जनकपुरधाम । प्रदेश नं २ को विभिन्न जिल्लाहरूमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा बढ्न थालेको छ । चैत्र महिनाको मध्यसम्ममा कोरोनाका सङ्क्रमितको सङ्ख्या एक डिजिटमा पुगेकोमा अहिले आएर सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ३ हजार ४ सय ९५ पुगेको छ ।
कोरोनाका सक्रिय संक्रमित मध्ये ३ हजार ३ सय ९ जना होम आइसोलेसनमा र १ सय ८६ जना संस्थागत आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् ।
सबैभन्दा बढी पर्सा जिल्लामा कोरोनाका सक्रिय संक्रमित रहेका छन् । उक्त जिल्लाको होम आइसोलेसनमा १ हजार ६ सय २ जना तथा संस्थागत आइसोलेसनमा १ सय २४ गरेर १ हजार ७ सय २६ जना कोरोनाका सक्रिय संक्रमित रहेको प्रदेश न. २ को सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा कमलेश प्रसाद यादवले जानकारी दिनुभयो ।
यसै गरी धनुषा जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ९२ जना रहेका छन् । जस मध्ये होम आइसोलेसनमा ६ सय ६४ जना तथा संस्थागत आइसोलेसनमा २८ जनाले उपचार गराइरहेका छन् ।
बारा जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ४२ जना रहेका छन् । जस मध्ये ३ सय २६ जना होम आइसोलेसनमा र १६ जना संस्थागत आइसोलेसनमा रहेर उपचार गराइरहेको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख रहेको छ ।
महोत्तरी जिल्लामा २ सय ६३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । सबै संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् । रौतहट जिल्लामा १ सय ८३ सक्रिय संक्रमितहरु होम आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् ।
सप्तरी जिल्लामा पनि १ सय ६१ जना कोरोनाका सक्रिय सङ्क्रमितले होम आइसोलेसनमा रहेका छन् भने सिरहा जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय १४ रहेका छन् । जस मध्ये १८ जना संस्थागत आइसोलेसनमा र ९६ होम आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् ।
सर्लाही जिल्लामा सबै भन्दा कम १६ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म २ सय ३९ जना कोरोनाका सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका संक्रमण दर सरदर रुपमा प्रदेश नंं २ मा ४० देखि ५० प्रतिशत रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख डा. श्रवण कुमार मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !