शिशिर सिंखडा, चितवन । चितवन जिल्ला भित्रका करिव १५ हजार सुकुम्बासी र २३ हजार अव्यवस्थित बसोबासीले निवेदन फाराम भरेका छन् । चितवनमा भूमि सम्बन्धी समस्या समाधान आयोग गठन भए पश्चात् गत चैत्र मसान्त सम्ममा १५ हजार ६ सय ७९ जना भूमिहिन दलित वा सुकुम्बासीले स्थानीय पालिका मार्फत् फाराम भरेका छन् । त्यस्तै गरी अव्यवस्थित बसोबासी २३ हजार १ सय ४२ जनाले फाराम भरेको भूमि सम्बन्धी समस्या समाधान आयोग चितवनका जिल्ला अध्यक्ष यादवप्रसाद पाठकले जानकारी दिनुभयो ।

जसअनुसार भरतपुर महानगर पालिकामा ४ हजार ८ सय ५८ जना अव्यवस्थित बसोबासी र ५ हजार ५२ जना सुकुम्बासीले फाराम भरेका छन् । त्यसैगरी रत्ननगर नगरपालिकामा ९ सय ९९ जना अव्यवस्थित र १ हजार ३ सय ९९ जना सुकुम्बासी, खैरहनी नगरपालिकामा २ हजार २ सय २८ अव्यवस्थित र १ हजार ३५ सुकुम्बासी, राप्ती नगरपालिकामा ५ हजार ७ सय ७७ अव्यवस्थित, ३ हजार २ सय ५० सुकुम्बासी, कालिका नगरपालिकामा ३ हजार ६ सय ८५ अव्यवस्थित र १ हजार ९ सय ३५ सुकुम्बासी, माडी नगरपालिकामा ३ हजार १ सय ७९ अव्यवस्थित र २ हजार २ सय ७४ सुकुम्बासी तथा इच्छाकामना गाउँपालिकामा २ हजार ४ सय १६ जना अव्यस्थित बसोबासी र ७ सय ३४ जना सुकुम्बासीले फाराम भरेको आयोगका जिल्ला अध्यक्ष पाठकले जानकारी दिनुभयो ।

त्यसैगरी अधुरा कार्य सम्पादनमा ३५ दिने सूचना अनुसार जिल्ला समितिमा ३ हजार ६ सय २० जनाले फाराम भराएका छन् । स्थानीय पालिकाको वडा कार्यालय मार्फत् सो फारामहरु संकलन भएको र सोको निर्णय वडा र सम्बन्धित पालिकाले गरी आयोगको कार्यालयमा आउने उहाँले जानकारी दिनुभयो ।

सुकुम्बासी र अव्यवस्थित बसोबासीको निवेदन उपर स्थानीय वडा, पालिकाले जाँचबुझ गर्ने र आवश्यक परेमा आयोगले समेत छानविन गरी जग्गा उपलब्ध गराउने कार्य अगाडि बढाइने उहाँले जानकारी दिनुभयो ।

नेपाल सरकारको मन्त्री स्तरीय निर्णयबाट चितवनमा २०७७ साल माघ २४ गतेदेखि आयोग गठन भएको हो । हाल सो आयोगको जिल्ला समन्वय समिति भरतपुरमा कार्यालय रहेको छ । आयोगको जिल्ला अध्यक्षमा यादवप्रसाद पाठक रहनु भएको छ भने विज्ञ सदस्यमा शान्तराज आचार्य र महिला सदस्य महादेवी खतिवडा रहनु भएको छ भने जिल्ला मालपोत कार्यालय प्रमुख, जिल्ला नापी कार्यालय प्रमुख, जिल्ला वन कार्यालय प्रमुख आयोगको सदस्यको रुपमा रहने र जिल्ला समन्वय अधिकारी सदस्य सचिव रहने कानुनी व्यवस्था रहेको छ । साथै चितवनमा खैरहनी, माडी र चनौलीमा पनि नापी कार्यालय रहेकाले सो कार्यालयका प्रमुखहरुलाई पनि आमन्त्रित सदस्यको रुपमा राखिएको जिल्ला अध्यक्ष पाठकले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस !