विष्णु छिमेकी । गतवर्ष नेपाल गएको बेला एक जना बालकसँग भेट भयो । ऊ भनि रहेको थियो “रेनुका बा मेयर बनाउन लागे, हाम्रा बा देश बनाउन ।” मैले उस्लाई सोधे “को हो तिम्रो बा ? उस्ले गर्वका साथ भन्यो “केपि ओली ।” मैले उसलाई प्रतिप्रश्न गरें “कसरी तिम्रा बा ?” “तपाईं त पत्रकार हो क्यारे कुरा यताउता नबनाउनु होला, मैले मेरा बा भनिरहेको छैन । हाम्रा बा भन्दैछु” उस्ले थप्यो । मलाई राजनीतिको बारेमा थाहा छैन । खासै चासो पनि राख्दिन । हिजोका दिनमा म जस्ता हजारौं बालबालिकाहरू सडकमा “खाते बच्चा”को जीवन बिताई रहेका थियौं । के.पी. ओली यस्तो प्रधानमन्त्री हो, जस्ले हामीलाई अभिभावकत्व प्रदान गरेर आश्रय दियो, स्कूल जाने वातावरण सिर्जना ग¥यो । त्यसैले मैले के.पी. ओलीलाई हाम्रा बा भनेको हँु” उसले बिट मा¥यो ।” सुनेको थिएँ “तिम्रा बा हाम्रा बा माछा मार्न गए, तिम्लाई टाउको मलाई पुच्छर बराबरी ल्याए ।” तर, यतिबेला तिम्रा बा के गर्दैछन् मलाई थाहा छैन । रेनुका बा मेयर बनाउन लागे, हाम्रा बा देश बनाउन ।”

आमाको मृत्यु पश्चात बाले अर्की श्रीमती ल्याएपछि सौतेनी आमाको गाली र कुटाई खप्न नसकेर सात वर्षको उमेरदेखि सडकमा सुत्दै र बस्दै आएका काठमाण्डौ बुढानीलकण्ठका सन्तोष तामाङग आठ वर्षपछि स्कूल जान थालेका रहेछन् । त्यो बालकले त्यतिबेला भनेको कुरा यतिबेला मेरो मानसपटलमा नाची रहेको छ । के साच्चै के.पी ओली “ओली बा” बन्दैछन !? म देखिरहेछु, सुनिरहेछु । राजनीतिबाट टाढा रहेका युवा पुस्ता ओली बा जिन्दावाद ! भन्दै सडकमा नारा लगाई रहेका छन् । ‘आई एम वीथ केपी ओली’ भन्दै फेसबुक, टिकटक र ट्वीटरमा पोष्ट गरिरहेका छन । कलाकारहरू ‘ओली बा’ भन्दै गीत गाईरहेका छन । बुढाबुढी, असक्त र एकल महिलाहरू ‘केपी ओली हाम्रो सहारा हो’ भन्दै छन् । देशभक्त र राष्ट्रप्रेमीहरू केपी ओलीको स्वाभिमान र आँटको सम्मान गरिरहेका छन् । विकासप्रेमी जनताहरू ओलीका सपना अनि पुनर्निर्माण भईरहेका संरचनाहरू, बाटोघाटो र पुलपुलेसाहरू देखेर दङ्ग छन् । राजा महेन्द्र पछिका विकासप्रेमी नेता केपी ओली भन्दैछन् नेपाली जनता ।

प्रधानमन्त्री बन्नु अघि मधेस बिरोधी भनेर प्रचार गरिएका केपी ओली आज मधेसकै जनताका प्रिय नेता बनिरहेका छन् । मधेसको विकासमा ओलीले दिएको प्राथमिकताको प्रशंसा गरिरहेका छन् । साँचो अर्थमा मधेस र मधेसी जनताको हित चाहने नेता केपी ओली बनिरहेका छन् ।

विगतमा माओवादी गतिविधिको कटु आलोचक भनेर चिनिएका ओली आज माओवादी लडाकुका समेत आश्रय बनिरहेका छन् । खाडी मुलुकमा अलपत्र परेका नेपाली कामदार हुन् वा चीनमा कोरोनाका कारण रोकिएका विद्यार्थीहरूको उद्धारमा देखाएको तत्परताले पनि केपी ओली युवा पीढीमा हाइ हाइ भएका छन् । यिनै र यस्तै क्रियाकलापले गर्दा केपी ओलीलाई सबैका बा बन्ने अवसर प्रदान गरिरहेको हुनु पर्छ !

केपी ओली पहिलो पटक प्रधानमन्त्री बनिरहँदा यो मुलुकमा भारतले चर्को नाकाबन्दी लगाएको थियो । त्यो नाकाबन्दीको सामना गरेर अगाडी बढ्नु ठूलो चुनौती थियो । त्यो चुनौतीको सामना गर्दै जसरी ओलीले भारतलाई झुक्न बाध्य पारे त्यसले नेपालीको शान र गौरव बढायो । त्यहि अवसरमा ओलीले चीनसँग पारवहन सम्झौता गरेर भारतको एकाधिकारको अन्त्य गरिदिए । नेपालले उत्तरी सीमाबाट पनि व्यापार व्यवसाय सञ्चालन गर्न सक्ने व्यवस्था मात्र मिलाएनन् चीनिया रेल नेपाल भित्रिने बाटो समेत खोलीदिए ।

पूर्व, पश्चिम र दक्षिणमा सीमा जोडिएको भारतले नेपालको सीमा मिचेको कुरा पटक पटक उठ्ने गरेको भएपनि ‘बिरालोको घाँटीमा घण्टी कस्ले बाध्ने ?’ भने जस्तो भारतसँग कसैले पनि डटेर कुरा राख्न समेत सकेका थिएनन् । तर केपी ओलीले भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाललाई फिर्ता गर्नुपर्ने माग गर्दै त्यो क्षेत्रलाई नेपालको नक्शामा समेत समावेश गरे । संसदबाट पारित भयो । नक्शा छापियो । नक्शा चुच्चे नै भए पनि आफ्नो मातृभूमी रक्षाको पक्षमा केपी ओलीको यो साहासलाई आज सिङ्गो राष्ट्रले सम्मान गरेको छ ।

केपी ओली दोस्रो पटक प्रधानमन्त्री हँुदा मुलुक भूकम्पले ध्वस्त भएको थियो । ध्वस्त भएका संरचनाहरुको पुनर्निर्माण गर्नु, पाल मुनी बसेका जनतालाई राहत उपलब्ध गराउनु र उनीहरुको व्यवस्थापन गर्नु ओलीका सामु चुनौती थियो । आज ति कामहरू धेरै पूरा भईसकेका छन् भने केहि पूरा हुने क्रममा छन् ।

काठमाण्डौमा भरखरै सम्पन्न रानी पोखरीको संरचना र “मेरो धरहरा मै बनाउँछु” भन्ने उद्घोषका साथ ठडिएको धरहराले काठमाण्डौको मात्र हैन सिङ्गो नेपाल र नेपालीको गौरव बढाएको छ । त्यसको जस पनि यतिबेला केपी ओलीलाई नै जान्छ । भन्न त विरोधीहरूले भूकम्प नगएको भए केपी ओलीले के गथ्र्याे होला ? पनि भन्ने गर्दछन । छातीमा हात राखेर भन्ने हो भने त्यो भन्दा पहिले कसले के गरे ? किन अरु कोहि ‘हाम्रा बा’ बन्न सकेनन् ? गर्ने काम त थुप्रै थियो, थुप्रै छन् । तर खोई त ?

जतिबेला यो मुलुकमा रेनुका बा प्रधानमन्त्री बने, त्यतिबेला सबै नेपालीले ठूलो सपना देखेका थिए । अब मुलुकमा केहि परिवर्तन हुन्छ भन्ने आशा र भरोसा राखेका थिए । उनले चाहेको भए हुन्थ्यो पनि । तर, नेपालीको दुर्भाग्य ! सन्तोषले भने जस्तै उनी छोरीलाई जसरी पनि मेयर बनाउन कुदे । आफु, आफ्नो परिवार, नातागोता, अलि परका नातागोता, आफ्नै पार्टीका टाठाबाठा नेता कार्यकर्ता भन्दा भन्दै आफ्नै भ¥याङ्ग बनेका कार्यकर्ता र लडाकुहरू पनि टाढा बन्दै गए । हिजोको अफ्ट्यारो अवस्थामा साहारा र आश्रय दिनेहरू नचिन्ने अवस्थामा पुगे । यस्तो हो भने “हाम्रा रेनुका बालाई कतै देख्नु भयो ?” भन्ने अवस्था नआओस् !

यो मुलुकमा सौरभका बाले पनि मौका पाएकै हुन् । निर्भिकका बा पनि त्यो ठाउँमा पुगेकै हुन् । जैबीरका बाले पनि धरै पटक मौका चुकाएकै हुन् । धेरै आशा र भरोसा कै बीचमा मानुसीका बाले पनि केहि गरेर देखाउन सकेनन् । तर, आज केहि भईरहेको छ । केहि हुन खोजी रहेको छ । मेलम्चीको पानी काठमाण्डौमा आयो । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईले देखेको सपना साकार पार्ने काम केपी ओलीबाटै भयो । जनकपुरमा रेल चल्यो । कोशी र गण्डकीमा सानो आकारमा भए पनि पानी जहाज चल्यो । तुईन विस्थापित भए । तुईनको ठाउँमा झोलुङ्गे पुल र पक्क पुलहरु बनिरहेका छन् । वर्षौदेखि चर्चामा रहेको हुलाकी मार्गले गति पायो । पूर्णताको चरणमा छ । देशैभरि बाटोघाटो खुल्दैछन् । पुराना राजमार्ग चौडा र विस्तार हँुदैछन् । लुम्बिनी, पोखरा र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य, फाष्टट्रयाक र सुरूङ्ग मार्ग बन्दैछ । सयौ अस्पतालहरू सिलान्यास भएका छन् । र पनि केहि असन्तुष्ट आत्माहरु भनिरहेका छन् ‘केहि भएकै छैन ।जे भएको छ, वर्बादी मात्र भएको छ । अरूका बा जे सुकै गरुन्, ओली बाले काम गरून् । कुकुरहरू भुक्दै रहन्छन्, हात्ती लम्की रहन्छ । केपी ओली सबै नेपालीका बा बन्न सकुन् शुभकामना !
(पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष, महासंघका पूर्व केन्द्रीय सदस्य छिमेकी हाल अमेरिकामा हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस !