चितवन ।  गत वर्ष जिल्लामा भएका सवारी दुर्घटनामा परी १ सय १६ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ३ सय ७६ दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् ।

दुर्घटनामा परी ६सय १२ घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । घाइतेमध्ये २ सय ८१ गम्भीर र ३ सय ३१ सामान्य रहेका छन् । कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार गत वर्ष चैतमा दुर्घटनाबाट मानवीय क्षति सबैभन्दा बढी भएको छ । सो महिनामा भएका ३९ दुर्घटनामा २६ को ज्यान गएको छ । सबैभन्दा कम वैशाख र जेठमा ७ र १४ वटा दुर्घटनामा परी दुई/दुई जनाको ज्यान गएको तथ्याङ्क छ । ती दुर्घटनामा ५ सय ७३ सवारी साधन परेको उहाँले जानकारी दिनुभयो ।

सवारी दुर्घटनामा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल छन् । दुई सय ८६ मोटरसाइकल दुर्घटना भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । विसं २०७६ को चैतसम्म जिल्लामा भएका ३ सय १६ दुर्घटनामा परी १ सय २३ को ज्यान गएको थियो । त्यस वर्ष मङ्सिरमा सबैभन्दा धेरै १९ को ज्यान गएको थियो । सबैभन्दा कम चैत महिनामा तीनको मृत्यु भएको कार्यालयले जनाएको छ ।

दुर्घटना न्यूनीकरणका लागि कार्यालयले विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि दुर्घटना र मृत्युदर घटाउन कठिन भएको भट्टको भनाइ छ । साँघुरो बाटो र सवारीको चाप बढी भएका कारण दुर्घटना बढी हुने गरेको उहाँले बताउनुभयो । दुर्घटना बढी सङ्ख्यामा पूर्वपश्चिम लोकमार्गमा भएको तथ्याङ्कले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !