काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा गरी २० स्थानमा उपनिर्वाचन गराउने तयारी सुरू भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाका चार र प्रदेशसभाका १६ गरी २० स्थानमा उपनिर्वाचन गर्ने गरी तयारी थालेको हो ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपाको एकीकरण बदर गर्ने निर्णय गरेसँगै उत्पन्न राजनीतिक घटनाक्रमका कारण निर्वाचन अयोगले २० स्थानका लागि उपनिर्वाचन गराउनुपरेको हो । सांसदहरुले दल बदल गर्दा सम्बन्धित पार्टीको कारवाहीमा परेपछि ती स्थान रिक्त भएका हुन् ।

त्यसमा प्रदेशतर्फ माओवादी केन्द्रका ८, नेकपा एमाले र जनता समाजवादी पार्टीका ४–४ जना सांसद रहेका छन् । स्थानीय तहमा पनि ठूलो संख्यामा पदहरु रिक्त रहेका छन् । रिक्त रहेका प्रतिनिधिसभाका चार स्थानमध्ये रौतहट क्षेत्र नम्बर ३, अर्घाखाँची क्षेत्र नम्बर १ र कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ र ४ रहेका छन् ।

रौतहटको क्षेत्र नम्बर ३ बाट माओवादीका प्रभु साह, अर्खाखाँची–१ बाट टोपबहादुर रायमाझी, कैलालीको क्षेत्र नम्बर ३ बाट माओवादीकै गौरीशंकर चौधरी र ४ बाट लेखराज भट्टनिर्वाचित हुनुभएको थियो । सर्वोच्चको फैसलासँगै चारै जना सांसदले माओवादी त्याग गरेर एमालेमा प्रवेश गरेसँग पार्टीले कारवाही गरेको थियो ।

संविधानको धारा ८४ को उपधारा (७) बमोजिम प्रतिनिधिसभाको कार्यकाल ६ महिना बाँकी रहँदै सांसद पद रिक्त भए यसअघिकै निर्वाचन प्रणाली अनुसार पद पूर्ति गर्नुपर्ने उल्लेख छ । यसैबीच निर्वाचन आयोगले उपनिर्वाचनको मितिबारे अनौपचारिक छलफल भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !