बझाङ । कोरोना महामारीका बीच बझाङमा यार्सा सङ्कलन गर्न लेकतिर जानेको घुइँचो लाग्न थालेको छ ।
जिल्लाको साइपाल, तलकोट, सुर्मा, मष्टा, छविस पाथिभेरा गाउँपालिका र बुंगल नगरपालिकाका स्थानीयहरूको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा तथा जडिबुडी नै रहेको छ ।
यार्सा सङ्कलनको सिजन सुरु भएसँगै बझाङका अधिकांश स्थानीय यार्सा सङ्कलन गर्न लेकतिर जान थालेका छन् ।
जिल्लाको उत्तरी भेगमा खाद्यान्न कम उत्पादन हुने र आय स्रोतका अन्य माध्यम नहुँदा यार्सा र जडीबुटी सङ्कलन नै मुख्य आयस्रोतको आधार रहेको छ ।
आम्दानीको मुख्य स्रोत यार्सा भएपछि यस क्षेत्रका बासिन्दाहरू परिवारसहित यार्सा सङ्कलनका लागि घरमा ताला लगाएर वैशाखदेखि असार मसान्तसम्म तीन महिनाका लागि लेकतिर जाने गर्दछन् ।
गत बर्ष जिल्ला विपद् व्यवस्थापन समितिले यार्सागुम्बा पाइने पाटनहरूमा सङ्कलकहरूको भिड हुने र कोरोनाको सङ्क्रमण फैलिने खतरा भएपछि जोखिम न्यूनीकरणका लागि यार्सा सङ्कलनमा रोक लगाएको थियो ।
स्थानीय तहले पनि यार्सा सङ्कलन गर्नमा रोक लगाएको थियो । तर यस बर्ष भने कुनै सूचना जारी गरेको छैन ।
जिल्लामा दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि यस बारेमा कुनै निकायको ध्यान गएको छैन । यार्सा सङ्कलन गर्ने पाटनहरूमा हिउँ पग्लिन थालेपछि सङ्कलकहरू बन क्षेत्रमा जाने क्रम बढेको बुङगल नगरपालिका वडा नं २ का आनन्द धामीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “केही बर्ष यता यार्सा खासै पाइँदैन थियो । गत बर्ष कोरोना महामारीका कारण भएको बन्दाबन्दी अर्थात् लकडाउनले सङ्कलनको काम प्रभावित भयो । यार्सा सङ्कलन गर्न नपाउँदा रोजीरोटी खोसियो ।” यस बर्ष यार्साको उत्पादन राम्रो हुने देखिएपछि लेकतिर जानेको घुइँचो लाग्न थालेको उहाँले बताउनुभयो ।
बुङगल नगरपालिकाका धौलाढुङगा, चुफी, कालीगाड, छरछरे, जलजला, निलखट्टी, ठाडे सुर्मा र साइपाल गाउँपालिका जलजला, डाँफेचुली, तपोवन, डाँडा, निलखट्टी, ठाडे, जर्सी, गोलढुंगा, माझा, फरालखेत, कालापानी, राइढुंगी स्याङवन, लगायतका वन क्षेत्रमा यार्सा सङ्कलकहरू पुगिसकेका छन् ।
वर्षभरिको परिवारको खर्च जोहो गर्न घरमा ताला लगाएर लेक तिर जाने गरेको साइपाल गाउँपालिका वडा नं ४ का स्थानीय वसन्त बोहराले बताउनुभयो । उहाँको आय आर्जन गर्ने माध्यम नै यार्सा गुम्बा र जडीबुटी हो ।
गत बर्ष लकडाउनका कारण वन क्षेत्र बन्द हुँदा यार्सा सङ्कलन गर्न सकिएन । घर खर्च चलाउन धौ धौ भयो । यार्साबाट मात्रै एक परिवारले तीन महिनाको अवधिमा ३ लाखदेखि ७ लाख जति आम्दानी हुन्छ । यार्सा तथा जडीबुटी सङ्कलन नगरे भोकमरीको चपेटामा परिने गरेको उहाँले बताउनुभयो ।
वैशाखदेखि असारसम्म यार्सा सङ्कलनका लागि र भदौदेखि मङ्सिरसम्म यहाँका जङ्गलमा अन्य जडीबुटी खोज्न मानिसहरू लेकतिर जाने गर्दछन् ।
केही वर्षयता यार्सा तथा अन्य जडीबुटी सङ्कलन गर्न लेकतिर जानेको सङ्ख्या बढ्दै गएको छ ।
यो समयमा बझाङ र अन्य जिल्लाबाट आएका मानिसले विभिन्न पाटनमा करिब १५ हजार पाल हाल्छन् । हरेक बर्ष बझाङमा यार्सा सङ्कलनका लागि मात्रै ४८ हजारभन्दा बढी मानिसहरू लेकतिर जाने गरेका छन् ।
ग्रामीण भेगमा कोरोनाको उच्च जोखिम भएकै बेला यसरी हजाराँैको सङ्ख्यामा मानिसहरू लेकतिर जाँदा झन् जोखिम हुने देखिन्छ । जङ्गलमा सबै एकै ठाउँ नहुने र यार्सा सङ्कलन गर्दा अलग अलग जानु पर्ने भएका कारण कोरोनाको जोखिम भने कम हुने सङ्कलकहरू बताउँछन् ।
गत बर्ष जिल्ला विपद् व्यवस्थापन समितिले बन बन्द गर्न भनेकाले सङ्कलन कार्यमा रोक लगाइएको भए पनि यसबर्ष सङ्कलन कार्य रोक्ने नरोक्ने बारे कुनै जानकारी नआएको डिभिजन वन कार्यालय बझाङका कार्यालय प्रमुख कर्णबहादुर खातीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो जिल्लामा अहिले यार्सा सङ्कलन गर्ने सिजन नै हो । गत बर्ष रोक लगाउँदा पनि लुकीछिपी गए । संक्रमण तीव्र रूपमा फैलँदै छ । सबैले सचेत हुनुपर्ने हो ।
विभागबाट पनि कुनै पत्राचार भएको छैन । सरकारले पनि यस बारेमा कुनै निर्णय गरेको छैन ।” विभागको निर्देशन अनुसार सङ्कलन कार्यमा रोक लगाइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !