काठमाडौं । कोभिड–१९ उपचारका लागि तोकिएको भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा बुधबार अक्सिजन चुहावटका कारण आपूर्तिमा समस्या आउँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरस संक्रमणको दोस्रो लहरमा मुम्बईबाट करिब २०० किलोमिटर उत्तरमा रहेको डा जाकिर हुसैन अस्पतालमा चुहावटका कारण भेन्टिलेटरमा रहेका विरामीलाई अक्सिजन आपूर्तिको गम्भीर अभावको सामना गर्नुपर्दा यो त्रासदीपूर्ण घटना भएको हो ।

नासिकमा रहेको उक्त अस्पताललाई अक्सिजन आपूर्तिका लागि राखिएको ट्याङ्करमा करिब आधा घण्टा चुहावट भएको र यसका कारण अस्पतालमा अक्सिजनको अभाव हुँदा विरामीको मृत्यु भएको स्थानीय अधिकारी सूरज मन्धारेले सञ्चारकर्मीहरूसँगको कुराकानीमा बताउनुभयो । उक्त समस्याका कारण करिब ६० गम्भीर विरामीको स्वास्थ्यमा प्रभाव परेको बताइएको छ ।

“आधा घण्टाभित्र अक्सिजन आपूर्तिलाई सञ्चालनमा ल्याइसकिएको र अहिले चुहावट भएको ट्याङ््कीबाट अक्सिजन आपूर्ति भइरहेको छ,” मन्धारेले भन्नुभयो ।

घटनापछि अस्पतालमा विरामीका शोकाकुल आफन्तहरू जम्मा भई अस्पताल प्रशासनको लापरबाहीप्रति विरोध जनाएका थिए । अस्पतालमा रहेका १७० विरामीमध्ये केहीलाई घटनापछि उनीहरूका आफन्तहरूको पहलमा अन्यत्र लगिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत् एक सन्देश लेख्दै भन्नुभयो, “भारतको कोभिड–१९ बाट प्रकोपको केन्द्रबिन्दु महाराष्ट्र राज्यमा भएको अक्सिजन चुहावटपछि विरामीको मृत्यु भएको भनिएको घटना हृदयविदारक त्रुटी हो ।

राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले घटनाप्रति दुःख व्यक्त गर्दै शीघ्र छानबिनको लागि निर्देशन दिनुभएको छ ।

नेपालमा पनि रेम्डेसिभिर, खोप र अक्सिजन अभाव
कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चरम अभाव खड्किएको छ ।

दैनिक संक्रमणदर २ हजारमाथि पुगे पनि आमनागरिकले खोप पर्याप्त नहुँदा खोप लगाउन पाएका छैनन् । अस्पताल भर्ना भएका र गम्भीर बिरामी कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर बजारमा सहज रूपमा पाइन छोडेको छ ।

अस्पतालमा अक्सिजन प्लान्टसमेत अभाव छ । चिकित्सक र जनस्वास्थ्य विज्ञले संक्रमण रोकथाममा अत्यावश्यक मानिएको खोप, रेम्डेसिभिर र अक्सिजन तयारी अवस्थामा राख्न सरकारलाई सुझाव दिएका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले संक्रमण रोकथाममा कुनै कसर बाँकी नराख्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन नै दिएको छ ।

भारत सरकारबाट नेपालले खरिद गरेको १० लाख डोज खोप नेपालले पाउन सकेको छैन । यसअघि, भारतबाट खरिद गरिएको १० लाख डोज, उपहारस्वरूप प्राप्त १० लाख डोज उमेर समूहका आधारमा लगाइएको छ ।
कोभ्याक्स सुविधाअन्तर्गत नेपालले ३ लाख ४८ हजार डोज कोरोना खोप पाइसकेको छ । चीन सरकारको कम्पनी सिनोफार्मद्वारा उत्पादित कोरोना भाइरसविरुद्धको खोप ८ लाख डोज उपलब्ध गराइएको थियो । पर्याप्त खोप नआउँदा अधिकांश लगाउनबाट वञ्चित छन् ।

रेम्डेसिभिरसमेत सहज रूपमा उपलब्ध हुन सकेको छैन । अस्पताल भर्ना भएका र गम्भीर बिरामी कोरोना संक्रमित उपचारमा रेम्डेसिभिर प्रयोग प्रभावकारी मानिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल बजारमा १३ हजार भाइल स्टक रहेको बताउ“छन् । ‘३६ हजार भाइल रेम्डेसिभिर स्टकमा राख्नुपर्नेहुन्छ,’ उनी भन्छन्, ‘रेम्डेसिभिर सहज आपूर्तिका लागि मन्त्रालयले पहल गरिरहेको छ ।’

स्वास्थ्य मन्त्रालयले भारतले रेम्डेसिभिर आयातमा रोक लगाएको अवस्थामा बंगलादेशबाट खरिदका लागि प्रक्रिया अघि बढाएको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. पोखरेलले रेम्डिसिभिर आपूर्तिका लागि औषधि व्यवस्था विभागलाई निर्देशन दिइएको जानकारी दिए ।

त्यस्तै, अक्सिजन प्लान्टसमेत अभाव देखिएको गुनासो आउन थालेको छ । मन्त्रालयले आठ ठूला अस्पतालमा अक्सिजन प्लान्ट व्यवस्था गरिने जनाएको छ । चिकित्सकका अनुसार सास फेर्न समस्या भएका बिरामी संख्या बढ्दै गए अक्सिजन आवश्यक पर्छ । प्रशान्त वलीले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस !