बझाङ । बझाङको साईपाल गाउँपालिकाले यार्सा सङ्कलन क्षेत्रमा प्रवेश भएका सङ्कलकहरूलाई निःशुल्क स्वास्थ्य सेवा तथा औषधी वितरण गरिएको छ ।
साईपाल गाउँपालिकाको स्वास्थ्य शाखाले यार्सा सङ्कलन क्षेत्र राईढुंगी, माँझा, औलागाड लगायतका ठाउँहरूमा रहेका यार्सा सङ्कलक, अस्थायी होटेल व्यवसायी तथा भेडा बाख्रा व्यवसायीहरूलाई निःशुल्क स्वास्थ्य उपचार तथा औषधी वितरण गरेको काँडा स्वास्थ्य चौकीका अहेव लोकेन्द्र जेठाराले बताउनु भयो । उहाँले भन्नुभयो “यार्सा सङ्कलन क्षेत्रमा चिसोका कारण ज्वरो आउने, रुगाखोकी लाग्ने, लेक लाग्ने, ग्यास्ट्रिक हुने, हाड जोर्नी दुख्ने जस्ता समस्या भएका बिरामीहरू देखिएका छन् । गाउँपालिकाबाट खटिगएको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य समस्या देखिएका बिरामीहरूका लागी निःशुल्क औषधी तथा स्वास्थ्य परामर्श सेवा दिएका छौ । ”
स्वास्थ्यकर्मीको टोलीले यार्सा सङ्कलन क्षेत्रमा रहेका प्रत्येक पालमा गएर स्वास्थ्य उपचारका साथै निःशुल्क औषधी वितरण गरेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले निःशुल्क स्वास्थ्य परामर्श तथा औषधी वितरण गर्न स्वास्थ्यकर्मीहरूको टोली खटाएर राम्रो काम गरेको मष्टा गाउँपालिकाबाट यार्सा सङ्कलन गर्न औलागाड पुगेका यार्सा सङ्कलक खगेन्द्र बोहोराले बताउनु भयो । उहाँले भन्नुभयो “दिनानुदिन हिमपात भइरहेको छ । यार्सा सङ्कलन क्षेत्रमा फोहोर पानी खानुपर्ने बाध्यता छ । कहिले काहीँ त खाना पनि राम्ररी नपाकेरै खान्छौ । कहिल्यै हप्ता दिनसम्म पखाला चलेर पालमै बस्नुपर्ने बाध्यता हुन्छ । गाउँपालिकाले निःशुल्क स्वास्थ्य जाँच तथा औषधी वितरण गरेर आफूहरूलाई ठुलो राहत भएको छ ।”
साईपालको दोदलेमा भेडा बाख्रा चराउँदै आएकी विस्ना थापाले आफ्नो खुट्टा दुखेको र त्यसको उपचार तथा मलमको लागी स्वास्थ्य चौकी तथा सदरमुकाम धाउनु पर्ने अवस्थामा औषधीसहित डाक्टर लेकको पालमै आउँदा भगवान् आएको अनुभूति भएको बताउनु भयो ।
हिमाली क्षेत्रमा यार्सा सङ्कलन तथा अन्य व्यवसायी गर्ने मध्ये ७ जनाको हाड जोर्नी दुख्ने, ११ जनाको टाउको दुख्ने, र अरू सामान्य ज्वरो आएका बिरामी गरी जम्मा १५० पालमा स्वास्थ्य परामर्श तथा निःशुल्क औषधी वितरण गरेको साईपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !