सरकारले हातखुट्टा छाडेको छैन : मन्त्री त्रिपाठी

काठमाडौं । सरकारले सोमबार काठमाडौंमा कोभिड-१९ उपचारका लागि थप १ हजार शैय्या थप गर्ने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भिडियो सन्देश जारी गर्दै सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशिल रहेको बताए ।

मन्त्री त्रिपाठीले कोभिड उपचारका लागि आवश्यक पर्ने औषधीहरु दुईतीन दिनमै ल्याइने जानकारी दिए । भारतमा संकट गहिरिँदा अक्सिजन आपूर्तिमा समस्या भएपनि आतंकित हुनपर्ने अवस्था नरहेको बताए ।

‘सबै जिम्मा सरकारले लिएको छ । सरकार प्रतिबद्धता पुरा गर्न कटिबद्ध छ’ मन्त्री त्रिपाठीले भने ‘बाहिर प्रचार भएजस्तो सरकारले हातखुट्टा छाडेको छैन । जिम्मेवारीका साथ सरकार कर्तव्यपालनमा अघि बढेको छ ।’

भ्याक्सिन र अक्सिजन जोहो गर्न सरकार दत्तचित्त भएर लागेको जानकारी दिँदै मन्त्री त्रिपाठीले व्यवस्थापनमा भएको त्रुटीको नैतिक जिम्मेवारी मन्त्रीको हिसाबले आफूले लिने बताए ।

संक्रमणको दरलाई घटना निषेधाज्ञा महत्वपूर्ण रहेको बताउँदै उनले यसमा सहयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस !