पाल्पा । निषेधाज्ञाको समयमा तानसेनवासीले खानेपानीको समस्या खेप्नु परेको छ । यही समस्याका कारण गएको शुक्रवार रातीदेखि जिल्लामा जारी निषेधाज्ञाकोसमेत पूर्ण पालना हुन सकेको छैन ।

विद्युतीय प्रणालीमा वितरण हुँदै आएको यहाँको खानेपानी वितरणको समस्या विगत देखिकै हो । पछिल्लो समयमा समस्या झन् बढ्दै गएको उपभोक्ताहरूको गुनासो छ । मानिसको जीवनसँग जोडिएको खानेपानी नै नभए पछि तानसेनवासीलाई यत्तिखेर कोरोनाको डरभन्दा पनि बढी पिउने पानीकै पिरोला छ ।

यहाँका कतिपय टोलमा पानी नआएको दुई साता भन्दा बढी भइसकेको स्थानीयहरू बताउँछन् । जसका कारण यहाँ रहेका ढुङगेधाराहरुमा पानी भर्न दिउसो मात्र होइन राती पनि भिड देखिन थालेको छ ।

जिल्ला सदरमुकाम तानसेनमा दैनिक १० लाख लिटर भन्दा बढी पानी खपत हुने गर्दछ । पानीको चरम अभाव भएपछि सार्वजनिक धारामा कतिखेर पानीको पालो आउँछ भनेर स्थानीयको भीड लाग्ने गरेको हो । यहाँ उपभोक्ताहरू कोरोनाको प्रवाह नै नगरी लाइनमा बस्ने र ठेलमठेल समेत गर्ने भएकाले धाराहरू कोरोना सार्नसक्ने माध्यम त बन्ने होइन भन्ने चिन्ता थपिएको छ । लाइनमा रहनेहरूले मास्क र सामाजिक दूरी कायम नगरेको कारण यस्तो देखिएको हो । खास गरेर बालबालिकाहरूमा अझ सावधानी नअपनाउने प्रवृत्ति धेरै छ ।

लामो समयदेखि पानी नआए पछि कतिपयले जारको पानी उपयोग गरेका छन् भने कतिले ट्याङ्करको । पानीको अभाव हुँदा निकै समस्या र सास्ती भोग्नु परेको होटेल व्यवसायी जीवलाल सुवेदीले गुनासो गर्नुभयो ।

स्थानीय मिना थापाले घण्टौँ लगाएर नजिकैको सार्वजनिक धाराबाट खानेपानीको जोहो गरिरहेको बताउनुभयो । खानेपानी समस्या टार्न कोरोनाको कुनै पनि प्रवाह नगरी लाइन लागेर पानी भर्न महिला र बालबालिकाले बाध्य भएको उहाँको दुखेसो छ ।

पानीको समस्याबाट मुख्य गरेर कोठा भाँडामा लिएर बस्दै आएका र कर्मचारीहरू बढी पीडित छन् । ‘यहाँ कोरोनाको चिन्तासँगै खानेपानीको चिन्ताले बढी सताउन थालेको छ उपभोक्ता सविता जिसीले भन्नु भयो –‘कोरोनाबाट बच्नका लागि साबुन पानीले हात पटक–पटक धुन अनुरोध गरिन्छ, तर हामीलाई पिउने पानी नै छैन, कसरी धुने हात ? ’उहाँले प्रश्न तेर्साउनु भयो ।

उपभोक्ताका अनुसार वैशाख लागेसँगै तानसेनमा खानेपानीको अभाव बढेर गएको हो । असमान वितरण प्रणाली, समयमा मोटरहरूको मर्मत सम्भार नहुनु, सुख्खा मौसमसँगै नजिकका मूलहरू सुक्दै जाने समस्याका कारण तानसेनमा पानीको अभाव भएको जानकारहरू बताउँछन् । केही हप्ता अघि तानसेनमा कालीगण्डकीको खानेपानी झरिसकेको बताइए पनि अहिलेसम्म उपभोक्ताको घरसम्म पुगेको छैन । उता उपभोक्ता समितिले भने खानेपानीको मोटर बिग्रेको कारण खानेपानीको समस्या आएपनि समस्या समाधान गरिएकाले अब बिस्तारै सहज हुँदै जाने बताएको छ ।

तानसेन खानेपानी उपभोक्ता समितिका सचिव केशवलाल पौडेलले यहाँ पानी तान्नका लागि प्रयोग गरिने मोटरमा समस्या आएको कारण पानी नियमित हुन नसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘भुल्केको मोटर बिग्रियो पहिला बनाउने प्रयास गर्‍यौ तर नबने पछि नयाँ राखेका छौँ अब पानी आउँछ ।’ उहाँले अबको तीन दिनभित्र पहिलेकै तालिका अनुसार तानसेनमा खानेपानी वितरण हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !