चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा रहेको उदयपुर सामुदायिक वन उपभोक्ता समूहले एक विज्ञप्ती जारी गरी वन समूहसँगको सम्झौता कार्यान्वयन नगरे शक्तिखोर औद्योगिक क्षेत्र विरूद्ध सङ्घर्ष गर्ने चेतावनी दिएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, चितवन उद्योग संघ, जिल्ला र नगर स्तरीय राजनैतिक दल, कालिका नगरपालिका र यस उदयपुर सामुदायिक वन समेतको संयुक्त बैठकले गरेका निर्णयहरू कार्यान्वयन गर्न सो विज्ञप्ती मार्फत् आग्रह गरिएको छ । सामुदायिक वनका अध्यक्ष केशव लामाद्वारा हस्ताक्षरित सो प्रेस विज्ञप्तीमा उदयपुर सामुदायिक वनको नेपाल सरकारबाट हस्तान्तरित क्षेत्र र विभिन्न मठ मन्दिर, खानेपानी, खेलकुद मैदान, विभिन्न जातिको समाधिस्थल लगायतलाई कायम राखी अरू बाँकी क्षेत्रमा औद्योगिक क्षेत्र व्यवस्थापन गर्ने भनी संयुक्त बैठकले छलफल गरी निर्णय गरेको सो विज्ञप्तीमा उल्लेख छ ।

begapty udaypur
सामुदायिक वनले उठाएको मागलाई सम्वोधन एवम् सुनिश्चित हुने गरी नापी कार्य अगाडि बढाउन समेत सो विज्ञप्ती मार्फत् सम्वन्धित निकायलाई अनुरोध गरिएको छ । विभिन्न सरोकारवाला निकाय, औद्योगिक व्यवस्थापन लिमिटेड र वन समूहबिच भएको निर्णय बमोजिम सामुदायिक वनको हस्तान्तरित क्षेत्र उदयपुर पार्क, समाधिस्थल, खानेपानी मुहान तथा विभिन्न धार्मिक क्षेत्र लगायतको सुनिश्चित गर्दै नक्सा सुधार गरी बाँकी कार्य अगाडि बढाउन अनुरोध गरिएको छ ।
यदि सो निर्णय बमोजिम काम तत्काल अगाडि नबढाएमा वन समूह औद्योगिक क्षेत्र विरूद्ध चरणबद्ध आन्दोलनमा जान बाध्य हुने समेत वन समूहका अध्यक्ष केशव लामाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस !