नयाँ वर्ष २०७८ को सवैमा हार्दिक शुभकामना ।

काठमाडौं। २०७७ को विदाईसँगै नयाँ वर्ष २०७८ मा हामी प्रवेश गर्दैछौ । २०७७ लाई बिदाई गरेर २०७८ मा प्रवेश गरिरहँदा विगत एकवर्षको समीक्षा र आउने वर्षको संकल्प अपेक्षित हुन्छ । राष्ट्रिय विकासमा मात्रै होइन व्यक्तिको विकास र योजनामा पनि एकवर्षको समिक्षा र आउने एकवर्षको योजना महत्वपुर्ण हुन्छन् । त्यसरी हेर्दा वर्ष २०७७ विश्वव्यापी महामारी (कोभिड–१९) को वर्ष रहयो, जसले विश्वलाई मात्रै प्रभावित पारेन कि, हरेक व्यक्ति यो महामारीबाट प्रभावित भए ।

कोभिड १९ को महामारीले विश्वअर्थतन्त्र संकुचनतर्फ गयो भने अर्थतन्त्रमा परेको यहि नकारात्मक प्रभावले व्यक्तिका आर्थिक क्रियाकलाप र गतिविधिहरु पनि ठप्प भए । विश्व जीवनमा मात्रै होइन हरेक व्यक्तिका जीवनमा पनि वर्ष २०७७ प्रतिकुल रहयो । विकशित भनिएका देशहरु जस्तै अमेरिका, बेलायतदेखि वास्तविक कल्याणकारी राज्यको अवधारणा कार्यान्वयन गरिरहेका उत्तरी यूरोपका राष्ट्रहरुमा समेत कोभिड महामारीले निकै ठुलो नकारात्मक प्रभाव पारयो । धेरै नागरिकहरु संक्रमित भए र संक्रमितहरु मध्ये उल्लेखनीय संख्यामा निधन समेत भयो । दुनियाँले बुझेका विकशित भनिएका यी राष्ट्रहरुलाई कोभिड महामारीले थिलथिलो बनायो । एकप्रकारले भन्ने हो भने यसले त्रासदीको रुप नै देखियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड महामारीलाई नियन्त्रण गर्न छोडेर जसरी नागरिक सुरक्षामाथी खेलवाडको प्रयास गरे त्यसले उहाँलाई पुन राष्ट्रपति हुनबाट रोक्यो । यो त एउटा उदाहरणमात्रै हो । विकसित देशका हरेक सरकारमाथी यस्ता गम्भिर प्रश्नहरु उठेका छन् र देश विकसित हुँदैमा महामारीविरुद्ध लडन सकिन्छ भन्ने सोचलाई समेत यसले खण्डित गरेको छ ।

त्यसो त यो महामारीले नेपाल जस्ता विशासशील देशहरुलाई समेत प्रभावित पारयो । तर तुलनात्मक रुपमा विद्यमान स्रोत साधन, सरकार र नागरिकको संयुक्त प्रयासबाट महामारीविरुद्ध लड्ने प्रभावकारी प्रयास भयो । त्यसकै परिणाम नेपाल सहितका दक्षिण एशियाली देशहरुमा मानवीय क्षति कम भएको छ भने अर्थतन्त्र पनि तुलनात्मक रुपमा ठिकै छ ।

नयाँ वर्ष २०७८ मा प्रवेश गरिरहँदा फेरिपनि एउटा प्रमुख चुनौतीको रुपमा यहि महामारी देखिएको छ । कसै कसैले यसलाई ‘थर्ड वे’ भनेका छन भने कुनै कुनै देशमा भने दोस्रो वेभका रुपमा यसलाई व्याख्या गरिएको छ । तर यथार्थ के हो भने कोभिड महामारीको जोखिम अझैपनि छ र त्यसका विरुद्ध विश्व एक भएर लडनुपर्छ । नयाँ बर्ष २०७८ ले विश्वले आकस्मिक सामना गर्नुपरेको यो महामारीलाई नियन्त्रण गर्ने छ र त्यसका लागि सवैको सामुहिक प्रयास हुनेछ भन्ने विश्वास राखौं । किनकी यसका विरुद्ध खोपहरु निमार्ण भएका छन् । र ती खोपहरुमा विश्वका सबै नागरिकहरुको पहुँच पुग्ने नै छ ।

