पोखरा । गण्डकीमा कोरोनाबाट एकैदिन ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका २, म्याग्दी र स्याङजाका १÷१ जना छन् । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय १५ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनससार कोरोनाबाट मृत्यु हुनेमा स्याङजा वालिङ नगरपालिकाका ५८ वर्षीय पुरुष छन् । उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका क्रममा सोमबार मृत्यु भएको निर्देशनालय निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

उनलाई बैशाख ११ गतेमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, कोरोनाकै कारण मृत्यु हुनेमा म्याग्दी, रघुगंगा गाउँपालिकाका ७८ वर्षीय पुरुष छन् । पोखरा मेडिप्लस अस्पतालमा उपचारका क्रममा सोमबार बिहान उनको मृत्यु भएको हो । उनलाई बैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएको डा शर्माले जानकारी दिए ।

कोरोनाबाट सोमबारमात्रै कास्कीका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा २५ का ९१ वर्षीय पुरुष र पोखरा १ का ५५ वर्षीय महिला छन् । गण्डकीमा बैशाखमा मात्रै ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

थप १०१ संक्रमित थपिए

गण्डकीमा सोमबार थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, लाइफ केयर डायग्नोस्टिक प्रालि, मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको परीक्षणमा नयाँ संक्रमित पुष्टि भएका हुन् ।

प्रदेश स्वास्थ्य निदेशनालयका अनुसार कोरोना पुष्टि हुनेमा कास्कीकामात्रै ६९ जना छन् । नवलपरासी पूर्वका १२ जना, पर्वतका ५, तनहुँ ५, म्याग्दी ५, स्याङजा ३, लमजुङ २ र छन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ८३८ पुगेको छ । मृत्यु हुनेको संख्या २ सय १५ छ ।

 

प्रतिक्रिया दिनुहोस !