काठमाडौं । राष्ट्रियसभा सांसद र मन्त्री पद दुवै गुमाएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आजै पुनः गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने भएका छन् ।

उनले आज आइतबार साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण गर्ने छन् । सर्वोच्च अदालतको फैसलापछि एमालेमा लागेका उनको पद रिक्त गराउन माओवादी केन्द्रले लिखित पत्र दिएको थियो । संसद सचिवालयले आइतबार बिहान बादलको पद रिक्त भएको सूचनामार्फत जानकारी गराएसँगै उनले सांसद र मन्त्रीको पद गुमाएका थिए ।

बादल नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए ।

मन्त्रीसमेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद खोसिसकेको छ । संविधानको नियमअनुसार सांसद पद गुमेपछि प्रधानमन्त्री ओलीले उनीहरूलाई फेरि ६ महिनाका लागि मन्त्री बनाएका छन् ।

सोही नियमबमोजिम बादललाई पनि प्रधानमन्त्रीले पुनः मन्त्री नियुक्तका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र आजै साँझ शपथ ग्रहणको कार्यक्रम तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

सांसद नभएको कुनैपनि व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउन सकिन्छ । थापा त्यहि व्यवस्थाबमोजिम पुनः मन्त्री बन्न लागेका हुन् ।

संविधानअनुसार रिक्त राष्ट्रियसभा सदस्य पदका लागि ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस !