शिशिर सिंखडा, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनद्वारा आज दासढुंगामा मदन–आश्रित प्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । तत्कालिन नेकपा (एमाले) का महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८औ स्मृति दिवसको अबसरमा श्रद्धाञ्जली व्यक्त गरिएको हो ।


कोरोना कहरका कारण दासढुंगामा औपचारिक कार्यक्रम नभए पनि उहाँहरुप्रति श्रद्धाञ्जली गरिएको नेकपा एमााले चितवनकि अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो । आज बिहान भरतपुर महानगरपालिका वडा नं.२९ स्थित दासढुंगामा रहेको नेताद्वयको शालिकमा माल्यार्पण गर्नुको साथै एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।


कोभिड कहरका कारण औपचारिक कार्यक्रम गर्न नसकिए पनि नेताहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिएको नेकपा (एमाले) चितवनकी अध्यक्ष रावलले बताउनुभयो । उहाँका अनुसार न्यून संख्यामा पार्टीका नेता तथा जनप्रतिनिधिको उपस्थितिमा श्रद्धाञ्जली व्यक्त गरिएको हो । सो अबसरमा नेकपा (एमाले) का केन्द्रीय सदस्य, बागमती प्रदेश सह इन्चार्ज तथा चितवन जिल्ला इन्चार्ज काशीनाथ अधिकारी, केन्द्रीय सदस्य तथा चितवन जिल्ला सह इन्चार्ज कपिल पोख्रेल, बागमती प्रदेश कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रदेश सांसद बिजय सुवेदी, जिल्ला अध्यक्ष पार्वती रावल, सचिव प्रकाश खनाल, राप्ती नगर पालिकाकी मेयर प्रभा बराल, एमाले कालिकाका सचिब शुदर्शन अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सह संयोजक शिशिर सिंखडा लगायतको उपस्थिति रहेको थियो ।


यसैगरी मदन भण्डारी फाउण्डेशन चितवनले पनि श्रद्धाञ्जली व्यक्त गरेको छ । फाउण्डेशनका बरिष्ठ उपाध्यक्ष शम्भु सुवेदी, प्रदेश कमिटी सदस्य शान्ति अधिकारी, जिल्ला सहसचिव तिलक रिमाल लगायतको उपस्थितिमा नेताद्वयको शालिकमा माल्यार्पण गर्नुका साथै एक मिनेट मौनधारण गरिएको थियो ।


बि.सं. २०५० साल जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुंगामा रहस्यमय रुपमा दुर्घटना भएको थियो । आश्रितको शव दासढुंगास्थित त्रिशुली नदीमा फेला परेको थियो भने भण्डारीको शव जिल्लाकै गाजीपुरस्थित नारायणी नदीमा तीन दिनपछि फेला परेको थियो । फाउण्डेशन चितवनले दासढुंगा र गाँजीपुरको विकासका लागि पहल गर्दै आएको छ । यी दुवै ठाउँलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न विभिन्न निर्माणका काम भईरहेका छन् । यी दुवै ठाउँमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी चरणबद्ध रुपमा विकासका काम हुँदै आएको फाउण्डेशनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस !