काठमाडौं । विज्ञले नेपालमा छोटो अवधिमा कोरोना संक्रमणबाट धेरैजनाको मृत्यु हुनुमा सही उपचारको अभाव कारण भएको निष्कर्ष निकालेका छन्। नेपालमा कोरोना संक्रमणको दोस्रो लहर चैत अन्तिममा सुरु भएयताको पाँच सातामा १ हजार ६ सय ७६ जनाको मृत्यु भएको छ। यो संख्या गत वर्षको तुलनामा तेब्बर हो। विज्ञले दोस्रो भेरियन्ट कोरोना संक्रमणमा पनि पहिलो लहरकै जति मृत्युदर हुने बताएका थिए।

नयाँ भेरियन्टको कोरोना भाइरस पहिलोभन्दा छिटै सर्ने भए पनि यसले बनाउने निमोनियाको समयमै पहिचान गरी उपचार गर्न सकेमा धेरैलाई बचाउन सकिने विज्ञको भनाइ छ। कोभिडको नयाँ भेरियन्टले छिटो निमोनिया बनाउँछ। निमोनिया भएका बिरामीलाई आइसियु र भेन्टिलेटर चाहिन्छ, जसको अभावमा नेपालमा मृत्युदर बढेको छ। त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. निरज बमका अनुसार एकैपटक धेरैलाई संक्रमण हुँदा उपचार अभावले मृत्युदर बढेको हो।

कोरोनाबाट संक्रमित भएका मध्ये ८० प्रतिशतलाई कुनै समस्या हुँदैन, १५ प्रतिशत सामान्य उपचारले निको हुन्छन् भने बाँकी ५ प्रतिशतलाई आइसियु र भेन्टिलेटर चाहिन्छ। यो गम्भीर समूहका बिरामीका लागि समयमै अस्पतालमा पर्याप्त कोभिड वार्ड र आइसियु भएको भए मृत्यु संख्या कम हुने विशेषज्ञको आकलन छ। डा. बम भन्छन् , ‘बिरामीले समयमै भर्ना नपाउँदा केही दिनमै निमोनिया बढ्छ, यस्तो अवस्थामा बिरामीलाई आइसियुमा राखेर निमोनियाविरुद्धका औषधि चलाउनुपर्छ तर समयमै अस्पतालमा भर्ना नपाउँदा निमोनिया छिप्पिसकेको हुन्छ अनि ज्यान जान्छ।’

निजी अस्पतालमा उपचार महँगो र सरकारीमा बेड अभावले संक्रमितको उपचारमा ढिलाइ हुने गरेको उनले बताए। निमोनिया भएका बिरामीलाई पनि एन्टिभाइरल, डेक्सामेथासोनजस्ता औषधि दिएमा सामान्य अवस्थामा फर्किन सक्ने चिकित्सकको भनाइ छ। ‘निमोनिया हुनै लाग्दा ५ दिनभित्रै राम्ररी अनुगमन गरी उपचार गरेमा निको हुन्छ’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले भने।

कोरोनाको खतरा बढ्दै जाँदा आवश्यक तयारीमा सरकारले चासो दिएन। गत वर्ष नै सातै प्रदेशमा निर्माण गर्ने भनेको कोभिड अस्पताल अझै निर्माण हुन सकेको छैन। ३५ सय हाइडिपेन्डेन्सी युनिट सञ्चालनमा ल्याउने भनेकोमा त्यो काम पनि हुन सकेन। न त सबै कोभिड अस्पतालले समयमै अक्सिजन प्लान्ट निर्माण गरे। ‘व्यवस्थापकीय कमजोरी धेरै छन्। भारतमा दोस्रो लहर चलेको सूचना पहिल्यै थियो, विज्ञहरूले नेपालमा पनि आउँछ भनेका थिए तर कोभिड नियन्त्रणमा भारत र नेपाल दुवै चुके’, डा. बमले भने।

समयमै उचित तयारी नहुँदा मृत्यु हुनेको संख्या बढी भएको कोभिडविरुद्धको खोप व्यवस्थापन समितिका संयोजक डा. श्यामराज उपे्रती स्वीकार्छन्। उनले भने, ‘अक्सिजन नपाएरै धेरैको मृत्यु भयो।’ राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले छोटो अवधिमा धेरै संक्रमित हुँदा मृत्युदर बढी भएको बताए। भारतमा संक्रमण फैलिएपछि जुन गतिमा नेपालमा तयारी गर्नुपथ्र्यो, त्यो हुन नसकेको उनले पनि स्वीकार गरे। गत वर्ष नै हाइडिपेन्डेन्सी युनिट बनाउन र अक्सिजन प्लान्ट निर्माण गर्न सरकारले बजेट दिए पनि अस्पतालहरूले काम गर्न नसक्दा हालको भयावह अवस्था आएको उनले बताए। नागरिक दैनिकमा पवित्रा सुनारले समाचार लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस !