काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदलको बैठक शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको बिषयमा माधव नेपाल समुहका सदस्यहरुकै दुईथरी मत आएपछि मुख्य एजेण्डामा छलफल नै नभई टुंगिएको छ ।सिंहदरवारमा करीव डेढ घण्टाको छलफल पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन आफ्नै सांसदले हस्ताक्षर गरेको बिषयमा कुरा उठेपछि त्यसैमा केन्द्रित रहेको मुख्य एजेण्डामा प्रवेश नै नगरी बैठक स्थगित भएको हो । बैठकपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार आजको छलफलमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्टले देउवालाई प्रधानमन्त्री बनाउन आफूहरुले हस्ताक्षर नगरेको जानकारी गराउनु भएको थियो । अर्का नेता भीम रावलले भने संसद विघटन रोक्नका लागि हस्ताक्षर गरिएको जवाफ दिनुभएको थियो ।

‘शेरबहादुरलाई प्रधानमन्त्री नबनाई संसद विघटन रोक्न नसकिने भइयो, त्यसैले हस्ताक्षर गरेका हौं । प्रधानमन्त्रीको नियत संसद विघटन गर्ने देखियो र उहाँको नियत पार्टी एकताको पक्षमा पनि देखिएन’ भन्दै रावलले हस्ताक्षर गरेको बताइ रहँदा तीन नेताले भने कडा आफूहरुले हस्ताक्षर नगरेको, पुरानो हस्ताक्षर पनि प्रयोग नगर्न माधव नेपाललाई भनेको जानकारी दिनुभएको हो । नेता नेम्वाङका अनुसार बैठकमा यिनै बिषयमा छलफल भएपछि आपसी समझदारीमा अर्काे बैठक बस्ने गरी आजको बैठक टुंगिएको छ ।

माधव नेपाल विपक्षी गठबन्धनमा लागिसकेको र नेपाल पक्षका कतिपय सांसदले हस्ताक्षर दुरुपयोग भयो भनिरहेको सन्दर्भमा अब वार्ता टोलीको अर्को बैठक नबसी भंग हुन सक्ने सम्भावना पनि रहेको छ । माधव आफै एमालेमा एकता भन्दा कांग्रेस–माओवादीतिरै जान लालायित बनेको निश्कर्ष संस्थापनको रहेको छ । आजको घटनापछि उहाँको समुहमा रहेको प्रभावशाली नेता पनि नेपालसँग साथ रहने अवस्था देखिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस !