काठमाडौं। छिमेकी देश भारतमा एकैदिन ३ लाख जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ३ लाख १४ हजार ८ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै देशमा २४ घण्टाभित्र यति धेरै संख्यामा संक्रमण भएको यो विश्वकै पहिलो घटना हो ।

यसअघि गत जनवरी २ मा अमेरिकामा एकैदिन ३ लाख ३१० जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा दैनिक रुपमा २ लाखभन्दा बढीलाई संक्रमण पुष्टि भएकै पनि यो आठौं दिन हो ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा २ हजार १०४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमितको संख्या १ करोड ५९ लाख ३० हजार ९ सय ६५ पुगेको छ ।

अहिलेसम्म कोरोनाले १ लाख ८४ हजार ६५७ जनाको मृत्यु भएको छ भने १ करोड ३४ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । भारतमा अहिले २२ लाख ९१ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस !