काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय गरिएको छ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । आइतबार मन्त्रिपरिषद् बैठकले १५ दिन थप निषेधाज्ञा जारी गर्न प्रशासनलाई निर्देशन दिएको थियो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञालाई कडाइ गर्न काठमाडौँ, ललितपुर र भक्तपुर प्रशासनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्ने जानकारी दिनुभयो ।

यसअघि जारी भएको पहिलो चरणको निषेधाज्ञा भोलि २२ गते राति १२ बजे सकिँदै छ । प्रमुख जिल्ला अधिकारी पराजुलीले यो समयमा उपत्यका छाड्नेलाई सहजीकरण गर्ने बताउनुभयो । पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ भने बेलुका पूर्ण रुपमा बन्द गरिनेछ ।

पराजुलीका अनुसार बैंक तथा वित्तिय संस्थामा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशत कर्मचारी र शाखामा २५ प्रतिशत कर्मचारी राखेर सञ्चालन गर्न पाइनेछ । सरकारी कार्यालय,मन्त्रालय र विभागमा ४० प्रतिशत कर्मचारीबाट सेवा प्रवाह गरिनेछ ।

प्रतिक्रिया दिनुहोस !