जुम्ला  । जुम्लाको तिला गाउँपालिका–१ का स्थानीयबासी महिला छुइगोठमुक्त अभियानमा जुटेका छन् । सामाजिक कुरीतिका रुपमा रहेको छुई (छाउपडी प्रथा) अन्त्य गर्न उनीहरुले सचेतना कार्यक्रम सञ्चालन गरेका हुन् ।

आमा समूहका सचिव माने रावतले भन्नुभयो, “अहिले पनि छुई हुँदा महिलाले गाइबस्तुसँग बस्नुपर्ने बाध्यता छ । यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ ।यस्तो अवस्थालाई अन्त्य गर्न सचेतनाका कार्यक्रम सञ्चालन गरेका छौ । ”अभियान अन्तर्गत छुई भएका समयमा घरको एक कोठामा राख्न परिवारलाई आग्रह गरिने, पोषिला खानेकुराको आवश्यकताका बारेमा जानकारी बताइने छन् ।

अझै छुई हुँदा तीनदेखि सात दिनसम्म गोठमा बस्ने चलन छ । घरमा बस्दा देउता लाग्ने, चोटपटक लाग्ने, अशिनष्ट हुनेजस्ता भ्रम छ । उहाँले भन्नुभयो, “छुई एक नियमित प्रक्रिया हो । फल लाग्नको लागि फुलेको फूलजस्तै हो । महिलालाई अपहेलना गर्न गरिएको कुरीति हो । ”
तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले छुई प्रथा उन्मूलनका लागि महाअभियान थाल्नुभएको थियो । अभियान नसकिँदै उहाँको सरुवा भएको थियो । अहिले गाउँमा महिलाले नेतृत्व लिन थालेका छन्। गाउँमा समूह गठन गर्ने र हरेक महिनाको एक दिन छुइ गोठमुक्त अभियानका बारेमा छलफल हुने गरेको छ। कहिले स्थानीय अगुवासँग भेट्ने, कहिले धामीझाँक्री त कहिले पुरुषसँगको छलफललाई घनिभुत बनाउँदै लगेको स्थानीयवासि गोइली बुढाले बताउनुभयो । उहाँले भन्नुभयो ,“ सुरक्षाको लागि भएपनि छुइगोठ भत्काएर घरमा बस्नु पर्ने बेला आइपुगेको छ । ” अहिले छुइगोठमुक्त अभियान नै सञ्चालन भएपछि अधिकांश महिला घरभित्रको एक कोठामै बस्नथालेको उहाँले जानकारी दिनुभयो ।

छुइगोठमुक्त अभियानमा महिलाको सक्रिया प्रशंसनीय रहेको महिला नेतृ नारायणी चौलागाइँले बताउनुभयो । उहाँले भन्नुभयो ,“ छुइ प्रथा अभिशाप हो । समाजमा विकृतिका रुपमा जरा गाडेको छ । पछिल्लो समयमा जरा उखेल्नको लागि महिला नै सक्रिय बनेका छन् । छुइ भएको समयमा गोठमा बस्दा रोगकिराको सङ्क्रमण हुने खतरा छ । ”

मानिसबाट पनि डराउनुपर्ने अवस्था रहेको महिला नेतृ चौलागाइँले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा छुई मुक्त गोठ निर्माणका लागि स्थानीय महिलासँग बैठक भइरहेका छन् । विकृति हटाउनको लागि कम्मर कसेर लागेका छन् ।” तिला गाउँपालिका–१ देखि ९सम्म मासिक बैठक भइरहेको छ । गाउँपालिकाका उपाध्यक्ष बिष्णु बुढाले भन्नुभयो, “परम्परादेखि चलिआएको छुइ प्रथा सबै मिलेर हटाउनुपर्ने समय आएको छ । धामिझाँक्री, सासु ससुरा, पुरुष, किशोर किशोरीसँग छलफल भएको छ । पहिले बस्ती, टोल, वडा हुँदै गाउँपालिका छुइगोठ मुक्त वनाउने अभियान शुरु भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !