काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको विवरण अनुसार सुर्खेत, बारा र धादिङमा भएको दुर्घटनामा परी ती तीन जनाले ज्यान गुमाएका हुन् ।

घटना विवरण अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ स्थित नेपाली सेनाको राजदल गणको २ नम्बर गेट अगाडि सोही गणको पिपिराबाट राजदल गणतर्फ जाँदै गरेको बा। १ ग ३४८९ नम्बर मिनी ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीया मनिकला सापकोटाको सोमबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको माया नर्शिङहोममा उपचारको क्रममा मृत्यु भएको हो । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

त्यस्तै बाराको कलैया उपमहानगरपालिका–१२ सितलपुरस्थित सडकमा कलैयाबाट धर्मनगरतर्फ जाँदै गरेको बा। ८३ प ८९१९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रौतहट माधव नारायण नगरपालिका–३ का २५ वर्षीय कुनाल कुमार केशरीको घटनास्थालमै मृत्यु भएको छ । साथै दुर्घटनामा मोटरसाइकलको ठक्करबाट घाइते भएका २ जना पैदलयात्रीलाई उपचारका लागि कलैया अस्पताल पठाइएको प्रहरीले बताएको छ ।

त्यसैगरी धादिङको गल्छी गाउँपालिका–७ बाईसकिलोस्थित सडकमा ना। ३ ख ७६५७ नम्बरको ट्रकमा बा। ६६ प ९०२५ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक गल्छी गाउँपालिका–७ का २३ वर्षीय दिपेश नेपालीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको काठमाडौंस्ति ट्रमासेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !