झापा। कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीब्र बनेकै बेला झापाको एक सरकारीसहित चार वटा अस्पतालले अक्सिजन प्लान्टको धमाधम निर्माण गर्न थालेका छन् ।मेची प्रादेशिक अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश नं. १ सरकारको ७५ लाख रुपैयाँको लगानीमा अक्सिजनको प्लान्ट निर्माणाधीन छ ।

कोभिड–१९ सङ्क्रमितको उपचारका लािग ७५ शैयाको अलग अस्पताल समेत सञ्चालन गरिरहेको मेची अस्पताल भद्रपुरमा रहेको छ ।
विर्तामोडमा निजी क्षेत्रबाट सञ्चालित बीएन्डसी हस्पिटल र ओमसाई पाथिभरा हस्पिटलले आफ्नै अक्सिजन प्लान्ट निर्माण गरिरहेका छन् ।
मनमोहन सामुदायिक अस्पतालले विगत चार महिनादेखि नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइसकेको जनाएको छ ।

झापामा पहिलो अक्सिजन प्लान्ट सञ्चालन गर्ने मनमोहन सामुदायिक अस्पतालका निर्देशक रोमणि भट्टराईले दैनिक १८ सिलिण्डर अक्सिजन उत्पादन भइरहेको बताउनु भयो । चार महिनाअघि शुभारम्भ कम्पनीसँगको साझेदारीमा प्लान्ट निर्माण गरिएको र उत्पादन हुन थालेपछि अक्सिजन बाहिरबाट खरिद गर्नुपर्ने झन्झटबाट अस्पताल मुक्त भएको उहाँले बताउनु भयो । अस्पतालले हरेक महिना रु. १ लाख ९५ हजारका दरले कम्पनीलाई रकम बुझाएपछि पाँच वर्षपछि मात्र प्लान्ट अस्पतालको स्वामित्वमा आउने शर्त रहेको छ ।

आवश्यक अक्सिजनका सिलिन्डर निजी सप्लायर्सबाट खरिद गर्दै आएका अस्पतालहरुले आफ्नै प्लान्ट भएपछि अस्पतालमा अक्सिजनको अभाव नहुने र आपूर्ति व्यवस्था भरपर्दो हुने विश्वास लिएका छन् ।

प्रतिक्रिया दिनुहोस !