सुर्खेत । कोरोना भाइरसको दोस्रो चरणको संक्रमण दिनानुदिन बढ्ने क्रम जारी रहेको बेला कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाद्यान्नको मूल्य अकासिएको छ ।
सुर्खेतमा सरकारले कोभिड–१९ को संक्रमण रोक्न र फैलिन नदिन लकडाउन वा निषेधाज्ञा जारी गरेसँगै व्यापारीले आफूखुसी दैनिक उपभोग सामग्रीमा मूल्य वृद्धि गरेका छन् ।
सुर्खेतसहित प्रदेशभर कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढिरहेको बेला अत्यावश्यक खाद्य सामग्रीको मूल्यवृद्धि भएको हो ।
पसल सञ्चालकहरूले होलसेलमै मूल्य बढाएर दिने गरेकाले खुद्रामा मूल्यवृद्धि गरेर बेच्न बाध्य भएको बताइरहेका छन् ।
वीरेन्द्रनगर बजारमा चामल, दाल, चना, मटर, तेललगायतका खाद्यवस्तुमा मूल्यवृद्धि भएको छ । व्यवसायीले महँगो मूल्यमा खरिद गरेका कारण बिक्री गर्दा त्यस्ता वस्तुको मूल्यमा वृद्धि गर्नु परेको बताउँछन् ।
बन्दीपुर खाद्य स्टोरका सञ्चालक ईश्वर श्रेष्ठले ७ दिन अगाडि एक काटुन् खाने तेल २३ सय ८० रुपैयाँमा पाइएकोमा अहिले बढेर २७ सय २५ रुपैयाँ पर्ने गरेको बताउनुभयो ।
उहाँका अनुसार मुसुरोको दाल १ सय २० पर्ने गरेकोमा लकडाउनले १ सय ३५ रुपैयाँ पर्ने गरेको छ । खाने तेल २ हजार २ सय ५० मा किन्ने गरेका खुद्रा व्यापारीले हिजोआज २ हजार ६ सयमा किन्ने गरेको उहाँ बताउनुहुन्छ । सन् फ्लावर खाने तेलको समेत मूल्यवृद्धि गरेर होलसेलरहरुले खुद्रा व्यापारीहरूलाई २ हजार २ सय २५ मा दिने गरेता पनि अहिले २ हजार ५ सयमा दिने गरेका छन् ।
खुद्रा व्यापारीका अनुसार लकडाउनपछि होलसेलले नै दालमा प्रतिकेजी ७ देखि १०, चनामा प्रतिकेजी १०, चामलमा १० देखि १२ रुपैयाँ तथा सनफ्लावर तेल प्रतिकार्टुन १ सयदेखि १ सय ५० रुपैयाँ, चिनीमा प्रतिकेजी १० रुपैयाँका दरले मूल्यवृद्धि गरेका छन् ।
होलसेल विक्रेताले सबै वस्तुमा मूल्य बढाएका कारण खुद्रा विक्रेताले समेत बाध्य भएर मूल्य बढाउनु परेको व्यवसायीको भनाइ छ ।
ढुवानी तथा लोड अनलोड गर्ने मजदुरको अभाव देखाउँदै होलसेल विक्रेताले सबै वस्तुमा मूल्य बढाएको खुद्रा विक्रेताको भनाइ छ ।

सुर्खेत प्रशासनद्वारा बजार अनुगमन
दैनिक उपभोग्य वस्तुको मूल्यमा अचाक्ली मूल्यवृद्धि भइरहेको जनगुनासो आएपछि सुर्खेत प्रशासनले बजार अनुगमन तीव्र पारेको छ ।
जिल्लामा फागुन १४ रातीदेखि जारी निषेधाज्ञाको फाइदा उठाउँदै व्यापारीले आफूखुसी मूल्यवृद्धि गरेको गुनासो आएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्रता दिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको अगुवाइमा मेडिकल, खाद्यान्न पसल, तरकारी पसल, सब्जी मन्डीलगायत अन्य पसलहरूको अनुगमन गरिएको छ ।
निषेधाज्ञाको बेलामा बजारमा कालोबजारी हुने, कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई मर्कामा पार्ने काम हुने भएकोले अनुगमनलाई तीव्रता दिइएको सहायक प्रजिअ महतले बताउनुभयो ।
उहाँले शनिवार बिहान वीरेन्द्रनगरका १३ वटा दैनिक उपभोग्य बस्तुका पसल तथा तरकारी मन्डीहरूको अनुगमन गरिएको जनाउनुभयो । ‘अनुगमनका क्रममा विशेष गरी तेल, पिठो लगायतका वस्तुको मूल्य वृद्धि भएको पाइएको छ,’ उहाँले भन्नुभयो, ‘दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि बारे उत्पादक कम्पनीमाथि नै छानबिनका लागि वाणिज्य विभागलाई पत्र पठाई सकेका छौँ ।’
उहाँले दैनिक उपभोग्य बस्तु आयात–नियातमा कुनै समस्या नरहेकाले अस्वाभाविक मूल्य वृद्धि गरेको प्रमाण पाइएमा तत्काल कारबाही गरिने जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस !