपालको सीमा टिप्ताला नाका जोड्ने तमोर कोरिडोरको ट्र्याक निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको हो । यो सडक खण्डमा विभिन्न आकारका १० वटा मोटरेबल पुल निर्माण हुनेछन् । विसं २०६५ मा सडक निर्माण सुरु गरिएको थियो । त्यतिखेर यो सडक उपभोक्ता समिति गठन गरी निर्माण थालिएको थियो । विसं २०६७ मा यो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषित गरी निर्माण अघि बढाइएको थियो ।

भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडकका रूपमा तमोर कोरिडोरलाई विकास गर्न लागिएको हो । यो सडक निर्माण गर्न अहिलेसम्म रु ४० करोड १९ लाख ७१ हजार खर्च भएको आयोजनाले जनाएको छ । यो सडक निर्माण सम्पन्न भएपछि भारततर्फ जोगबनी नाका र चीनतर्फ तिब्बतस्थित रियु व्यापारिक केन्द्रसँग नेपाल जोडिने छ ।रासस

प्रतिक्रिया दिनुहोस !