नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा दुई लाख ३४ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।एकैदिनमा यति धेरै सङ्क्रमित भएको यो नै पहिलो पटक भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण मात्रै १३ सय भन्दा बढीको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा एक दिनमा एक हजार ३४१ जनाको मृत्यु भएको उल्लेख छ ।

योसँगै देशभरी अहिलेसम्म कोरोनाका कारण कुल मृतकको सङ्ख्या एक लाख ७५ हजार ६४९ पुगेको मन्त्रालयले जनाएको छ ।त्यसैगरी पछिल्लो २४ घण्टामा दुई लाख ३४ हजार ६९२ जना सङ्क्रमित भएसँगै कुल सङ्क्रमितको सङ्ख्या एक करोड ४५ लाख २६ हजार ६०९ पुगेको अधिकारीहरुले जनाएका छन् ।

भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित रहेकाहरुको सङ्ख्या १६ लाख ७९ हजार ७४० पुगेको मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख २३ हजार ३५४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएरपनि मुक्त भइसकेकाहरुको कुल सङ्ख्या एक करोड २६ लाख ७१ हजार २२० पुगेको छ । भारतीय मेडिकल रिसर्च काउन्सीलले गत शुक्रबार मात्रै देशभरी १४ लाख ९४ हजार ३९७ जनाको कोरोना परीक्षण गरिएको जनाएको छ । (रासस/एएनआई)

प्रतिक्रिया दिनुहोस !