कञ्चनपुर ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अति सङ्कटापन्न दुर्लभ खरमयुरको गणना शुरु गरिएको छ । खरमयुरको अवस्था, सङ्ख्या, बासस्थानसँगै आहाराको पर्याप्तताबारे अध्ययन र अनुगमनको कार्य अगाडि बढाइएको हो ।

निकुञ्जका कर्मचारी, चरा विशेषज्ञसहितको पाँच जनाको टोली खरमयुरको अवस्था पत्ता लगाउनका लागि खटिएको छ । “हेडकाउन्टका आधारमा गणनाको कार्य भइरहेको छ”, निकुञ्ज कार्यालयका सहायक सरक्षण अधिकृत रविन चौधरीले भन्नुभयो, “निकुञ्ज क्षेत्रभित्र विभिन्न प्वाइन्ट र पोष्टमा गणनाको कार्य भइरहेको छ ।” तीन दिन अघिदेखि थालिएको गणना तथा अनुगमनको कार्य एक साताभित्रै सम्पन्न हुने उहाँले बताउनुभयो । खरमयुरको बास स्थानका रुपमा रहेको घाँसे मैदान र खरका फाँटमा बर्सेनि लाग्ने डढेलोले समस्या निम्त्याउँदै आएको छ । उक्त मयुरको अधिक सङ्ख्या रहेको निकुञ्जका रुपमा यसलाई लिइने गरिन्छ । पोथी र अर्धवयस्क खरमयुर खैरो र कैलो हुने गर्दछ । यसको लम्बाइ ६६ सेन्टिमिटरसम्म हुने गर्दछ ।

प्रायः घाँसे मैदानमा पाइने लामा खुट्टा, मजबुद शारीरिक बनावट, लामो घाँटी र टाउकोमा कल्कीजस्तो देखिने यसका पोथी र बच्चा खैरा हुन्छन् । प्रजनन समयमा बयस्क भाले प्रायः कालो देखिन्छ । पखेटा भने सेता हुन्छन् । यसलाई अङ्ग्रजीमा बेङगाल फ्लोरिक्यान भनिन्छ । संरक्षणका हिसाबले यो अति सङ्कटापन्न अवस्थामा रहेको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यसलाई अति सङ्कतापन्न ९रातो० सूचीमा सूचीकृत गरेको छ । नेपाल सरकारले यसलाई संरक्षित पंक्षीको सूचीमा राखेको छ । सन् २०१४ मा गरिएको राष्ट्रिय चरा गणनामा यसको सङ्ख्या नेपालमा ४१ वटा रहेको पाइएको थियो ।

जसमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नौवटा फेला परेका थिए । एक सर्भेक्षणका अनुसार नेपालमा चराको प्रजाति ८७१ रहेकोमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै त्यसको आधा ४५० प्रजाति पाइने गरेका छन् । खरमयुरसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सारस, सिम तित्रा र विश्वकै दुर्लभ मानिएको लेसर भुडिफोर चरासमेत पाइन्छ । नेपालका संरक्षित क्षेत्रमध्ये सबैभन्दा ठूलो घाँसे मैदान यस निकुञ्जमा रहेको छ । विश्वकै सबैभन्दा ठूलो झुण्डका रुपमा बाह्रसिङ्गा निकुञ्जमा सहजै अवलोकन गर्न सकिन्छ । सानो क्षेत्रफलमा पाटेबाघको धेरै घनत्व भएको क्षेत्रका रुपमा समेत निकुञ्ज परिचित रहेको छ । निकुञ्ज ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस !