दैलेख । दैलेखमा पुष्पलाल मध्य पहाडी राजमार्ग अन्तर्गत लोहोरेदेखि दैलेख सदरमुकाम दैलेख बजार खण्डको १० किलोमिटर सडकको काम तिव्र पारिएको छ ।

दैलेखमा विगत दुई सतादेखि निषेधाज्ञा लागु गरिएको भए पनि ठुला विकासे कामहरू निरन्तर सञ्चालनमा छन् ।

दैलेखको भाग्य र भविष्य सँग जोडिएको मध्य पहाडी पुष्पलाल राजमार्ग निर्माणका लागि सामाजिक दुरी कायम गरेर सुरक्षित रूपमा काम सञ्चालन गर्न स्थानीय प्रशासनले निर्माण कम्पनीलाई आग्रह गरेको थियो ।

शर्मा हिमाल निर्माण कम्पनीले जिम्मा लिएको लोहोरे-दैलेख १० किलोमिटर सडक २०७९ सम्म कालोपत्रे गरिसक्नुपर्ने सम्झौता छ ।

जेठ महिनाभित्र सडकको वाल निर्माण, ग्याविन निर्माण र नाली व्यवस्थापनसँगै कालोपत्रेका लागि सडक ग्राभेल गर्ने गरी काम तिव्र पारिएको निर्माण कम्पनीका शम्भु ठकुरीले जानकारी दिनुभएको छ ।

लामो समयदेखि बन्द भएको सडक निर्माणको काम धमाधम सुरु हुन थालेपछि जिल्लाका उद्योगीहरु निकै खुसी देखिएका दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुलबहादुर बि.क.ले जानकारी दिनुभएको छ ।

मध्यपहाडी सञ्चालन भए दैलेखको मुहार परिवर्तन हुने, आन्तरिक र बाह्य पर्यटन प्रर्वद्धन हुने र व्यापार व्यवसाय बढ्ने बिकले बताउनुभयो ।

गृह जिल्लाकै सिडिओको पहलमा फेरिँदै जिल्लाको मुहार

संघीयता पछि अधिकांश जिल्ला सदरमुकामको व्यापार व्यवसाय समस्यामा पर्दै आएको थियो । पालिका पालिकामा बजार क्षेत्रहरु बिस्तार भएसँगै दैलेख सदरमुकामको अवस्था पनि चिन्ताजनक बन्दै गएको भन्दै व्यापारीहरु सदरमुकामका जग्गा र घर बिक्री गरेर पायक पर्ने स्थानमा हिँड्न सुरु गरिसकेका थिए ।

सदरमुकाम र जिल्लाको मुहार परिवर्तन गर्ने गौरवको मध्य पहाडी आयोजना जिल्ला सदरमुकाम हुँदै जाने भन्ने विषय उठान मात्र भएकाले केही हदसम्म राहत हुने आशा गरेका व्यापारिहरु निराश बनेका थिए । एकपछि अर्को गर्दै विवाद चुलिँदै गएपछि राजमार्ग सदरमुकामबाट जाँदैन कि भन्ने आशङ्का अहिले समाधान भएको दैलेख उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष शान्ति शर्माले बताउनुभएको छ ।

पछिल्लो पटक तय गरिएको लोहोरे, दैलेख सदरमुकाम, रामपुर काँडाचौर हुँदै जाजरकोटको सडक खण्डमा धेरै विवाद थियो ।

हालका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल संघीयता अघि स्थानीय विकास अधिकारीको रूपमा जिल्ला विकास समितिमा आएको बेलामा विवाद समाधानका धेरै कुराहरु अघि बढे, विशेष गरेर किमुगाउँ, रामपुर हुँदै आर्मिक्याम्प र भूर्तीमा देखिएका समस्या समाधानमा जिल्लाका व्यापारी, राजनीतिक दल, लगायतले एकमत जाहेर गरेर न्यूनतम दश मिटर सडक दिने समझदारी कायम भयो, काम गर्दा गर्दै प्याकुरेलको सरुवा भयो, सडक निर्माणको टेन्डर खोलिएपनि काम हुन नसकेको सदरमुकामको खण्डमा हरि प्याकुरेलले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेर गृह जिल्ला आउने बित्तिकै कामले तीव्रता लिएको छ ।

अधिकांश विवाद भएका स्थानहरूमा मुआब्जा वितरण लगायतका काम सम्पन्न भएका छन् । काम सुरु भएको छ ।

जिल्लाका ठुला विकास निर्माणको महत्त्वपूर्ण आयोजनाको काम यो वा त्यो बहानामा रोक्न नपाइने भन्दै आम नागरिक, स्थानीय पालिका सबैसँग समन्वय गरेर अहिले काम सुरु भएको हरि प्याकुरेलले जानकारी दिएका छन् ।

आयोजनाद्वारा अनुगमन तिव्र

पुष्पलाल मध्य पहाडी राजमार्ग निर्माणको आयोजना कार्यालय पनि दैलेख जिल्लामै स्थापना भएको छ ।

जिल्लामै कार्यालय भएका कारण आयोजनाले अनुगमनलाई तीव्र पारेको छ । समस्या भएका स्थानहरूमा तत्काल आफूहरू पुगेर समस्या समाधानका लागि पहल गरेको आयोजनाका प्रमुख अर्जुन वमले जानकारी दिएका छन् ।

स्थानीय प्रशासन, राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज सबैको सहयोगले सडक निर्माणमा सहजता भएको वमले जानकारी दिनुभएको छ ।

दैलेख जिल्लाभर १ सय २५ किलोमिटर मध्य पहाडी राजमार्ग पर्दछ । करिब १८ किलोमिटर सडक कालोपत्रे भैसकेको छ । बाँकी स्थानहरूमा धमाधम काम सुरु गरिएको वमको भनाई छ ।

दैलेखका विभिन्न खण्डहरुमा कामको जिम्मेवारी लिएका १० वटा निर्माण कम्पनीहरू मार्फत ४ अर्ब बढी रकमको ठेक्का स्वीकृत सँगै कामलाई तीव्र पारिएको छ ।

प्रतिक्रिया दिनुहोस !