त्यसो त वर्ष २०७७ को समिक्षा गरिरहँदा नेपालको आन्तरिक राजनीतिक विकासमा पनि यो वर्ष उथलपुथलपूर्ण वर्ष रहयो । खासगरि नेपालको बलियो कम्युनिष्ट आन्दोलनका निम्ती वर्ष २०७७ त्यति सुखद रहेन् । नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ करिब ३ बर्षपछि विघठन भयो र पुरानै एमाले र माओवादी केन्द्र ब्युतिने अवस्था निमार्ण भयो । यसले दुईतिहाईको कम्युनिष्ट सरकारको शक्ति क्षय भयो भने कम्युनिष्टहरु प्रति नागरिकको विश्वास धर्मरायो । दशबर्षे जनयुद्ध गरेर आउनुभएका माओवादी अध्यक्ष प्रचण्ड र पन्ध्रबर्ष एमालेका महासचिव हुनुभएका माधव कुमार नेपालको सत्ता स्वार्थका कारण यो अवस्था निमार्ण भयो । विकासको सोच र कार्यक्रम सहित उल्लेखनीय उपलब्धी हासिल गर्दै अघि बढनु भएका प्रधानमन्त्री ओलीलाई हटाएर अध्यक्ष र प्रधानमन्त्री बन्ने षडयन्त्र दाउपेचका कारण नेकपा विघठन मात्रै भएन एमालेभित्र समेत द्धन्द देखियो । निर्वाचित अध्यक्ष र प्रधानमन्त्रीलाई नमान्ने प्रचण्ड र माधव शैलीका कारण जसरी अहिले कम्युनिष्ट सरकार ढाल्नका निम्ती विदेशी र स्वदेशी हारगुहार भइरहेको छ । त्यसले सकारात्मक संकेत गर्दैन अहिले पनि प्रधानमन्त्री ओली माधव नेपाललाई सच्चिएर आत्माआलोचना सहित पार्टीमा आएर काम गर्न आग्रह गरिरहनुभएको छ । नेपाल भने एमाले समाप्त पार्ने देशव्यापी अभियानमा देखिनुहुन्छ । नयाँ वर्ष २०७८ ले माधव नेपालसहितका नेतालाई आफ्नै पार्टी जोगाउदै मिलेर जाने सदबुद्धि आओस् ।

कोभिड महामारी र पार्टीको आन्तरिक प्रतिकुलताका वाबजुद जसरी ओली नेतृत्वको सरकारले नेपाल र नेपाली जनताका हितका निम्ती ऐतिहासिक काम गरेको छ तिनको उच्च प्रसंसा गर्नुपर्छ । कोभिड बिरुद्धको लडाईमा जसरी प्रधानमन्त्री ओलीले प्रभावकारी खालका माध्यमहरु अपनाउनुभयो, जनतालाई सुसुचित गर्नेदेखि खोप ल्याउनेसम्ममा जसरी उहाँको नेतृत्व देखियो त्यसका कारण फैलद्धो महामारी नियन्त्रणमा उल्लेखनीय सफलता हासिल भयो । अहिले देशका सबै नागरिकलाई उनीहरुको प्राथमिकताका आधारमा खोप लगाउनेदेखि घरेलु उपाय अपनाउन प्रधानमन्त्रीले आफै पहल गर्नुभएको छ । त्यस्तै कोभिडबाट थलिएको अर्थतन्त्रलाई पुनस्थापित गर्न उद्योगी व्यवसायीलाई खुला आब्हान गदै त्यसमा सरकारले सक्दो सहयोग गर्ने बताइरहनुभएको छ । यसका कारण उद्योगी व्यवसायीमा सरकार र प्रधानमन्त्रीप्रति विश्वास बढेको छ ।

२०७७ का गल्ति कमि कमजोरीबाट शिक्षालिंदै नयाँ वर्ष २०७८ मा तीनलाई नदोहोरयाउने प्रतिबद्धताका साथ सवै अघि बढ्नुपर्छ । नयाँ वर्ष २०७८ सवैका लागि सुखद वर्ष बनोस, समृद्ध नेपाल सुखी नेपाली निमार्णको राष्ट्रिय लक्ष्य प्राप्तितर्फ वर्ष २०७८ कोशे ढुंगा सावित होस । सवैका जीवनमा वर्ष २०७८ ले खुसी ल्याओस ।

नयाँ वर्ष २०७८ को सवैमा हार्दिक शुभकामना ।

 

प्रतिक्रिया दिनुहोस !