काठमाडौँ । वाचन शिरोमणि पण्डित स्व नारायण पोखरेलले छुवाछूत र जातीय विवेकका विरुद्धमा गरेको योगदानको स्मरण गरिएको छ ।

स्व पोखरेलको १६औँ स्मृति दिवसका अवसरमा नारायण पोखरेल प्रतिष्ठानले आज यहाँ वेभिनारकाबाट आयोजित ‘श्रद्धाञ्जलिसभा’ कार्यक्रमका वक्ताले आध्यात्मिक चिन्तनका माध्यमबाट समाज विकासमा स्व पोखरेलले खेलेको भूमिकाको स्मरण गरिएको हो ।

कार्यक्रममा प्रतिष्ठानका संरक्षण अध्यक्ष एवम् वाचन प्रवीण दीनबन्धु पोखरेलले अध्यात्म क्षेत्रबाट स्व पण्डित पोखरेलले मुलुकको विकासका लागि ठूलो भूमिका खेलेको बताउनुभयो । भौतिकवाद र अध्यात्मिकवादको फ्युजनबाट देशलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

विसं २०११ जेठ ३२ गते गोरखाको वगुवामा जन्मनुभएका पोखरेलले देशभरका ६५ भन्दा बढी जिल्लामा एक हजार १३६ पुराण वाचन गर्नुभएको थियो । धार्मिक क्रियाकलापबाट मानिसलाई सामाजिक विकासमा अभिप्रेरित गर्ने पण्डित पोखरेल नेपालका पहिलो धार्मिक शहीद हुनुहुन्छ । उहाँको विसं २०६२ वैशाख २३ गते रुपन्देहीको रामापुरमा हत्या गरिएको थियो । उहाँलाई जनस्तरबाट वाचन शिरोमणिको उपाधि दिइएको थियो ।

स्व पण्डित पोखरेलको स्मृतिमा नारायण पोखरेल प्रतिष्ठान स्थापना गरेर काठमाडौँको नागार्जुन नगरपालिकास्थित रामकोटमा २० रोपनी क्षेत्रफलमा बद्रीनारायण धामसहितको नारायण आध्यात्मिक केन्द्र स्थापना गरिएको छ । उक्त धामसहितको केन्द्र निर्माणका लागि रु ४० करोड लाग्ने प्रतिष्ठानका संरक्षक अध्यक्ष पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !