पोखरा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गरेका छन् । मन्त्रीहरू पुरानै अनुहारका छन् ।

 

पुनर्नियुक्त भएकामध्ये किरण गुरुङको मात्रै आर्थिक तथा मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । बाँकी रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनमगरको जिम्मेवारी भने तोकिएको छैन । उनीहरूलाई मुख्यमन्त्री गुरुङको उपस्थितिमा प्रदेश प्रमुख सीता पौडेलले सपथ ग्रहण गराएकी हुन् । आजै बस्ने मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड गर्ने स्रोतले जानकारी दिएको छ ।

पुनर्नियुक्त भएका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ भने सपथमा सहभागी भएनन् । उनी कामविशेषले जिल्लाबाहिर भएकाले सपथग्रहण कार्यक्रममा सहभागी हुन नपाउने बिहानै मुख्यमन्त्री गुरुङलाई जानकारी दिएको बताइएको छ ।

८ मन्त्रालय भएको प्रदेशमा १० मन्त्रालय बनाउने र विपक्षीलाई समेत समेट्ने गरी अगाडि बढ्ने मुख्यमन्त्रीको योजना छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाउने तयारी रहेको मुख्यमन्त्री सचिवालय स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !