काठमाडौं । नेकपा एमालेका महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचित सरकार ढाल्न विभिन्न खालका गलत क्रियाकलाप भइरहेको बताएका छन् ।

मुलुकको राजनीति गलत दिशातर्फ उन्मुख भइरहेको र वर्तमान सरकार ढाल्न अनेक खेल भइरहेको भन्दै उनले त्यस्ता गतिविधिविरुद्ध सम्पूर्ण जनता प्रतिवादमा उत्रनुपर्ने बताएका हुन् ।

आज शनिबार राजधानीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, ‘सरकार त पाँच वर्षका लागि आएको हो निर्वाचित भएर सधैँका लागि होइन । त्यो अवधिसम्म राम्रो काम गर्यो भने जनताले पुरस्कृत गर्छन् । राम्रो काम भएन भने जनताले दण्डित गर्छन् । यसलाई त हामीले मानेको हो नि । तर बीचमा नै अनेक खालको जालझेल गरेर सरकार ढाल्ने फेरि नयाँ बनाउने, नयाँ खेलोमेलो गर्ने काम सुरु भइरहेको छ । यसले चाहिँ दुर्भाग्य निम्त्याउँछ ।’ वर्तमान सरकार ढल्यो भने विकास र निर्माणका काम पनि रोकिने पोखरेलको भनाइ छ ।

‘अहिले पनि राजनीतिक क्षेत्रमा विकृतिहरु, विसंगतिहरु देखापर्न खोज्दै छ । सरकार ढाल्ने, सरकार ढाल्ने खेलमा लाग्ने । राजनीतिक र सामाजिक क्षेत्रका नराम्रा कुराको विरोध गर्नु जरुरी छ । सही कुराको पक्षमा गलत कुराको विरुद्धमा हामीले खबरदारी गर्नुपर्छ’, पोखरेलले भने, ‘यो काम पनि हामीहरुबाट होस् भन्ने कुरा म अनुरोध गर्न चाहन्छु । जनतामा निरासा फैलाउने र अस्तव्यस्त श्रृजना गर्ने प्रयास भयो भने यो राम्रो हुँदैन ।’ जनताले सही र गलत क्रियाकलाप छुट्याएर हर क्षेत्रमा देखिएको गलत कार्य विरुद्ध प्रतिवाद गर्नुपर्नेमा उनको जोड छ ।

 

प्रतिक्रिया दिनुहोस !