तनहुँ ।  चितवनको अयोध्यापुरीमा प्रतिस्थापन गर्न लागिएको राम, सीता, लक्ष्मण र हनुमानको मूर्तिसहितको रथयात्रा आज बिहान तनहुँको देवघाटबाट चितवन प्रस्थान गरेको छ । रथयात्रालाई आज बिहान गलेश्वर आश्रम र सिद्धेश्वर आश्रमबाट कलशयात्रासहित बिदाइ गरिएको हो ।

रथयात्रालाई देवघाटस्थित आश्रम, धार्मिक एवं सामाजिक सङ्घसंस्था, मठमन्दिर, गुम्बा, सामुदायिक वन उपभोक्ता समूह, टोल विकास संस्था, महिला समूह, आमा समूहलगायतले बिदाइ गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार पूजाआजा गरी पठाउनुभएको रथयात्रा हिजो साँझ नै देवघाट आइपुगेको थियो ।

रथयात्रा बिदाइ समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री ढकाल, तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठलगायत सहभागी हुनुभएको छ । उक्त मूर्ति माडीको अयोध्यापुरीमा लगिनेछ ।

मन्त्री ढकालले भगवान् रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको र त्यसको पुष्टि क्रमशः हुँदै गएको बताउनुभयो । “हामीसँग रामको जन्मको पुष्टि हुने धेरै आधार छन् । सीता गुफा देवघाटमा भएको र राम नुहाउन देवघाटमा आउने गरेको तथ्य पनि छ”, मन्त्री ढकालले भन्नुभयो । उहाँले अयोध्यापुरीको विकासका लागि आवश्यक बजेट सरकारले विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । राज्यको आफ्नो धर्म नहुने तर राज्यका नागरिकले आफ्नो इच्छाअनुसारको धर्म मान्न पाउने स्वतन्त्रता भएकाले राज्यले सबै धर्मको सम्मान र संरक्षण गर्ने मन्त्री ढकालको भनाइ थियो ।

सांसद कृष्णकुमार श्रेष्ठले माडीमा भगवान् रामको जन्म भएको यो कार्यक्रमले पुष्टि गरेको भन्दै प्रधानमन्त्री ओलीको अभियानले सार्थकता पाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !