चितवन । निषेधाज्ञाको मौका छोपी भारतबाट अवैध धानको बिउ नेपाल ल्याइएको छ । नेपालमा बिक्रि वितरण गर्न स्वीकृत नभएको गोरखनाथ–५०९ धानको बिउ चितवनबाट जफत गरिएको छ । गोप्य सूचनाका आधारमा कृषि ज्ञान केन्द्र चितवनले प्रशासनको सहयोगमा नारायणगढको कमलनगरबाट ३२४ बोरा धानको बिउसहितको ट्रक नियन्त्रणमा लिएको हो । कमलनगरस्थित स्वस्तिका ट्रान्सपोर्ट कम्पनीको शाखामा अनलोड गरिएको ४९ बोरा धानको बिउ पनि जफत गरिएको छ ।
ट्रकमा राखिएको २७५ बोरा धानको बिउलाई ट्रकसहित जफत गरेर जिल्ला प्रशासन कार्यालयमा लगिएको छ । २७५ बोरा रहेको ट्रकमा केही बोरा लोकनाथ धानको पनि बिउ रहेको पाइएकाले गोरखनाथ कति छ भन्ने अनुसन्धान भइरहेको र गनेपछि थाहा हुने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिए । सो धानको बिउ चितवन, बुटवल र दाङका लागि पठाइएको पाइएको उनले बताए ।
बिउ बिजन समितिले सुचिकृत नगरेको धानको बिउ नेपाल भित्र्याउनु गैह्रकानुनी काम भएकाले जफत गरिएको प्रमुख ढकालले जानकारी दिए । गोरखनाथ धानको बिउलाई नेपाल बिउ बिजन समितिले सुचिकृत गरेको छैन । गतवर्षबाट समितिले यो धानको बिउलाई सुचिकृतबाट हटाएको हो । कोशी अर्गानिक मल, बिराटनगरले स्वस्तिका ट्रान्सपोर्ट कम्पनीमार्फत विभिन्न जिल्लाका लागि गोरखनाथ धानको बिउ पठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ढकालले जनाए । उक्त धान के कसरी नेपाल भित्र्याइयो र चितवन पठाइयो भन्नेबारे विस्तृत अध्ययन हुने र यस कार्यमा संलग्न सबैलाई कानुन अनुसार कारवाही गरिने ढकालले बताए ।
गैह्र कानुनीरुपमा सुचिकृत नगरिएको धान भित्रिँदा नेपालमा किसानहरुले दुःख पाउने गरेका छन् । गतवर्ष पनि पूर्वि चितवनमा किसानले गरिमा धान लगाउँदा धान पसाएको थिएन । पुनः यस्तो नहोस् भन्न नागरिकहरु धेरै सचेत हुनुपर्ने र काहीँकतै सुचिकृत नगरिएका धानको बिउ बेचिएको पाइएमा प्रहरी तथा कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्न ढकालले आग्रह गरेका छन् । ढकालले सुचिकृत नगरिएका धानको बिउ नलगाउन सबैलाई आग्रह गरेका छन् । चितवनमा २७ हजार ३०० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस !