चितवन । नेकपा एमाले चितवन जिल्ला अधिवेशन आयोजक कमिटीको दोश्रो बैठक आज भरतपुरमा सम्पन्न भएको छ । नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलको अध्यक्षतामा सो बैठक सम्पन्न भएको हो ।

बैठकका प्रमुख अतिथि नेकपा एमाले बागमती प्रदेश कमिटीका सह–इञ्चार्ज एवम् चितवन जिल्ला इञ्चार्ज काशीनाथ अधिकारीले पार्टीको सुदृढिकरण र शुद्धिकरण आजको आवश्यकता भएको बताउनुभयो । नेपालका कम्युनिष्टहरुको मूल प्रवाहको पार्टी नेकपा एमाले भएको बताउँदै सह–इञ्चार्ज अधिकारीले अहिलेको विषम परिस्थितिमा पार्टीलाई बलियो बनाउनुको विकल्प नभएको बताउनुभयो । पार्टीको आगामी भदौ ३० गते जिल्ला अधिवेशन, असोज २३ गते प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म हुने भएकोले सोही अनुसार वडा, नगर र जिल्ला पार्टी कमिटीले कामलाई तीव्रता दिनुपर्ने बताउनुभयो साथै उहाँले सबै जनप्रतिनिधिहरुले विकासको कामलाई तीव्रता दिई जनभावना अनुसार काम गर्न पनि निर्देशन दिनुभयो ।


सोही बैठकमा नेकपा एमाले बागमती प्रदेश अध्यक्ष आनन्द पोख्रेलले अवसरवादी र पार्टी विभाजनकारीहरुसँग सचेत हुन आग्रह गर्नुभयो । सूर्य चिन्हको नाममा अराजक गतिविधि गर्न कसैलाई छुट नभएको भन्दै उहाँले आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा निर्वाचनमा सूर्य ध्वजावाहक उम्मेदवारहरुलाई विजयी गराउन सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले नेकपा माओवादी र प्रचण्डको हालत हिजोका पञ्चको अवस्थामा हुँदै गएको समेत बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कपिलदेव पोख्रेलले नेपाली कम्युनिष्टको मूल प्रवाह एमालेमा समाहित भएर सुखी नेपाली, समृद्ध नेपाल बनाउन सबै एकजुट हुन आग्रह गर्नुभयो । सोही कार्यक्रममा नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष, बागमती प्रदेश सचिवालय सदस्य तथा चितवन क्षेत्र नं. २ का संघीय सांसद कृष्णभक्त पोख्रेलले सरकारले गरेको राम्रा कामको सबैले प्रचार गर्नुपर्ने भन्दै राष्ट्रियता र स्वाधिनताको पक्षमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले चाल्नु भएको कदमको प्रशंसा गर्दै सबै राष्ट्रभक्त नेपालीले साथ दिनुपर्ने समेत बताउनुभयो ।

उहाँले नेकपा एमालेबाट निर्वाचित सूर्य ध्वजावाहक जनप्रतिनिधिहरुले एमालेको विरोध गर्ने र एमालेलाई कमजोर बनाउने छुट कसैलाई नभएको बताउनुभयो । सो बैठकमा स्थानीय पालिकाका पार्टी प्रमुखहरुले आ–आफ्नो स्थानीय तहको रिपोर्टिङ गर्नुभएको थियो ।

सो क्रममा भरतपुर महानगरका पार्टी अध्यक्ष रामप्रसाद न्यौपाने, कालिकाका अध्यक्ष केशव लामा, राप्तीका अध्यक्ष पूर्णबहादुर थापा, खैरहनीका अध्यक्ष पूर्ण डल्लाकोटी, रत्ननगरका अध्यक्ष ईश्वरीप्रसाद अर्याल, इच्छाकामना गाउँपालिकाका अध्यक्ष कृष्ण सिलवाल, माडी नगरपालिकाका सचिव नारदमणि अधिकारी लगायतले रिपोर्टिङ गर्नुभएको थियो ।

एमाले जिल्ला अध्यक्ष पार्वती रावलको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले पार्टी जिल्ला कमिटीको आगामी कार्ययोजना र पार्टीको गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो । पार्टी जिल्ला सचिव प्रकाश खनाल शैलेसले सञ्चालन गर्नुभएको सो कार्यक्रममा नेकपा एमालेका प्रदेश सचिवालय सदस्यहरु जगन्नाथ थपलिया, विजय सुवेदी, दावाधोर्जे लामा, प्रभा बराल लगायतको उपस्थिति थियो । सो बैठक अगाडि जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेलको अध्यक्षतामा अन्तिम बैठक बसि अध्यक्ष रावल र सचिब खनाल लाई कार्यभार हस्तान्तरण समेत गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !